केन्द्रीय संस्करण
फिचर

एक अङ्कले फेरिदिएको भाग्य : इन्जिनियरबाट बने कोरियोग्राफर

person explore access_timeभदौ ५, २०७६ chat_bubble_outline1
कुवेर गिरी

रातोपाटी

त्यस्तै विसं २०५६ तिर होला । उनी साधना कलाकेन्द्रमा नृत्य सिक्दा सिक्दै मोडलिङमा होमिए । नृत्य उनले कलाकार बन्छु भनेर सिक्न थालेका भने थिएनन् ।

त्यसको पनि एउटा कथा छ । उनी अमृत साइन्स क्याम्पसमा आईएसी पढ्दै थिए । सो समयमा इन्टर कलेज डान्स कम्पिटिसन हुन्थ्यो । कलासंस्कृतिमा नेवार समुदाय राम्रो मानिएको होला कलेजमा नेवार समुदायको एउटा ग्रुप नै बनेको थियो ।

उनको कलेजमा मात्र होइन, सबै कलेजमा यस्ता ग्रुप हुन्थे । ग्रुपबाट नै नेपाल भाषाको गीतमा नृत्यको प्रतिस्पर्धा हुन्थ्यो । उनको नृत्यमा सानैदेखि स्टेप राम्रो थियो । त्यसैले उनले ग्रुपको अलवा व्यक्तिगत रूपमा नृत्य प्रतिस्पर्धाको अवसर पाएका थिए ।

उक्त प्रतिस्पर्धामा उनी र उनको ग्रुपलाई नृत्य सिकाउने काम साधना कलाकेन्द्रका गुरु भुवन श्रेष्ठले गरे । भुवन त्यतिबेला फिल्मका पनि राम्रो कोरियोग्राफर मानिन्थे ।

‘नृत्यको एक महिने प्रशिक्षणसहित म र मेरो ग्रुप प्रतिस्पर्धामा होमियो’ उनले भने ‘प्रतिस्पर्धामा ग्रुप फस्ट भयो । मैले भने व्यक्तिगत प्रस्तुतिमा दोस्रो स्थान हासिल गरे ।’ उनी अर्थात रोजिन शाक्य ।

रोजिन अहिले नेपालका सबैभन्दा राम्रो र व्यवसायी कोरियोग्राफरमा पर्छन् । आफूले अहिलेसम्म फेसन र पेजन्ट गरेर ७७५ कार्यक्रममा कोरियोग्राफी गरेका उनले बताए । उनले थपे ‘मेरो  सबै काम गनेर राख्ने बानी छ । त्यसैले अहिलेसम्म के कति काम गरे सजिलै भन्न सक्छु ।’ ७७५ मध्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ५ सय जति छन् भने बाँकी फेसन सो हुन् ।

उनको कोरियोग्राफी कलेज कार्यक्रमबाट सुरु भएको थियो । भुवन श्रेष्ठसँगको एक महिने नृत्य प्रशिक्षणले जब उनी कलेज प्रतिस्पर्धामा विजेता बने ।

सोही कारण भुवन श्रेष्ठले उनका लागि साधना कलाकेन्द्रको ६ महिने नृत्य स्कलरसिप प्रदान गरे । स्कलरसिपमा नृत्य सिक्दै गर्दा कलेजमा ‘मिस्टर एन्ड मिस फेसेस’ नामक प्रतियोगिता आयोजना भयो । केटा र केटी दुवैका लागि आयोजित प्रतियोगितामा उनले कोरियोग्राफीको जिम्मेवारी पाए ।

उनको कोरियोग्राफीमा प्रतियोगिता राम्रो भयो । त्यसपछि प्रतियोगितातिर उनको झन् रुचि बढ्यो । प्रतियोगितामा रुचि भएका र मोडलिङमा लागेका सबै मिलाएर उनीसहितको सन् १९९९ कलेजमा एउटा ग्रुप बन्यो । उक्त ग्रुपले फेसन सो आयोजना गर्न थाल्यो । ‘गु्रपमा धेरै साथी जोडिएकाले फेसन सोका सिक्वेल बाँडेर कोरियोग्राफी गर्न थाल्यौँ’, उनले कोरियोग्राफी दिन सुनाए ।

बाँढेर कोरियोग्राफी गरेको फेसन सोका सिक्वेलमध्ये उनको सिक्वेल सबैभन्दा उत्कृष्ट मानियो । त्यसपछि आयोजना भएको एक प्रतियोगितामा उनले कोरियोग्राफीको पूरै जिम्मेवारी पाए । उनले खुसी प्रकट गरे ‘त्यसपछि मेरो पाइला फुल फेज कोरियोग्राफीतिर बढ्यो ।’

२००३ बाट उनले फुलफेज कोरियोग्राफी सुरु गरेका थिए । सो यात्रा अहिले पनि रोकिएको छैन । पछिल्लो समय उनी देशविदेशका फेसन सो, फेसन इभेन्ट, पेजेन्ट इभेन्ट कोरियोग्राफीमा क्रियाशील रहँदै आएका छन् । यो क्रममा उनले देश तथा विदेशबाट थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका छन् ।

के हो कोरियोग्राफी ?

उनको बुझाइमा कोरियोग्राफी दुई प्रकारका हुने गरेका छन् । एक फेसन र अर्काे इभेन्ट ।

फेसन डिजाइनरले आफ्नो सीप कपडा, कलरमा प्रस्तुत गरेर एउटा पहिरन तयार गर्छ । ती पहिरनका डिजाइन बजारमा ल्याउन फेसन सो आयोजना हुने गरेका छन् ।

फेसन सोमा मोडल पनि हुन्छ । डिजाइनरको सिर्जना बजारीकरण गर्ने ती मोडलको प्रयोजन हुन्छ । ‘मेरो भूमिका भने डिजाइनरको त्यो पहिरनको कल्पना, अवधारणा बुझेर मोडलमार्फत आकर्षक ढङ्गले प्रस्तुत गराउनु हो’, उनले अगाडि भन्दै थिए, ‘यसमा मोडलको हिँडाइ, हेराइ, हाउभाउ, स्टेजको डिजाइन, म्युजिक सेलेक्सन, दर्शकको सिटिङ सबै पर्छ ।’

‘सीधै भन्नुपर्दा डिजाइनरले सिर्जना गरेका आकर्षक पहिरन अडियन्सलाई बोरिङ नहुने र डिजाइनरको पनि सन्देश जाने गरेर मोडलमार्फत र्याम्पमा प्रस्तुत गर्नु फेसन कोरियोग्राफी हो’, उनले क्लियर पारे ।

पिजेन्टमा भने सुरुमा व्यक्ति एउटा प्रतियोगी हुन्छ । योभन्दा अगाडि ऊ सहभागी मात्र हुन्छ । सहभागीलाई ४, ५ दिन ग्रुमिङ गरिन्छ । एकसातामा उसले गरेको प्रगतिका आधारमा कोरियोग्राफरले प्रतिस्पर्धी बनाएर अङ्क दिन्छन् । अनि मात्र त्यो प्रतियोगी हुन्छ ।

त्यो प्रतियोगीले अब प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्न सक्ने उनले बताए । ‘त्यसलाई निखार ल्याउने काम कोरियोग्राफी हो’, उनले थपे ‘प्रतियोगिताको सफल पक्षको जानकारी गराउने र कमजोरी पहिल्याएर सुधार गर्न लगाउने पनि कोरियोग्राफरको जिम्मेवारीभित्र पर्छ ।’

उनले प्रतियोगिमाझ आफूलाई ऐनाको रूपमा प्रस्तुत गर्दै आएका छन् । प्रतियोगीलाई विजेता बनाउँछु । विजेता हुन्छन् भनेर ग्रुमिङ गर्नुभन्दा पनि उनले स्टेजमा उभिएर राम्रो प्रस्तुति कसरी दिने, अवसरको सदुपयोग कसरी गर्ने, राम्रो गर्यो भने ताज मिल्छ भन्ने सिकाउँछन् ।

प्रतियोगीलाई अरूभन्दा भिन्न, सक्षम र अवसर सदुपयोग गर्न सक्ने बनाउने कोरियोग्राफी नै इभेन्ट कोरियोग्राफी भएको उनले प्रप्ट पारे ।

छरिएका छन् अवसर

‘घर बाहिर अनेक अवसर छरिएर रहेका हुन्छन्’, धेरै मानिसको भनाइ पनि हो । उनको बुझाइ पनि त्यस्तै छ । छरिएर रहेका अवसर देख्ने, नदेख्ने वा प्राप्त गर्ने, नगर्ने भन्ने कुरा व्यक्तिमा भर पर्ने कुरो हो । अवसर थाहा पाउन र प्राप्त गर्न सक्ने हुन त हरेक मानिसलाई कोरियोग्राफी आवश्यक हुने उनी सुनाउँछन् ।

हरेक व्यक्तिको आआफ्नो विशेषता हुन्छ । त्यो विशेषता ग्रमिङ प्रोसेसले अगाडि ल्याउन सकिन्छ । आफू बोल्न सक्छु, कतिसम्म भन्ने जोकोहीलाई थाहा हुन्न । ग्रुमिङ प्रोसेसमा गएपछि आफ्नो क्षमता बुझ्न सजिलो पर्छ । मानिसमा आफू बोल्न सक्दिनँ भन्ने बुझाइ हुन्छ । यो प्रक्रियामा आएपछि आफू बोल्न सक्दो रहेछु भनेर बुझ्न सक्छ ।

कतिलाई आफू धेरै बोल्न सक्छु भनेर घमन्ड हुन्छ । यो प्रक्रियामा आएपछि उसलाई थाहा हुन्छ । आफूभन्दा पनि धेरै बोल्ने अर्काे छ भनेर ।

यी त उनले प्रस्तुत गरेका केही उदाहरण मात्र हुन् । एउटा व्यक्तिलाई व्यावसायिक रूपमा अगाडि बढ्न ग्रुमिङ अनिवार्य चाहिने उनको भनाइ छ ।

आफूले गरेको काम जिम्मेवार भएर गर्नुलाई व्यावसायिक जीवन भनिन्छ । एउटा व्यक्तिगत जीवनबाट व्यावसायिक जीवनमा जान त्यो मानिस ग्रुमिङ हो भने सजिलै जानसक्ने र आफ्नो जिम्मेवारी बुझ्न सक्ने उनको बुझाइ छ ।

तीन लाख सजिलै आम्दानी

हुन त अहिले कोरियोग्राफीमा व्यावसायिकता छैन भन्ने आवाज गुन्जन थालेका छन् । तर उनले भने यो पेसा रोजेदेखि पछाडि फर्किएर हेर्नुपरेको छैन । उनको नुन, तेल, चामलदेखि घर र  आफ्नो सबै खर्च पनि यहीँबाट चलेको छ । कोरियोग्राफी बाहेक अन्य काम पनि उनले नगरेको होइन । तर स्थापित हुने र अगाडि बढ्ने अवसर भने कोरियोग्राफीबाटै मिल्यो ।

कुनै पनि व्यक्तिले आफू कहाँ जान चहने हो । त्यसलाई सिरियस लिनुपर्ने उनी बताउँछन् । म कहाँ जान चाहन्छु । किन जान चाहन्छु भन्ने उत्तर आफैभित्र हुनुपर्ने र यसले आफूलाई तयार गर्न सजिलो हुने उनको बुझाइ हो ।

‘पहिलेभन्दा कोरियोग्राफीमा अहिले करियर बनाउन सजिलो अवस्था छ’, यो उनको पनि बुझाइ हो । अहिलेको अवस्थामा जसरी सौन्दर्य प्रतियोगिता बढ्दो छ । फेसन क्षेत्र फराकिलो हुँदैन । त्यो अर्थमा हामीले देशमै बस्नुपर्दैन । बाहिर पनि आफूले आफूलाई समाहित गर्न सक्छौ । आम्दानीका रूपमा भन्नुपर्दा कोरियोग्राफीबाट महिनामा दुई तीन लाख सजिलै कमाउन सक्ने उनी बताउँछन् ।

हाम्रो बजार सानो

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कोरियोग्राफी अनुभव भएका उनले स्वदेश र विदेशका थुप्रै कार्यक्रमा कोरियोग्राफीको जिम्मेवारी निर्वाह गरेका छन् । त्यसको आधारमा पनि उनी विदेशी र स्वदेशी कोरियोग्राफीमा खासै भिन्न नभएको सुनाउँछन् ।

‘हामी प्रोफेसनल भएर काम गर्न अल्छि गर्छौं । समयमा सुरु गर्दैनौँ । समयको ख्याल गर्दैनौँ’ उनले भिन्नता औँल्याए ‘विदेशी कार्यक्रम समयमै सुरु गर्छन् । जसको काम हो त्यसैले गर्नुपर्छ ।’

विदेशको भन्दा हाम्रो बजार सानो भएको उनले महसुस गरेका छन् । सोही कारणले पनि हाम्रा लगानी फिर्ता हुन गाह्रो भएका उनको कथन छ । सिर्जशीलताको पाटोमा हामी विश्वको जुनै ठाउँमा गएर पनि काम गर्न सक्ने क्षमता रहेको उनले अनुभव  गरेका छन् ।

एक अङ्कले फेरियो भाग्य

सानैदेखि उनको इच्छा र सपना कोरियोग्राफी थिएन । जब एसएलसी सकाए । डाक्टर बन्न साइन्स अध्ययन थाले । साइन्समा उनको विषय बायोलोजी थियो । चित्रकलामा उनी कमजोर थिए । त्यो कारणले बायोलोजी उनका लागि उपयुक्त विषय हुन सकेन । त्यसको विकल्पमा उनले फिजिक्स रोजे । यो विषयमा आईएसी सके । आईएसी सकेपछिको उनको अगाडि एउटा मात्र विकल्प थियो । त्यो इन्जिनियरिङ बन्ने । इन्जिरियरिङका लागि उनले फुल्चोक इन्जिनियरिङ क्याम्पस इन्ट्रान्स दिए ।

इन्ट्रान्समा इलेक्ट्रिकल इन्जिनियर र इलोक्ट्रोनिक इन्जिनियर भन्ने विषय थियो । उनी इलेक्ट्रिकल पढ्न चाहन्थे । एक नम्बर नपुगेर उनको नाम इलेक्ट्रोनिक इन्जिनियरमा निस्कियो । नाम त निस्कियो, यसको काम के हो भन्ने उनलाई थाहा थिए । उनले जानकार व्यक्तिसँग सोधे ।

ती व्यक्तिले इलेक्ट्रोनिक इन्जिनियर बिजुलीको खब्बा चढ्ने, तान्ने भनेर बुझाइ दिए । त्यसपछि इन्जिनियरमा उनको मन मर्यो ।

फेरि अर्काे वर्ष रोजेको विषयमा नाम निकाल्ने सोचले त्यसै बसेका थिए । त्यति नै बेलाका एक साथीले एक वर्ष त्यतिकै बस्नुभन्दा अर्काे फ्याकेल्टीमा जान उनलाई सुझाए । त्यसपछि उनी बीबीएस भर्ना भए ।

बीबीएसका लागि पब्लिक युथ क्याम्पसमा भर्ना भए । त्यहीँ अध्ययनको क्रममा उनको नृत्य, मोडलिङ र कलाकारितामा रुचि भएका साथीभाइसँग सङ्गत भयो । अगाडि उनले सिकेको नृत्यले पुनर्ताजगी गर्ने मौका मिल्यो । निरन्तर रूपमा नृत्य गर्दै, मोडलिङ उनले राष्ट्रिय नाचघरमा गएर नाटक पनि सिक्न थाले । सुनिल शर्मा, प्रभाकर शर्मा, वीरेन्द्र हमालसँग नाटक बुझे । ‘अहिले म जेजति सिकाउँछु । त्यो मैले भोगेका र सिकेका कुरा नै हुन्’ उनले प्रशिक्षको विषय भने ‘मैले जे सिकेँ जे भोगेँ । अहिले पढाउँदा सबै काम लागेको छ ।’

हरेक पटक नयाँ अनुभव

उनी हरेक व्यक्तिलाई ऊ को हो भनेर चिनाउने गर्छन् । यो क्रममा उनले ए भन्ने व्यक्तिलाई जे कुरा सिकाउँछन् बी भन्ने व्यक्तिलाई त्यही कुरा सिकाउँदा उसले दिने प्रतिक्रिया फरक पाउँछन् ।

हरेक मानिसको मनस्थिति र बुझ्ने तरिका फरक हुने उनले पाएका छन् । बुझ्ने तरिका फरक फरक भएपछि उनले फरक भएरसमेत बुझाउनु परेको छ । यसरी काम गर्दा हरेक पटक आफूले नयाँ भएर बुझाउनुपर्ने, अनुभव पनि नयाँ सँगाल्न मिल्ने भएकाले उनी यो भोगाइलाई नै कोरियोग्रफीको सुख भएको उनी बताउँछन् ।

घर, परिवार, श्रीमती छोराछोरीलाई चाहिएको बेला समय दिन नसक्नु यसको दुःख भएको उनले सुनाए ।

‘मेरो पेसा, कामप्रतिको जिम्मेवारी र प्रतिबद्धता जहिले पनि मेरा लागि पहिलो प्रथामिकता रह्यो’ उनले भावुक हुँदै भने, ‘तर पनि कहिलेकाहीँ कार्यक्रम चलिरहेको, कार्यक्रममा जानुपर्ने अवस्थामा घरमा मेरो आवश्यकता परेको हुन्छ । परिवारका सदस्यसँग अस्पताल लगायत महत्त्वपूर्ण काममा जानुपर्ने हुन्छ । त्यो बेला समय मिलाउन सकिँदैन ।’

सुखमा नभए पनि दुःखमा परिवारको साथ दिऊँ भन्ने मनमा हुँदाहँुदै पनि समय मिलाउन सकिँदैन यो नै पेसाको दुःख भएको उनले सुनाए ।

थोरै किन ?

कोरियोग्राफीमा राम्रो आन्दानी छ तर पनि यो पेसामा थोरै मानिस छन् । यो उनले पनि महसुस गरेको पाटो हो । प्रविधिक पक्ष कमजोर भएका कारण यो क्षेत्र रोज्नेको सङ्ख्यामा कमी भएको उनले सुनाए ।

‘कोरियोग्राफीमा दुई पाटा छन् । एक सिर्जनात्मक र अर्काे प्राविधिक । सिर्जनात्मक पाटोमा नयाँ पुस्ताले राम्रो गरिरहेका छन् । उनीहरुको कमजोरी भनेको प्राविधिक पाटोमा छ’, उनी भन्दै गए ‘सिर्जनात्मक पाटो अनुभव गरेर सिक्ने कुरा हो । तर प्रविधिक पाटोको भने अध्ययन गर्नैपर्ने हुन्छ ।’

लाइट, स्टेज, म्युजिक के हो लगायतका सबै विषय प्रविधिक पाटोमा पर्ने बताउने उनले पछिल्लो समय भित्रिएका कोरियोग्राफरले प्राविधिक पाटोमा अध्ययन गर्न नसक्दा निरन्तरता दिन नसकेको औँल्याए । ‘प्राविधिक पाटो कमजोर हँुदा सिर्जनात्मक स्थिति पनि कमजोर देखिन्छ । कमजोर भएपछि यो क्षेत्रमा प्रतिस्पर्धा गर्न सकिन्न’ उनले थपे ।

कमेन्ट

  1. Aug. 22, 2019, 2:49 p.m. Sambhav Koirala
    अमृतसाइन्स क्याम्पस ma I.Com. छोडेर पब्लिकयुथ क्याम्पसमा आईएसी पढ्दै थिए?? Tori Patrakaar????
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...