शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीसँग असन्तुष्ट नेपाललाई फकाउँदै प्रचण्ड, एकीकरणका काम टुङ्ग्याइने

शुक्रबार, ०६ भदौ २०७६, ११ : ४७
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणका बाँकी काम टुङ्ग्याउने तयारी गरेका छन् । बिहीबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर प्रस्थान गरेपछि एकीकरणका बाँकी काम टुङ्ग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको थियो ।

पार्टी एकता घोषणाको १५ महिनापछि कार्यकारी अधिकार पाएका प्रचण्डले बरियता घटुवामा परेर असन्तुष्ट बनेका वरिष्ठ नेता माधव कुमार नेपाललाई सहमतिमा ल्याएर नै एकीकरणको काम टुङ्ग्याउने तयारी गरेका छन् ।

भदौ १ गते बसेको सचिवालय बैठकले हालसम्म तेस्रो बरियतामा रहेका नेता नेपाललाई चौँथो बरियता र चौंथो बरियतामा रहेका नेता झलनाथ खनाललाई तेस्रो बरियतामा ल्याउने निर्णय गरेको थियो । सो निर्णयसँगै नेता नेपाल प्रधानमन्त्री ओलीसँग असन्तुष्ट बनेका छन् । उनले आफ्ना असन्तुष्टि लिखितरुपमै सचिवालयमा दर्ज समेत गराइसकेका छन् ।

नेता वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने निर्णय गरेसँगै नेता नेपालले तत्कालिन एमालेका तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई पनि सचिवालयमा ल्याउनुपर्ने माग पनि गरेका छन् ।

तर, नेता नेपालको मागलाई अर्का अध्यक्ष ओलीले ठाडै अस्वीकार गरिदिएका छन् । सोही कारण ओली र नेपालबीचको संवाद समेत बन्द भएको छ । तर, अर्का अध्यक्ष प्रचण्डसँग भने नेता नेपाल संवादमै छन् ।

प्रधानमन्त्री ओली सिंगापुर गएसँगै अध्यक्ष प्रचण्ड र नेता नेपालबीच पटक–पटक छलफल समेत भएको छ । शुक्रबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको छलफल केही सकारात्मक भएपनि नेता नेपालले अडान छोडेका छैनन् ।

तर, प्रचण्डले नेता नेपाललाई फकाएर केहीदिनमै एकीकरणका बाँकी काम टुङ्ग्याउने तयारी गरेको स्रोतले जनाएको छ ।

अब बस्ने सचिवालय बैठकले आयोग, मञ्च, प्रवास कमिटी, पोलिटब्यूरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजनलगायतका काम टुङ्ग्याउने छ । त्यसलगत्तै अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकको तयारी गर्ने भएका छन् । तर, बैठक भने प्रधानमन्त्री ओली फर्केलगत्तै बस्ने सम्भावना छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप