मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सकसमा ‘सिक्स लेन’ सडक : विस्तारमा अदालतको तगारो, टुक्रे ठेक्का बन्यो टाउको दुखाइ

बुधबार, ०४ भदौ २०७६, १२ : ००
बुधबार, ०४ भदौ २०७६

बुटवल–राष्ट्रिय गौरव आयोजनाको रुपमा लिइएको बुटवल–बेलहिया सडकखण्डको काम सुस्त गतिमा अघि बढिरहेको छ । ६ लेनको सडक निर्माण गर्नेगरी २०६८ सालदेखि निर्माण सुरु भएको भएपनि हालसम्म काम सम्पन्न हुन नसकेको हो ।  

 २०६८ सालमा मुख्य सडक ४ लेन र सर्भिस लेनको रुपमा २ लेन रहने गरी डिजाइन गरिएको थियो । २७ किलोमिटर सो सडकको चौडाई १०.४० मिटर बनाउने गरी त्यतिनै बेलादेखि निर्माण सुरु गरिएको थियो । 

निर्माण सुरु भएको ८ वर्षमा पनि काम सम्पन्न हुन नसकेको भन्दै सरोकारवालाले आलोचना गर्दै आएका छन् । बुटवल–बेलहिया सडकखण्डको काम करिब ८३ प्रतिशत सम्पन्न भएको छ भने अझै १७ प्रतिशत बाँकी छ । तर त्यो पनि कहिले पूरा हुने भन्नेमा अन्योलता कायमै रहेको छ।  

सर्भिस लेनबाहेक बीचको चार लेन सडक निर्माण कार्य सकिएको यो योजना ३ वर्षमा सक्ने योजनाका साथ शुरु भएको थियो । नाम नै व्यापारिक मार्ग भएकाले उद्योगी व्यावसायीले स्वाभाविक रुपमा चासो राख्ने नै भए । 


बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद अर्यालले पटक–पटक समय थप्दै निर्माण कार्यमा ढिलाई गर्ने काम भएको  गुनासो गरे । उनले रातोपाटीसगँ भने, ‘०६८ सालमा शुरु भएको बुटवल–बेलहिया सडक अझै पूरा हुँदैन । राज्यले प्राथमितामा राखेको यो सडक निर्माणमा भएको सुस्तताले सरकारको विकासप्रतिको गम्भीरतालाई दर्शाउँछ । यति काम गर्न त ८ वर्षमा सकिएको छैन भने अन्य विकास कसरी भएका होलान् सहजै अनुमान लगाउन सकिन्छ ।’ 

तर, आयोजना प्रमुख जीवेन्द्र मिश्रले सडक निर्माण २०७६ सालभित्रै निर्माण सम्पन्न हुने र यो देशकै नमूना हुने दाबी गरे ।  उनले यस्तो दाबी गरिरहँदा बुटवल अधिकांश व्यवसायी भने यसअघि पनि धेरै पटक मिति सरिसकेको कारण पूर्ण रुपमा काम सम्पन्न हुन्छ भन्नेमा ढुक्क हुन सक्ने अवस्था नरहेको बताउँछन् । 

टुक्राटुक्रा ठेक्काः म्याद लम्ब्याइँदै
बुटवल–बेहलिया सडक बिस्तार आयोजना टुक्राटुक्रामा ठेक्का भएको छ । जसका कारण पनि निमार्णको समय एकपछि अर्को गदै लम्ब्याइएको छ ।

आयोजना अन्तर्गत सडक निर्माणका लागि चार प्याकेजमा ठेक्का सम्झौता भएको थियो । शुरुको वर्ष ०६८–६९ मा बुटवलतर्फ ३ किलोमिटर र भैरहवातर्फ ४ किलोमिटरको ठेक्का भएको थियो ।

 २०७०–७१मा दुवैतर्फ ३–३ किलोमिटरका दरले ठेक्का सम्झौता भएको थियो । मणिग्रामदेखि सुनैनापथसम्मको ३ किलोमिटर र मधवलियादेखि लखनचोकसम्म ३ किलोमिटर गरी ६ किलोमिटर सडक टेलिकम इण्डिया लिमिटेडले एक अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको छ ।

यो खण्डको भौतिक प्रगति क्रमशः ९१ प्रतिशत र ९५ प्रतिशत भएको छ भने वित्तीय प्रगति ८९ प्रतिशत र ९३ प्रतिशत छ । 

सुनैनापथदेखि मधवलियसम्मको ३ किलोमिटर खण्ड ६२ करोड रुपैयाँ लागतमा कालिका–रायमाझी जेभीले सम्पन्न गरिसकेको छ । लखनचोकदेखि अञ्चलपुरसम्मको २ किलोमिटर सडक बिरुवा श्रेष्ठ एपेक्स जेभीले ४१ करोड रुपैयाँ लागतमा निर्माण गर्दैछ । यसको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७५ प्रतिशत भएको छ । 

बिरुवा कन्स्ट्रक्सनले ठेक्काको निर्माण सम्पन्न गर्ने अवधि २९ सेप्टेम्बर २०१९ सम्म छ । ५ अर्ब ८६ करोड लागतको ६ लेन सडकको मुख्य सडक चार लेन (दुई–दुई लेन दुवैतर्फ) को चौडाइ १०.४० मिटर छ भने सर्भिस लेन दुई वटा दुवैतर्फ ६ मिटर चौडाइको छ ।

 बीचको डिभाइडर ३ मिटर चौडाइ र डिजाइन स्पिड ८० किलोमिटर प्रतिघण्टा छ । आयोजना प्रमुख जीवेन्द्र मिश्रका अनुसार प्रत्येक वर्षको विनियोजित वार्षिक बजेटको ९५ प्रतिशतभन्दा बढी रकम आयोजनाले खर्च गरिसकेको छ । 

 अब के काम गर्न बाँकी छ ? 
सुरुमा २४  किलोमिटर निमार्ण गर्ने भनिएको सडक आयोजना पछि बुटवलमा  थप ३ किलोमटिर थप्ने गरी काम शुरु भएको थियो । सडक  निमार्णमा अहिलेसम्म  ४ अर्ब १५ करोड रुपयाँ खर्च भइसेको छ ।  काम भने अझै १७ प्रतिशत बाँकी छ । 

यो आर्थिक वर्षमा ५५ करोड बजेट विनियोजन भएको छ । बुटवल  चौराहदेखि गोलपार्कसम्म खानेपानीको काम भएको छ । ट्राफिक चोकदेखि चिडिया खोलासम्म सडकको काम  गर्न बाँकी छ । जहाँ अदालत कारण ढिलाइसँगै अन्यौलता छाएको हो । 

उता भैरहवाको बेलहिया नाकामा कालोपत्रेको काम बाँकी छ भने अञ्चालपुरमा २८ सय मिटर  सर्वेल रोडको  काम बाँकी छ । यस्तै केही कालोपत्रेको काम पनि बाँकी छ । 

यसैगरी  तिलोत्तमा नगरभित्र रहेका सोलार बत्तीहरु परिवर्तन गर्नुपर्ने भएको छ । त्यहाँ राखिएका सोलार बत्तीले काम नगरेपछि विद्युत बत्ती प्रयोग गर्ने तयारी भएको प्रमुख जीवेन्द्र मिश्रले बताए । 

आयोजनाले यो व्यापारिक मार्गको तिलोत्तमा नगरपालिकामा पर्ने १२ किलोमिटर क्षेत्रमा सोलार बत्ती हटाएर बिजुली बत्ती नै जडान गर्न ठेक्का प्रकृया शुरु गरिसकेको छ । सडकलाई हरियाली र सुन्दर बनाउन सडकको दुवैतर्फ स्टोनियाका बिरुवा र बीचमा बेगनबेली फूल रोपेर संरक्षणका लागि समुदायलाई हस्तान्तरण गरिएको छ ।

अदालतका कारण अलपत्र  
 बुटवल चौराहादेखि चिडियाखोलासम्म ३.५ किलोमिटर सडकका सम्बन्धमा अदालतमा मुद्दा परेपछि काम रोकिएको छ । अदालतमा दिएका विभिन्न आदेशले यो बिस्तार अभियान  अन्यौलमा छ । सडक विस्तार विरुद्ध उच्च अदातल बुटवलमा स्थानीयले  मुआब्जाको दावी गर्दे  रिट दायर गरेपछि अन्यौल सिजर्ना भएको मिश्रले बताए ।

उक्त क्षेत्रमा २०३४ साल भन्दा पहिला बसेका १८ जनाले मुआब्जाको माग गर्दै अदालतमा मुद्दा होलेका हुन् । उनीहरुले जिल्ला  प्रशासनको पहललाई कार्यान्यन नगरी अदालती बाटो अपनाउँदा  थप अन्यौलता सिर्जना भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप