बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘भारतले ट्रम्पको कुरा मान्नै पर्छ भन्ने छैन’

बिहीबार, ०५ भदौ २०७६, ०८ : २०
बिहीबार, ०५ भदौ २०७६

सलमान राव, बीबीसी

के अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उनको कानमा जसले जे भरिदिन्छ त्यही कुरा दोहोराउने गर्छन् ?

सुन्दा अचम्म लाग्ला तर भारतको कुटनीतिक विशेषज्ञ र सामरिक विश्लेषकबीच यही कुरामा बहस सुरु भएको छ । ताजा घटना त्यतिबेलाको हो जब रोमानियाका राष्ट्रपतिसँग ट्रम्पले ह्वाइट हाउसमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गरिरहेका थिए ।

त्यहाँ एक पत्रकारको प्रश्नको जवाफ दिँदै उनले एकपटक पुनः कश्मीरको स्थितीलाई ‘बिस्फोटक’ एवं ‘जटिल’ को संज्ञा दिए । उनले यतिबेला भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने प्रस्ताव पनि दिए ।

अमेरिकाका राष्ट्रपतिको यो बयान भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग फोनवार्ता गरेको एक दिन पछि आएको हो ।

पत्रकार सम्मेलनमा उनले भने, ‘कश्मीर एक जटिल समस्या हो जहाँ हिन्दु पनि छन् र मुसलमान पनि र म यो भन्दिनँ कि उनीहरु मिलिजुली बसेका छन् ।’

उनले दुई देशबीचको यो समस्या निकै लामो वर्षदेखि चलिरहेको पनि बताए ।

उनले भने, ‘म यसमा मध्यस्थता गर्ने कोसिस गरिरहेको छु । प्रधानमन्त्री इमरान खान र मोदीसँग मेरो राम्रो सम्बन्ध छ । दुबै मेरा असल मित्र हुन् र दुबै आफ्नो देशलाई असाध्यै माया गर्छन् । यो हप्ताको अन्त्यमा म भारतका प्रधानमन्त्री मोदीसँग फ्रान्समा भेटघाट गर्नेछु ।’

तर ट्रम्पले पत्रकार सम्मेलनमा जे जति भने त्यसलाई भारत र पाकिस्तानमा भिन्न दृष्टिकोणले हेरिएको छ ।

सामरिक मामलाका विशेषज्ञ मनोज जोशीका अनुसार अमेरिकी राष्ट्रपति मूल रुपमा एक व्यवसायी भएकाले उनलाई कुटनीतिबारे राम्रोसँग ज्ञान नभएको भन्ने छवी छ ।

जोशी भन्छन्, ‘डोनल्ड ट्रम्प एक व्यवसायी हुन् र उनलाई विश्व राजनीतिबारे खासै त्यति जानकारी छैन । उनलाई जतिबेला जे मन लाग्छ त्यो बोल्छन् । उनी अगाडि पछाडि केही पनि हेर्दैनन् र सोच्दैनन् पनि । उनको बयानबाट यस्तो लाग्छ कि जम्मू–कश्मी।र हिन्दु–मुसलमानको मसला मात्रै हो जुन सही होइन ।’

उनले थपे, ‘यदि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यस्थताको लागि दबाब दिन्छन् भने भारत अब त्यति कमजोर पनि छैन जसले उनको कुरा मान्न तयार हुनैपर्छ ।’

उनी भन्छन्, ‘यदि अमेरिकाले मध्यस्थताको कुरा अघि बढाउने कोसिस गर्छ भने पनि भारतले उसको कुरा मान्नै पर्छ भन्ने छैन किनभने भारत त्यति कमजोर छैन । तर यदि भारतले यस्तो गर्यो भने उसले यसको मूल्य अर्कोतिर चुकाउनैपर्छ । भारतसामू ट्रम्पसँग साथी पनि बन्न र उसको कुरा पनि नमान्ने चुनौती तेर्सिएको छ । यी दुई कुरालाई भारतले कुटनीतिक रुपमा सुल्झाउनु पर्छ ।’

यस्तै, पाकिस्तानमा पनि ट्रम्पको बयानबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

पूर्व कुटनीतिज्ञ एवं भारतमा पाकिस्तानका उच्च आयुक्त भइसकेका अशरफ जहांगीर काजीले बीबीसीसँगको कुराकानीमा भने, ‘भारत र पाकिस्तानबीचको अहिलेको स्थिती हेर्ने हो भने दुई देशबीच कुनै पनि बेला परमाणु युद्ध सुरु हुनसक्ने अनुमान गर्न सकिन्छ ।’

काजी भन्छन्, ‘जम्मू–कश्मीरमा अमेरिकाले किन रुची नराखोस् ? भारत र पाकिस्तान परमाणु हतियारले सुसज्जित छन् । युद्धले दुई देशलाई मात्र नभई संसारभरी यसको असर पर्नेछ  । सायद ट्रम्प यसैकारण चिन्तित छन् ।’

उनका अनुसार अमेरिकामा हुन लागेको राष्ट्रपति चुनाव अघि नै अमेरिका अफगानिस्तानबाट निस्कन चाहन्छ । यो कामका लागि पाकिस्तानले उनको मद्दत गर्न सक्लान् भन्ने उनको सोचाई छ । उनका अनुसार यदि भारत र पाकिस्तानबीच तनाव थप बढेको खण्डमा पाकिस्तानले अमेरिकी सैनिकलाई फिर्ता गर्न मद्दत गर्न सक्नै छैनन् ।

अब सबैको नजर यो हप्ताको अन्त्यमा फ्रान्समा हुन लागेको जी–सेभेन देशको बैठकमा टिकेको छ जहाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको कुराकानी निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप