शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘नेकपा सचिवालयमा तत्काल सदस्य थपिँदैन’

बिहीबार, ०५ भदौ २०७६, १४ : ४५
बिहीबार, ०५ भदौ २०७६

–प्रकाश सिलवाल

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ । यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन नेकपा (एमाले) मा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिनुपर्ने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकपछि पत्रकारको जिज्ञासामा सचिवालय सदस्य वामदेव गौतमले भने, ‘सचिवालयमा सदस्य थप्ने अहिले सोचाइ छैन  र पार्टीमा कुनै त्यस्तो विवादको अवस्था छैन । पार्टीमा पूर्व एमाले र पूर्व माओवादीको गुट छैन, नेकपाको एउटै गुट छ ।’

भदौ १ गतेकै बैठकले अध्यक्षद्वयपछिको पहिलो वरिष्ठ नेतामा झलनाथ खनाल र त्यसपछिको वरिष्ठमा नेता नेपाल रहने निर्णय गरेको थियो । त्यसअघि नेता नेपाल वरिष्ठतामा भने पहिलो वरियतामा रहेका थिए । नेता खनालले तत्कालीन एमालेमा आफू निवर्तमान अध्यक्षका हैसियतमा पहिलो वरिष्ठ नेताका रुपमा रहेकाले एकीकरणपछि पनि सोही वरियता हुनुपर्ने माग गर्दै आएका थिए ।

हाल नेकपामा तत्कालीन एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु खनाल, नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासहित नौ सदस्यीय सचिवालय छ । तत्कालीन एमालेमा रहेका उपाध्यक्षमध्ये गौतम मात्र र उपमहासचिव रहेका पौडेल एकतापछिको सचिवालयमा पर्नु तर अन्य उपाध्यक्ष नपर्नुले पूर्ववत् वरियताको स्पष्ट मापदण्ड नभएको नेता नेपालको जिकिर छ ।

सचिवालय बैठकले पार्टीको विभिन्न जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीका इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको थियो । वरिष्ठ नेताको वरियता हेरफर र ती निर्णयमा नेता नेपालले सात बुँदे ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । उनले पार्टीमा एक पद, एक जिम्मेवारीका लागि पनि वकालत गर्दै आएका छन् । 

पार्टीका प्रवक्ता श्रेष्ठले पनि नेता नेपालको फरक मत हाल प्रस्तावका रुपमा बैठकमा छलफल नहुने स्पष्ट गरिसकेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओली स्वास्थ्योपचारका लागि आज सिङ्गापुर जानुहुने भएकाले अध्यक्ष प्रचण्डको अध्यक्षतामा चाँडै बस्ने सचिवलाय बैठकले साङ्गठनिक एकताका बाँकी कामबारे निर्णय गर्ने आजको सचिवालय बैठकमा समझदारी भएको छ । एकीकरणले पूर्णता नपाउँदा कार्यकर्तामा निराशा र आशङ्का अन्त्य भएको छैन भने सरकार र पार्टीबीचको समन्वयमा पनि बेलाबखत विवाद उत्पन्न हुँदै आएको छ । 

नेता गौतमले एकतापछि केन्द्रीय विभाग गठन भएकाले अब अन्य साङ्गठनिक कामले पनि गति लिने जानकारी दिए  । उनले आफूलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान संशोधनपछि मात्र कार्यान्वयनमा आउने स्पष्ट पारे ।  गत साउन ३१ गतेको सचिवालय बैठकले गौतमलाई पार्टीमा उपाध्यक्ष बनाउन स्थायी कमिटीमा प्रस्ताव गर्ने निर्णय गरेको थियो । 

‘यो निर्णयले तपाईं पार्टीमा पुनःशक्तिशाली बन्नुभएको भनिन्छ नि’ भन्ने पत्रकारको प्रश्नमा नेता गौतमको जवाफ थियो, ‘त्यस्तो होइन, म हिजो जे थिएँ, आज पनि त्यहीँ छु । मेरो भूमिका उही रहनेछ ।’ पार्टी एकताका लागि निर्णायक भूमिका खेल्नुभएका गौतम केन्द्रीय सङ्गठन विभागको प्रमुख र अखिल नेपाल किसान महासङ्घको इञ्चार्ज पनि रहेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो । एकतापछि अध्यक्ष दुई, एक महासचिव र अन्य नेता सचिवालय सदस्य रहने गरी अन्तरिम विधान जारी गरिएको थियो । पार्टीले ‘जनताको बहुदलीय जनवाद’ र एक्काइसौँ शताब्दीको जनवाद’लाई थाँती राखी तत्कालका लागि ‘जनताको जनवाद’ को विचारलाई मार्गदर्शक मान्ने र दीर्घकालीनरुपमा वैज्ञानिक समावादमा पुग्ने लक्ष्य लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप