बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्डको खुसीमा माधव नेपालको कुरीकुरी !

बुधबार, ०४ भदौ २०७६, ०९ : ३१
बुधबार, ०४ भदौ २०७६

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुर र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबईबाट फर्केपछि नेकपाका आन्तरिक काम नाटकीय रुपमा फटाफट अगाडि बढे । बाँकी रहेका एकतासम्बन्धी काम पनि टुङ्गिए । थाती काम टुङ्गाएकोमा दुवै अध्यक्ष ओली र प्रचण्ड उत्साही छन् ।

वरियता उक्लिएकोमा झलनाथ खनाल पनि मख्ख छन् । उपाध्यक्ष र संगठन विभागको जिम्मेवारी पाएकोमा नेता वामदेव गौतम त झनै दङ्ग छन् । दुई पार्टीबीचको एकता हुँदा महासचिव हुन नपाएर असन्तुष्ट ईश्वर पोखरेल पनि स्कूल विभाग प्रमुख हुन पाएको खुसी छन् ।

यसबाहेक सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ आफू प्रचार विभाग प्रमुख भएकोमा र निकटका नेताहरुलाई पनि राम्रै जिम्मेवारी दिलाउन सकेकोमा धेरै असन्तुष्ट हुन परेन । गृहमन्त्रीको पद लिएर बसेका सचिवालय सदस्य रामबहादुर थापा पनि कार्यविभाजनमा आफ्ना मान्छेको राम्रै व्यवस्थापन गर्न सफल भए ।

केन्द्रीय तहका सबैजसो नेताको कार्यविभाजन हुँदा सचिवालयमा रहेका नेता माधवकुमार नेपालको मनमा भने चिसो पसेको छ । त्यहि कारण मङ्गलबार प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठमा सचिवालयका सवै नेता उपस्थित हुँदा नेता नेपाल भने उपस्थित भएनन् । मतलब केही दिन यता भएका निर्णयबाट उनी दुखी छन् । र, पार्टीका पछिल्ला निर्णयले नेकपालाई दीर्घकालिन असर गर्ने उनको ठहर छ ।


नेपालले आफ्नो दुःखको कथा पार्टीमा लिखित रुपमै दर्ता गराएका छन् । भदौ ३ गते नेता नेपालले ‘निर्णयमा असहमति’ शीर्षकमा तीन पेज लामो फरक मत पार्टीमा दर्ता गराएका छन् । यो फरक मत मात्र होइन, सचिवालयमा सबै मिलेर एक्लाएपछि पोखेको दुःखको कथा पनि हो ।

आफ्नो लिखित फरक मतमा नेता नेपालले अध्यक्ष ओलीमाथि धेरै असन्तुष्टि राखेका छन् । ओलीको कार्यशैलीमाथि उनले अनेकौँ प्रश्न उठाएका छन् । र, नेता नेपालले ‘एक व्यक्ति, एक पद’ अध्यक्षसमेतमा पनि लागू हुनुपर्ने तर्क गरेर ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा रोज्न माग गरेका छन् । नेता नेपालले सचिवालय बैठकका पछिल्ला निर्णयप्रति पार्टीमा लिखित असहमति दर्ता गरेर अध्यक्षद्वय ओली र प्रचण्डको उत्साहमा पानी खनाइदिएका छन् ।

नेता नेपालले मङ्गलबार दर्ता गराएको सात बुँदे लिखित असहमतिले नेकपाभित्रको विवादलाई संस्थागत गरेका छन् । मूलतः नेता नेपालले असहमति पत्रमो विधि–विधान र पद्धतिसँगै पार्टीभित्र जन्मेको संस्कार पनि खुलाएका छन् ।

पहिलो बुँदामा नेपालले पार्टी विधान अनुरुप विधि, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा नचलेको भन्दै अध्यक्षद्वयले चालेको कमदमाथि प्रश्न उठाएका छन् । अवसर र जिम्मेवारीको वितरण मापदण्ड विनै भएको र पार्टीका बैठक अपारदर्शी ढंगले बसाल्ने गरिएको नेता नेपालको ‘निर्णयमा असहमति’ मा छ । बैठकमा गम्भीर छलफल नै नहुने र भएका निर्णय कार्यान्वयन नहुने भन्दै नेता नेपालले ओली र प्रचण्डको खुसीलाई कमजोर बनाइ दिएका छन् ।

नेता नेपालको ओली र प्रचण्डको नियमतमाथि प्रश्न उठाउँदै दोस्रो बुँदामा भनेका छन्, ‘ठूलो ऐतिहासिक एकता प्रक्रियालाई गुटगत स्वार्थका कारण एकता प्रक्रिया लम्ब्याएर एकताबाट पार्टी पंक्तिमा उत्साहलाई निरुत्साहमा बदल्ने काम भएको छ । अमूक व्यक्ति छनौटको गलत चाहना राखी एकता प्रक्रिया नै पार्टीलाई क्षति पुग्ने गरी लम्बाइएको छ ।’ यही बुँदामा नेता नेपालले प्रश्न गरेका छन्, ‘मेरो प्रश्न छ–विधानको व्यवस्थालाई लागू गर्ने कि नगर्ने ?’

यतिमा मात्र नेता नेपालको असन्तुष्टि रोकिएन । उनले असहमतिको तेस्रो बुँदामा दोहोरो जिम्मेवारी र वरिष्ठताको सवालमा ओली र प्रचण्ड मिलेर व्यक्तिगत निर्णय गरेको आरोप लगाएका छन् । ‘दोहोरो मुख्य जिम्मेवारी हुने गरी पार्टीको कार्यकारी जिम्मा नदिउँ र यस्तो जिम्मेवारीमा नभएकालाई निश्चित मापदण्डका आधारमा पार्टीको कार्यकारी जिम्मा दिउँ’ भन्ने आफ्नो प्रस्तावलाई अध्यक्षले नसुनी आफुखुसी जिम्मा दिएको नेता नेपालको भनाइ छ । यसबाहेक नेता नेपालले यसै बुँदामा वरिष्ठता र योग्यतालाई वेवास्ता गरी कसैलाई  जिम्मेवारीमाथि खातैखात र कसैलाई जिम्मेवारी नदिएर अपमानिक गर्ने काम ओली र प्रचण्डबाट भएको उनको ठहर छ ।

नेता नेपालले चौथो बुँदामा प्रदेश र जिल्ला कमिटी गठनमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई राखिएको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन् । उनले प्रदेश कमिटी गठन हुँदा नै फरक मत राखेका थिए । प्रदेश र जिल्ला कमिटीका गलत निर्णय नसच्चाए पार्टीमा विधि र न्याय मर्ने अनि स्वेच्छाचारिता र अराजकता बढ्ने भन्दै दुवै अध्यक्षलाई नेता नेपालले सचेत गराएका छन् ।

यसबाहेक नेता नेपालले ‘निर्णयमा असहमति’ पत्रको पाँचौ बुँदामा वरियता हेरेफेरको पछिल्लो निर्णयमा आफ्नो मानमर्दन गरिएको भन्दै गुनासो गरेका छन् । ‘वरिष्ठ नेताको वरियता परिवर्तन गर्ने प्रस्ताव मेरो मानमर्दन गर्ने उद्देश्यको साथ नियोजित रुपमा प्रस्तुत गरियो’ उनले यसमा अध्यक्ष ओलीको नियतमाथि प्रश्न उठाउँदै भनेका छन्, ‘विधि र पद्धतिमा जोड दिने व्यक्तिको हैसियतले मैलै वरियता स्वीकार गरेँ ।’ मतलव नेता नेपालले यसो भनेर अध्यक्षद्वय ओली र प्रचण्ड बिना विधि, बिना पद्धति चल्ने गरेको संकेत गरेका छन् ।

यसबाहेक ‘निर्णयमा असहमति’ पत्रको छैटौ बुँदामा भदौ १ गते युवा, विद्यार्थी, महिला र मजदुर जस्ता संगठनको नेतृत्व दिदा वरिष्ठलाई पञ्छाएर कनिष्ठलाई ईञ्चार्ज र सह ईञ्चार्ज बनाइएको नेता नेपालको भनाई छ । साथै यो निर्णय गर्दा ओली र प्रचण्डले पूर्वागह्र देखाएको नेता नेपालको आरोप छ ।

यसबाहेक नेता नेपालले सातौँ बुँदामा सरकारको काममाथि प्रश्न उठाएर पधानमन्त्री असफल भएको संकेत गरेका छन् । ‘दुई तिहाई बहुमतको सरकारले पार्टीको नीति, निर्णय र योजनामा काम गरिरहेको छैन । त्यति मात्र होइन जनअपेक्षा अनुरुप काम गर्न नसक्दा सरकार र पार्टीप्रति समेत जनतामा नकरात्मक धारणा बढ्दै गएको छ । पार्टी नेता, कार्यकर्ता र जनप्रतिनिधिले सार्वजनिक कार्यक्रममा सरकारवारे उठेका प्रश्नको जवाफ दिन नसक्ने अवस्था छ ।’ नेता नेपालले सरकारको समीक्षा गरेका छन् । जवकि प्रधानमन्त्री ओलीले सरकारले अभूतपूर्व राम्रो काम गरेको दावी गर्दे आएका छन् ।

यसबाहेक नेता नेपालले सरकार पार्टीसँग भागेको पनि बताएका छन् । उनले भनेका छन्, ‘स्थायी समितिको विगतको वैठकमा सरकारको कामको निम्ति अलग्गै वैठक बस्ने निर्णय भएकोमा त्यसलाई उपेक्षा गरिएको छ । न आजसम्म वैठक भएको छ । न कार्यशैलीमा परिवर्तन भएको छ ।’ बैठक नबोलाए गम्भीर धक्का लाग्ने नेपालको निष्कर्ष छ ।

नेता नेपालले जे–जे विषय उठाएका छन् । देख्दा नेपालको असहमति पत्र सामान्य जस्तो देखिए पनि यो नेकपाभित्र फैलदोँ झगडाको एउटा पाटो हो । यसलाई नेकपाले कसरी उपचार गर्छ ? र, त्यसले नेकपाको विवाद साँघुुरो वा अझै फराकिलो के हुने भन्नेमा भर पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप