शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिविसहित चार विश्वविद्यालमा कामु उपकुलपति

बिहीबार, ०५ भदौ २०७६, २२ : ०६
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं-त्रिभुवन विश्वविद्यालय (त्रिवि) लगायत चार विश्वविद्यालयका उपकुलपतिको चयन हुन नसक्दा कायममुकायम (कामु) उपकुलपतिको जिम्मेवारी दिइएको छ । 

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चार विश्वविद्यालयको रिक्त हुन थालेको उपकुलपतिका लागि कामु उपकुलपतिको जिम्मेवारी तोक्दै पत्र पठाउनुभएको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । 

    उनका अनुसार त्रिविमा कामु उपकुलपतिमा शिक्षाध्यक्ष डा सुधा त्रिपाठीलाई जिम्मेवारी तोकिएको छ । त्रिविका उपकुलपति डा तीर्थराज खनियाँको भोलि शुक्रबारदेखि पदावधि सकिने भएकोले शिक्षाध्यक्ष डा त्रिपाठीलाई कामु उपकुलपति तोकिएको हो । 

त्रिवि ऐन–२०४९ को दफा २१ को (ख) अनुसार विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महीनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले तोक्ने व्यवस्थाअनुसार उनीहरुलाई कामु उपकुलपति तोकिएको हो । 

त्रिविको उपकुलपतिसहित पदाधिकारीको नाम सिफारिस गर्न गठित शिक्षामन्त्री पोखरेलको संयोजत्वमा गठित सर्च कमिटीले नाम सिफारिस गर्न नसकेपछि त्रिवि ऐनअनुसार शिक्षाध्यक्ष डा त्रिपाठीलाई कामु उपकुलपतिको जिम्मेवारी दिइएको हो । 

त्रिविका कुलपति तथा प्रधानमन्त्री उपचारका क्रममा आज सिङ्गापुर जानु भएकाले फर्कन केही समय लाग्ने भएकाले पनि अहिले कामु उपकुलपतिको व्यवस्था गरिएको हो । 

यसैगरी केसीका अनुसार कृषि विश्वविद्यालयमा पशु, विज्ञान, भेटरिनरी विज्ञान तथा मत्स्यपालन सङ्कायका डिन शारदा थपलियालाई कामु उपकुलपति, संस्कृति विश्वविद्यालयमा शिक्षाध्यक्ष रमेश ढकाललाई कामु उपकुलपति र पूर्वाञ्चल विश्वविद्यालयमा बिजुकुमार थपलियालाई कामु उपकुलपतिको जिम्मेवारी तोकिएको छ । 

मन्त्रीका स्वकीय सचिव केसीका अनुसार चार जना कामु उपकुलपतिलाई भोलि पत्र दिने जानकारी दिए । कृषि, संस्कृति तथा पूर्वाञ्चल विश्वविद्यालयमा समेत उपकुलपतिको पदावधि शुक्रबारदेखि सकिने भएकाले कामु उपकुलपतिको तोकिएको हो । 

यसैगरी कृषि र पूर्वाञ्चल विश्वविद्यालयको पदाधिकारी छनोट गर्नका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य र शिक्षासचिव रहेको सर्च कमिटी गठन गरिएको छ । 

यस्तै संस्कृति विश्वविद्यालय पदाधिकारी र सेवा आयोगको पदाधिकारी छनोट गर्नका लागि शिक्षामन्त्री पोखरेलसहित विश्वविद्यालय अनुदान आयोगका सदस्य र शिक्षा सचिव रहेको सर्च कमिटी गठन गरिएको छ । 

यसैगरी त्रिविको उपकुलपतिसहित पदाधिकारीसहितको नाम सिफारिस गर्नका लागि सर्च कमिटीलाई म्याद भदौ २० गतेसम्म थपिएको मन्त्रीका स्वकीय सचिव केसीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप