केन्द्रीय संस्करण
ग्राउन्ड जिरो

घटनाको ४ वर्षपछि ‘मुर्दाशान्ति’ मा टीकापुर

जेल परेका थारु युवाका परिवारजन रुँदै भन्छन् : हाम्रा छोराहरुलाई फसाइयो !

person explore access_timeभदौ ६, २०७६ chat_bubble_outline0
मदन ढुङ्गाना

रातोपाटी

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहार शनिवार ४ वर्ष पूरा हुँदैछ । तत्कालीन अखण्ड सुदुरपश्चिम र थारुवान पक्षधरहरुको टकरावका बीच भदौ ७ गते भएको थारु आन्दोलनको दौरान प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक जना बालकको ज्यान गयो ।

त्यो नरसंहारलगत्तै थारु युवाहरुमाथि प्रहरी धरपकड बढ्यो भने ५८ जना थारु अगुवा तथा आन्दोलनकारीमाथि कर्तव्य ज्यानको मुद्दा लाग्यो । जिल्ला अदालत कैलालीले २४ जनालाई दोषी ठहर गर्दै जेल पठायो भने कैयन् अहिले पनि फरार छन् ।

उक्त हत्याकाण्डपछि टीकापुर शान्त त छ, यद्यपि त्रास भने अझै सकिएको छैन । यहीबीचमा भदौ ७ गते नै पारेर थरुहट र थारुवान पक्षधरले टीकापुरमै थारुहरुको राष्ट्रिय सम्मेलनको आयोजना गरेका छन् । त्यसले कस्तो असर पार्ला ? टीकापुरको वर्तमान अवस्था कस्तो छ ? आदि विषयलाई समेट्न रातोपाटीका वरिष्ठ सम्वाददाता मदन ढुङ्गाना र कैलाली संवाददाता टङ्क कुँवर टीकापुर पुगेर फर्किएका छन् । टीकापुरको वास्तविक चित्र क्रमशः प्रकाशन गर्ने जमर्को गरिएको छ । –सम्पादक

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा ७ जना प्रहरी र एकजना नाबालक गरी ८ जनाको हत्या भयो । संविधान निर्माण तथा राज्य पुनर्संरचनाको चरणमै रहँदा तत्कालीन अखण्ड सुदुरपश्चिम र थारुहट वा थारुवान राज्यको माग गर्ने समूहबीच भएको टकरावका कारण त्यहाँ ८ जनाको सामूहिक हत्या भयो । भदौ ७ गते थारु समुदायले गरेको आन्दोलनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक अर्थात् एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र एक जना नाबालकको हत्या भएको शनिवार ४ वर्ष पूरा हुँदैछ ।

यो ४ वर्षको बीचमा सरकारले ५८ जना थारु आन्दोलनकारीविरुद्ध मुद्दा कर्तव्य ज्यान तथा डाँकाचोरी मुद्दा पनि दायर गर्यो । मुद्दा दायर भएकामध्ये ११ जनालाई जन्मकैदको फैसला भयो भने १२ जनालाई ३ वर्ष कैद सजाय सुनाइयो ।

त्यसैगरी घटनाको समयमा १४ वर्षमात्रै पुगेका एक बालक करण चौधरीलाई भने ६ महिनामात्रै कैद सजाय सुनाइयो ।

जिल्ला अदालतले दोषी ठहर गरेकाहरुमध्ये अधिकांश मानिसहरु अझै पनि जेलमै रहेका छन् । ३ वर्ष कैद सुनाइएकामध्ये भने धेरै छुटिसकेका छन् ।

२०७२ साल भदौ ७ गते टीकापुरमा प्रहरी अधिकारीसहित ८ जनाको सामूहिक हत्या भएपछि आक्रोशित समूहले भदौ ८ गते टीकापुरका अधिकांश थारु समुदायका मानिसहरुको घर तथा पसल जलाइयो, तोडफोड र लुटपाट भयो । त्यसपछि भने टीकापुर यतिबेलासम्म ‘शान्त’ छ ।

४ वर्षपछि हामी टीकापुर पुग्दा स्थिति शान्तिपूर्ण छ । मानिसहरुको दैनिकी सामान्य ढङ्गले चलिरहेकै छ । हिजो आन्दोलनताकाको पारस्परिक जातीय विभेद र आक्रोशहरुलाई बिर्सेर थारु वा पहाडी समुदायका मानिसहरु एक अर्कासँग कुराकानी पनि गरिरहेका छन् । मुद्दा नलागेका थारु युवा पनि टीकापुरमै बसेर आफ्नो दैनिकी चलाइरहेकै छन् भने मुद्दा दायर भएका केही युवाहरु अझै ‘फरार’ छन् । ‘फरार’ युवाहरु कहिलेकाहीँ आफ्नो घर आउँछन् । तर जुनै पनि बेला प्रहरीको धरपकड हुन सक्ने भएपछि उनीहरु घरमा भने खासै बस्दैनन् । अन्य सबै कुरा सामान्य नै चलिरहेको छ ।

*****

टीकापुरको दैनिकी सामान्य रुपमै चलेपनि टीकापुरमा त्रास भने अझै हटेको छैन । टीकापुरमा शान्ति त छ तर त्यो शान्ति केवल मुर्दाशान्तिका रुपमा अगाडि आएको छ । मतलब समाज पीडामा छ, तर कोही बोल्न सक्ने अवस्थामा छैनन् ।

एक हिसाबले भन्ने हो भने अखण्ड सुदुरपश्चिमको माग गर्ने पहाडी समुदायको माग त पूरा भएको छ तर थारुहट वा थारुवान राज्यको माग गर्ने थारुहरुको माग अझै पूरा भएको छैन । तर थारु समुदाय ‘डिफेन्सिभ’ अर्थात् प्रतिरक्षात्मक अवस्थामा छन् भने पहाडी समुदायको बाँकी कुनै एजेण्डा नभएकाले उनीहरु दैनिकी सामान्य बनाउन चाहिरहेका छन् ।

यद्यपि दुवै समुदायले टीकापुरमा वास्तविक शान्ति र सम्वृद्धि चाहिरहेका छन् ।

*****

भदौ २ गते हामी टीकापुर आसपासका केही बस्तीमा पुगेका छौँ । त्यसैगरी भदौ २ र ३ गते टीकारपुरकै शहरी इलाकामा पनि पुगेका छौँ । खासमा टीकापुर घटनाको असर अहिले टीकापुरमा कत्तिको कायम छ ? टीकापुरको त्रास सकिएको छ कि छैन ? रेशम चौधरीलाई टीकापुरबासीले कसरी हेर्छन् ? अनि टीकापुरका कसरी सद्भाव र शान्ति कायम हुन सक्छ भनी कुराकानी समेत गरेका छौँ ।

थारु र पहाडी समुदायको टकराव सकिएको छ : ललित थापा

भदौ ३ गते बिहान टीकापुरकै एक चिया पसलमा पहाडी समुदायका मानिसहरु चिया खाँदै गरेको भेटियो । त्यसैमध्येका एक थिए ललित थापा ।

टीकापुरमै कृषिकर्म गरिरहेका थापा अहिले टीकापुरमा शान्ति कायम भइसकेको बताउँछन् । २०७२ सालमा पहाडी र थारु समुदायबीच केही टकराब र द्वन्द्वको अवस्था रहेको भएपनि अहिले त्यो सामान्य भइसकेको र टीकापुरमा कुनै तनावको अवस्था नरहेको बताउँछन् ।

टीकापुरबासीले विकास र सद्भाव चाहेको भन्दै थारुहरुको माग राज्यसँग रहेको कारण टीकापुरका पहाडी समुदायले थारु समुदाय र थारु समुदायले पहाडी समुदायलाई शत्रु देख्नुपर्ने कुनै कारण नरहेको बताउँछन् ।

प्रत्यक्ष पीडामा परेका केही मानिसहरुमा वैरभाव भएपनि समग्रतामा थारु र पहाडी समुदायबीच भाइचाराकै सम्बन्ध रहेको थापा बताउँछन् ।

‘अहिले टीकापुरमा त्यस्तो सद्भाव नभएको भन्ने कुरा गलत हो, यहाँ सद्भाव नै छ । कसैकसैको मनमा केही पीडा परेको होला । परिवार गुमाउने, घर पसल र सम्पत्ति जल्नेहरुको मनमा केही पीडा कायम नै होला र त्यो हुनु स्वाभाविक पनि हो । तर समग्रतामा त्यस्तो वैरभाव छ जस्तो मलाई लाग्दैन ।

शान्ति हुन्छ भनेर रेशमलाई जिताइएको हो : उदयराम ढुङ्गाना

त्यही चिया पसलमा भेटिएका उदयराम ढुङ्गाना पनि टीकापुरमा कुनै टकराव नरहेको बताउँछन् । पहिलेजस्तो शान्त टीकापुर नरहेपनि त्यस्तो तनावको स्थिति भने नरहेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘टीकापुर पहिलेको जस्तो छैन त्यो सत्य हो । तर थारु र पहाडीको आन्दोलन वा टकरावका कारण मात्रै त्यस्तो भएको भन्ने होइन । बरु विकासको क्रम, सस्तो आदि कारणले व्यापार व्यवसाय घटेकोचाहिँ सत्य हो ।’

ढुङ्गानाका अनुसार अहिले पनि टीकापुरमा थारु र पहाडी समुदायबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको छ ।

‘अहिले टीकापुरको व्यापार व्यवसाय घटेको छ । हिंसा, हत्या र आतंक भएपछि बाहिरबाट नयाँ मान्छे आउन चाहेका छैनन् । उनीहरु टीकापुरभन्दा बाहिर लम्की वा अत्तरिया जान चाहन्छन् । त्यसको प्रमुख कारणचाहिँ २०७२ सालको घटना नै हो ।’

ढुङ्गानाका अनुसार २०७२ सालको घटनापछि टीकापुरमा नयाँ मान्छेहरु आएका छैनन् । बरु भएका केही ठूला व्यापारीहरु पनि टीकापुर छाडेर बाहिर गएका छन् ।

रेशम चौधरी अपराधी भए कसरी चुनाव जिते होला भन्ने हाम्रो प्रश्नमा ढुङ्गानाले भने ‘रेशम चौधरी समाजसेवी मान्छे पनि हो । रेशम चौधरीलाई पहाडी समुदायले नै भोट दिएर जिताएका हुन् । यहाँ पहाडी समुदायको भोट ६० प्रतिशत र थारु समुदायको भोट जम्मा ४० प्रतिशत रहेको छ । तर पहाडी समुदायबाट उठेको व्यक्तिले लज्जास्पद हार बेहोर्नु र रेशमले २८ हजारको अन्तरमा जित्नु भनेको यो समुदायले रेशमलाई चाहेका छन् भन्ने नै हो ।’

ढुङ्गानाको अनुसार यो घटनाको योजनाकार भएपनि नभएपनि टीकापुरबासीले रेशम चौधरीलाई भोट दिनुको कारण भनेको शान्तिको कामना भएको उनी बताउँछन् । रेशम हुँदा शान्ति हुन्छ भन्ने अभिप्रायका साथ रेशमलाई भोट दिएर टीकापुरबासीले जिताएको उनी बताउँछन् ।

तर रेशमलाल चौधरी जेल परेपछि सांसद विकास कोषको पैसा पनि खर्च हुन नसकेको र विकास निर्माण कार्य ठप्प भएको उनको गुनासो छ ।

फेरि त्यस्तो अप्रिय घटना नहोस् : प्रकाश गिरी

चिया पसलमै भेटिएका अर्का स्थानीय प्रकाश गिरी फेरि त्यस्तो अप्रिय घटना नहोस् भनेर प्रार्थना गर्छन् । ४ वर्ष अगाडि भएको कहालीलाग्दो घटनाले टीकापुरलाई तहसनहस बनाएको भन्दै उनी त्यो दिन फेरि फेरि नआओस् भन्ने कामना गरिररहेका छन् ।

सबै राजनीतिक दल, समुदाय र जातजातिले अफ्नो माग राख्न पाउनु अधिकार भएको भन्दै त्यस्तो माग शान्तिपूर्ण रुपबाट राख्नुपर्ने उनी बताउँछन् ।

तर यसपटक पनि थारुहट र थारुवानको नाममा भदौको ७ र ८ गते नै कार्यक्रम राखेकाले केही डर भने लागेको उनी बताउँछन् ।

यद्यपि थारुहरुको सम्मेलनलाई अवसरका रुपमा परिणत गर्न सकिने सम्भावना पनि उत्तिकै रहेको बताउँछन् गिरी ।

यो सम्मेलनले सद्भाव र मित्रताको सन्देश दिन सकेमा टीकापुरको विकास र सामाजिक अवस्थामा परिवर्तन आउन सक्ने बताउँछन् उनी । थारु र पहाडी जनतालाई अधिकारको कुरा गराएर लडाउने र आफूहरुले फाइदा लिने केही ‘तत्त्व’ पनि सक्रिय रहेको उनी बताउँछन् ।

गिरीका अनुसार रेशम चौधरी राम्रो मान्छे नै हुन् । ‘रेशम हरेक सामाजिक काममा सहभागी हुने व्यक्ति हुन् । राम्रो काम नै नगरेको व्यक्ति भए त उनले चुनाव जित्दैनथे होला । हामीले थारु र पहाडी समुदाय एउटै हो भन्ने सन्देश दिन पनि जिताएको हो । थारु र पहाडीको मिलन होस् र त्यो मिलन रेशमले नै गराउन सक्छन् भनेर हामीले भोट दिएका हौँ ।’

त्रास कायमै छ

गिरीका अनुसार धेरै मानिसहरु यो विषयमा बोल्न तयार छैनन् । यद्यपि अहिले पनि दुबै समुदायमा त्रास कायम नै रहेको छ । प्रकट रुपमा शान्ति देखिए पनि पहिले बिहान ६ बजे खुलेर ९÷१० बजे बन्द हुने पसल अचेल बिहान ८ बजे खुल्ने र साँझ ७ बजे बन्द गर्ने गर्छन् । यो अरु कुनै कारणले नभई त्रासको कारणले नै भएको उनी बताउँछन् ।

गिरीका अनुसार धेरै मान्छे बाहिर एउटा कुरा भनिरहेका छन् र भित्र मनमा अर्कै कुरा रहेको छ । किनकि धेरैको मनमा त्रास अझै कायमै छ । ‘यो बस्न लायक ठाउँ होइन भन्दै केही व्यापारीहरु, शक्तिशाली मान्छेहरु बसाइ सरेर बाहिर गइसकेका छन् । यहाँ त बस्नैपर्ने बाध्यता भएका मानिसहरु मात्रै बसिरहेका छन्, नयाँ मान्छे कोही आएका छैनन्’ गिरीले भने ।

नरबहादुर शाह : आन्दोलनमा यस्तै हुन्छ, माओवादीले त १७ हजार मारे

टीकापुर बजारमै भेटिएका वृद्ध नरबहादुर शाह भने अहिले टीकापुरमा कुनै तनाव नरहेको बताउँछन् । उनी भन्छन्, ‘अहिलको अवस्था ठीकै छ । एक दुई साल थारु र पहाडीको तनाव चल्यो, अहिले त त्यस्तो केही छैन । अहिले त शान्ति नै छ भन्नुपर्यो ।’

शाहका अनुसार माओवादी युद्धकालमा १७ हजार मान्छे मरेको घटना राजनीतिक घटना हो, त्यो आन्दोलन पनि अधिकारकै लागि गरिएको थियो भने यो घटना पनि अधिकारकै आन्दोलनका कारण गरिएको आन्दोलन हो । त्यसकारण यो घटनालाई पनि राजनीतिक रुपमा बुझ्नुपर्ने उनको भनाइ छ ।

रेशम चौधरी राम्रो व्यक्ति भएको भन्दै जनताले भोट दिएकाले अब चाँडै निकास दिनुपर्ने उनी बताउँछन् ।

टीकापुरको बजार र व्यापार घट्नुमा भने विकासको विकेन्द्रीकरण प्रमुख कारण रहेको उनको भनाइ छ । उनले भने ‘हुलाकी सडक र राजमार्गको कारण टीकापुरको बजार व्यवसाय घटेको हो, टीकापुर घटनाले होइन ।’ जग्गाको किनबेच कम भएको चाहिँ व्यक्तिसँग पैसा नभएको कारण रहेको उनी बताउँछन् ।

टीकापुरको बारेमा पत्रकारले कुप्रचार गरिरहेका छन् : बिरुलाल चौधरी

टीकापुरकै अर्को चियापसलमा भेटिएका बिरुलाल चौधरी टीकापुर राजनीतिक घटना भएकाले राजनीतिक रुपबाटै समस्याको समाधान खोज्नुपर्ने बताउँछन् ।

टीकापुर घटनापछि पहिले केही समय भएपनि अहिले भने टकिापुर सामान्य भइसकेको उनी बताउँछन् ।

चौधरीको आरोप छ कि अहिले टीकापुरको बारेमा बाहिर जे हल्ला र आरोप छ, त्यो सब पत्रकारहरुकै कारणले भएको हो । पत्रकारकै कारण टीकापुरको बदनामी भइरहेको चौधरीको आरोप छ ।

बिरुलाल चौधरी भन्छन्, ‘अहिले थारु र पहाडी समुदायबीच त्यस्तो टकराव केही छैन । सुरुमा सम्बन्ध केही बिग्रिएकै हो । तर अहिले त्यो सबै मिलिसकेको छ ।’

यही भाद्र ७ र ८ गते हुने थारुहरुको सम्मेलनले टीकापुरको सद्भावमा नयाँपन ल्याउने अपेक्षा पनि उनले गरेका छन् ।

थारु र पहाडी समुदायको सद्भाव बिग्रिएको टीकापुर घटनाबाटै भएकाले अब टीकापुरबाटै यो सद्भावको पुनर्ताजगी ल्याउन सकिने बिरुलाल बताउँछन् । तर यदि यसपटक पनि त्यस्तो केही भएमा र सद्भाव कायम गर्न नसकिएमा टीकापुर बस्न लायक ठाउँ नरहेको भन्दै प्रचार हुने र त्यसले टीकापुरको समग्र विकासलाई नै अधोगतिमा लैजाने उनले बताए ।

*****

नेताहरु छुट्ने हाम्रा छोरा जेलमा बस्नुपर्ने ? : चैतु डगौरा

टीकापुर बजारबाट करिब ४ किलोमिटर बाहिर गाउँतर्फ लागेपछि आउँछ चैतु डगौराको घर । घरमा चैतु र उनकी श्रीमती सोनिया चौधरी मात्रै थिए ।

स्थानीय एक थारुभाषी युवकलाई लिएर हामी उनको घरमा पुगेका थियौँ ।

३ छोरी र एक छोराका आमा र बुवा उनीहरुको घरमा बृजमोहन डगौरा मात्रै छोरा थिए । उनी मोटरसाइकलको मर्मतसम्बन्धी तालिम लिँदै गरेका थिए । अहिले ८ जनाको हत्यासम्बन्धी कसुरमा उनलाई दोषी ठहर गरिएको छ । उनले २०९२ साल भदौ १३ गतेसम्म जेलमै बस्नुपर्ने हुन्छ ।

बृजमोहनका बुवा चैतुका अनुसार छोरा त्यस्तो हुलमुलमा जाने व्यक्ति थिएनन् । कसैको लहैलहैमा लागेर सायद ऊ आन्दोलनमा गएको थियो । त्यही क्रममा उसलाई प्लाष्टिकको गोली पनि लाग्यो । र भदौ १४ गते डगौरालाई अस्पतालबाट प्रहरीले पक्रेर लग्यो । मुद्दा चल्यो, बृजमोहन दोषी ठहर भए र २० वर्षको जेल सजाय भोग्न बाध्य भए ।

कुराकानीको क्रममा चैतुले रुँदै भने ‘अरु नेताहरु छुट्ने, मेरो छोराचाहिँ जेलमै बस्नुपर्ने ? मेरो छोराको के गल्ती थियो ? उसलाई फसाइएको हो ।’

चैतुको कुरा सकिन नपाउँदै चैतुकी श्रीमती तथा बृजमोहनकी आमा सोनिया चौधरी पनि रुन थालिन् । परिवारको सहारा त्यही एउटा छोरो भएपनि अहिले जेलमा बस्नुपरेको गुनासो गरिन् सोनियाले ।

आफ्नो परिवारको एकमात्रै साहारा भएको छोरालाई २२ वर्षको उमेरमै जेल कोचिएको र जेलबाट निस्कँदा ४२ वर्ष पुग्ने भएकाले पुस्ता नै सकिने चिन्ता पनि उनमा देखियो ।

डगौरा भन्छन्, ‘यो पनि राजनीतिक विषय हो र राजनीतिक तहबाटै टुङ्गो लगाउनुपर्छ । मेरो छोराले मान्छे नै मारेको कसैले देखेकै हो या प्रमाणित नै भएको हो भने प्रमाणित गरिदियोस् । होइन भने मेरो छोरालाई फसाएर हामी सबैको बिचल्ली पार्न पाइँदैन ।’

डगौरामा अलिकति आशा भने अझै पनि बाँकी छ कि सरकारले माफी पो दिइहाल्छ कि । रेशम चौधरी छुटेमा उनको छोरा पनि छुट्छ कि भन्ने झिनो आशा भने अझै बाँकी रहेको उनीहरुले बताए ।

*****

पहाडीले हाम्रो छोरा थुनाउने हामी किन उनीहरुको पसलमा जाने  : नौरजकुमारी चौधरी

हामी चैतुको घर नजिकैको अर्को एक घरमा पनि पुग्यौँ । त्यो घर थियो श्रवणकुमार चौधरीको ।

घटना हुँदा श्रवण १५ वर्षका थिए । जिल्ला अदालत कैलालीले श्रवणलाई १० वर्षको कैद सजाय सुनाएको छ र उनी यतिबेला कैद सजाय भुक्तान गरिरहेका छन् ।

श्रवणकी आमा नौरजाकुमारीको अनुसार प्रहरीले सोधपुछका लागि भन्दै खोजेपछि परिवारले नै श्रवणलाई बुझाएको थियो । तर प्रहरीलाई बुझाएपछि हातमा किला ठोकिदिन्छु भन्दै हुँदै नभएको कुरा भन्न र स्वीकार्न लगाएको आरोप नौरजाले लगाइन् ।

नौरजाको अनुसार श्रवणले कसैलाई मारेको छैन । मात्र उसलाई फसाइएको छ । तर आफ्नो शक्ति र राजनीतिक पहुँच नहुँदा श्रवण अहिले पनि जेलमै बस्नुपरेको उनीहरुको गुनासो छ ।

नौरजा पनि टीकापुर घटनालाई बिर्सन चाहन्छिन् । आफूले शान्ति चाहिरहेको उनी बताउँछिन् । तर आफ्नै छोरालाई ‘फसाइएको’मा उनी रुष्ट छिन् । पहाडी र थारु समुदायबीच कुनै मनमुटाव नभइदियोस् भन्ने आफ्नो पनि चाहना रहेको उनी बताउँछिन् । तर पहाडी समुदायले नै आफ्नो छोरालाई थुनाएको भन्दै पहाडी समुदायको पसलमा जानै मन नलाग्ने गरेको उनी बताउँछिन् ।

म टीकापुर घटना बिर्सन चाहन्छु : मृतक बालकका पिता नेत्र साउद

टीकापुर घटनामा साँढे २ वर्षका बालक टेक बहादुर साउदको पनि हत्या भयो । ती बालक थिए सशस्त्र प्रहरीका हबल्दार नेत्र साउदका छोरा । आफ्नै घरको बरण्डामा खेलिरहेको बेला उनीमाथि गोली प्रहार भएको थियो र उनको तत्कालै मृत्यु भएको थियो ।

टीकापुर घटनाको ४ वर्ष बित्नै लाग्दा हामीले नेत्रलाई भेट्यौँ । उनले सुरुवातमै भने ‘त्यो घटनालाई बिर्सनु र अब समाजमै मिल्नुको विकल्प छैन ।’

नेत्रका अनुसार जे नहुनु थियो, त्यो भइसक्यो । त्यसकारण अब फेरि पनि त्यही कुरालाई लिएर दुश्मनी साँध्नु हुँदैन । किनभने मरेको व्यक्ति फिर्ता आउँदैन । तर समाजमा अझै पनि दुस्मनी साँधेर बस्ने हो भने त्यसले झन् ठूलो समस्या निम्त्याउँछ । त्यसकारण त्यो घटनालाई बिर्सेर सामाजिक सद्भाव कायम गर्नैपर्ने बताउँछन् नेत्र ।

टीकापुर घटनाको ४ वर्षपछि हामी त्यहाँ पुग्दा टीकापुरमा शान्ति त छ, यद्यपि अझै त्रास भने सकिएको छैन । फेरि कुनै दिन द्वन्द्व र झडप होला कि भन्ने त्रास अझै धेरैलाई छ । यो हिसाबले भन्दा यतिखेर टीकापुरमा मुर्दाशान्ति छ ।

रिपोर्टिङका क्रममा हामीले के महसूस गर्यौं भने बाहिर बोलचाल गर्ने गरेपनि मनको तुष भने अझै हटेको छैन । ‘पहाडी’ र ‘थारु’ बीच युगीन उत्पीडनले सिर्जना गरेको र दलीय राजनीतिले रोपिदिएको विद्वेष र तिक्तताको तुष धेरैको मनबाट हटेको छैन । राजनीतिको दाउपेचमा राज्यसँगको लडाइँलाई थारु पहाडीबीचको साम्रदायिक रुप प्रदान गरिँदा एकअर्काविरुद्ध लक्षित हुँदै भड्केको आन्दोलन र द्वन्द्वका कारण सामाजिक सद्भाव खल्बलिँदा विकासदेखि समग्र क्षेत्रमा असर परेको छ । व्यापार व्यवसाय चौपटजस्तै भएको छ भने बेलुका ७ बजे नै अधिकांश पसलहरु बन्द हुने गरेका छन् ।

तर भनिन्छ, हरेक कालो बादलमा पनि चाँदीको सुनौलो घेरा हुन्छ । अझै पनि टीकापुरवासीहरुमा पहाडी र थारु समुदायबीचको मित्रता र सद्भाव टुटेको छैन, हो, त्यसमा दरार चाहिँ पक्कै आएको छ । त्यो दरारलाई पुर्ने र जातीय, साम्प्रदायिक सद्भावलाई पुनस्र्थापना गर्नको लागि यतिखेर राज्यले युगीन शोषणका विरुद्ध थारु समुदायले उठाएका मागहरुलाई पूरा गर्नेतर्फ अधिकतम् लचकता देखाउनै पर्छ  । साथसाथै, जातीय, साम्प्रदायिक सद्भावको संवेदनशील मुद्दाको तावा तताएर राजनीतिको रोटी सेक्ने प्रयत्नलाई कडाइका साथ निषेध गर्ने आँट पनि राज्यले देखाउनु जरुरी छ । त्यसो भएमा मात्र हिजोको कालो घटनापछि प्रकट रुपमा शान्तिपूर्ण देखिएको तर भित्रभित्रै त्रास र संकामा बाँचिरहेका सबै समुदायका टीकापुरवासीले वास्तविक शान्ति महसूस गर्न सक्नेछन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...