बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जल्दैछ पृथ्वीको ‘फोक्सो’ – जिम्मेवार हामी मानिस हौँ !

शुक्रबार, ०६ भदौ २०७६, १४ : ०९
शुक्रबार, ०६ भदौ २०७६

अमेजोन जलिरहेको छ – यसको दोष मानिसलाई नै जान्छ ।

वातावरणसम्बन्धी काम गर्ने संस्था तथा अनुसन्धानकर्ताले ब्राजिलको जङ्गलमा त्यसलाई फडानी गरेर जमिन उपयोग गर्न चाहनेहरुले डढेलो लगाएको दाबी गर्छन् । जसलाई व्यापारीलाई समर्थन गर्ने ब्राजिलकै राष्ट्रपतिले प्रोत्साहन गरिरहेका छन् ।

‘यीमध्ये धेरै डढेलोले मानिसले नै सल्काएका हुन्,’  गैरनाफामुलुक संस्था अमेजोन वाचका निर्देशक क्रिस्टियन पोइरिर भन्छन्् । सुख्खा मौसममा समेत ओसिलो रहने अमेजोनको (रेन फरेस्ट) घना जङ्गलमा सजिलै आगो नसल्कने उनको भनाइ छ । त्यहाँ क्यालिफोर्निया र अस्ट्रेलियामा जस्तो सुख्खा झाडीयुक्त जमिन छैन । 

किसान र पशुपालकहरुले जङ्गल नष्ट गरेर जमिन बनाउन आगोको प्रयोग गर्दै आएको बताउँदै उनले यही कारणले अहिले अमेजोनमा असामान्य तवरले ठूलो संख्यामा डढेलो देखिएको बताए ।

ब्राजिल स्पेस अनुसन्धान केन्द्र(आइएनपिई)ले  गत वर्षको भन्दा ८० प्रतिशतले डढेलो बढेको बताएको छ । त्यसको सबैभन्दा बढी अमेजोन क्षेत्रमा देखिएको छ । जुन स्थानीय वातावरण र पर्यावरणका लागि विपत्तिको रुपमा अथ्र्याइएको छ ।

आइएनपिईका वरिष्ठ वैज्ञानिक अल्बर्टो सेट्जरका अनुसार नियतवस वा अन्जानमा होस ९९ प्रतिशत डढेलो मानिसको गतिविधीका कारण हुने गरेको छ । स–साना कृषि अभ्यास र आधुनिक यान्त्रिकरण तथा कृषि व्यापारिक जमिनका लागि जङ्गलफडानी गर्न आगो लगाउने गरेको उनले सिएननलाई बताएका छन् ।

अमेजोनका जङ्गलबाट संसारले खपत गर्ने २० प्रतिशत अक्सिजन उत्पादन हुँदै आएको छ । त्यसैले यस क्षेत्रलाई विश्वको ‘फोक्सो’को संज्ञा दिइएको छ । विश्व वन्यजन्तु कोषका अनुसार यदी यसलाई निरन्तररुपमा क्षति पु¥याउँदै गयौँ भने कार्वन उत्सर्जन सुरु गर्छ, जुन जलवायु परिवर्तनका लागि मुख्य कारण बन्नेछ ।

ब्राजिलका वातावरणमन्त्री रिकार्डोले ट्वीटमार्फत् डढेलो मौसम, हावा र तापक्रमका कारण लागेको बताएका छन् । तर, सिएनएनका मौषमविद् हेले ब्रिकले उक्त डढेलो ‘मानव सिर्जित’ नै भएको र चट्याङजस्ता प्राकृतिक कारणले नभएको बताइन् ।

यो वर्षको डढेलो मौषमी कृषि क्षेत्रका लागि भएको ब्रिकको भनाइ छ । उनी भन्छिन् , ‘यो आगो लगाउने उपयुक्त समय हो, यहाँका बोटविरुवा सुकेका छन् । यहाँका किसानहरु सुख्खा मौसमको पर्खाइमा थिए र अहिले आगो लगाए । उनीहरुले आफ्ना गाईवस्तु चराउनका लागि जमिन खाली गरेका हुन् । हामीले यही शंका गरिरहेका छौँ । सेप्टेम्बर महिनासम्म सुख्खा मौसम रहन्छ,’ उनले थपिन् ।

गत वर्षको तुलनामा यो वर्षको विनास अकल्पनीय भएको अमेजोन वाचका निर्देशक पोइरिरले बताए । ‘मानिसबाट हुने आगलागी रोक्न अत्यन्तै कठिन पनि छ,’ आइएनपिईका अर्थ सिस्टम साइन्स सेन्टरका अनुसन्धानकर्ता लिनकोन मुनिजले सिएनएनलाई बताए ।

उनले भनेका छन्, ‘उष्णप्रदेशीय कृषि जमिन र चरन क्षेत्र तयार गर्न परम्परागत रुपमा आगो प्रयोग हुँदै आएको छ, यसलाई रोक्न अत्यन्त कठिन छ ।’

वातावरणविद्द्वारा बोल्सोनारोमाथि आरोप

विभिन्न संस्था, अभियन्ता र सामाजिक सल्जालले संसारभर खतराका समाचार बनाइरहेका छन् । ‘अमेजोन र अरु वन्यजन्तुका लागि प्रार्थना गरौँ,’ भन्ने ट्वीट संसारभर भाइरल भइरहेको छ । तस्विर र आगो फैलिएको समाचारसहित ब्राजिलियन राष्ट्रपति जैर बोल्सोनारोले जिम्मेवारी लिन माग गरिरहेका छन् ।

बोल्सोनारोले राष्ट्रपति पदको दौरानमा अमेजोनको अधिकतम उपयोग गरेर आर्थिक अस्था सुधार्ने वाचा गरेका थिए । अहिले वातावरणसँग सम्बन्धित संस्थाहरुले राष्ट्रपति बोल्सोनारोकै उक्साहटमा पसुपालक, किसान र काठ व्यापार गर्नेहरुलाई प्रेरित गरेको र जङ्गलमा आगजनी र दोहन गर्ने खराब नियत राखेको बताएका छन् ।

अमेजन वाचले विज्ञप्तिमार्फत् बोल्सोनारोको उत्साहटमा किसानहरु कृषिका लागि  डढेलो लगाउन संगठित भएको बताएको थियो । ‘राष्ट्रपति बोल्सोनारो नीतिको गैरजिम्मेवार नीति प्रतिविम्बत भएको छ,’ बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

व्यापारीलाई समर्थन गर्ने बोल्सोनारोले ब्राजिलको वातावरणीय संस्थाको २ करोड ३० लाख अमेरिकी डलर बराबरको बजेट कटौति गरेका थिए ।

एक साता अघि राष्ट्रपतिसँग मनमुटाव भएपछि आइएनपिईका निर्देशक बर्खास्त भएका थिए । निर्देशकले अघिल्लो वर्षको तुलनामा जुन महिनामा ८८ प्रतिशतभन्दा बढीले वन नष्ट भएको तथ्याङ्क प्रस्तुत गरेका थिए । त्यसलाई झुट भएको बोल्सोनारोले बताएका थिए । 

बोल्सोनारोले एकसाता अघि अमेजोन क्षेत्र फडानीमा आफ्नो हात नभएको बताएका थिए । उनले अमेजोनमा भएको डढेलोबारे आफूलाई लगाइएको आरोप खारेज गरेका छन् । उनले रकम अभाव झेलिरहेका गैरनाफामुलक संस्थाले आफू र ब्राजिलियन सरकार विरुद्ध नकारात्मक सन्देश फैलाउन अमेजोनको क्षेत्रको डढेलो कारण बनाएको बताएका थिए ।

यता, गैरकानुनीरुपमा जमिन हडप्न किसानलाई प्रोत्साहित गर्नु र पशुपालकलाई जमिन बिक्री गर्न आगलागी गर्ने कार्यले चुनौति दिइरहेको पोइरिरले बताए । जङ्गल दोहन गर्ने माफिया रोक्ने प्रयास पहिले पनि प्रयास नभएको होइन । तर, त्यो प्रभावकारी हुन सकेको छैन । त्यसलाई प्रतिकार गर्न जनताको कडा प्रतिकार आवश्यक छ ।

यस्तै भइरहे अमेजोनमा ठूलो विपद्तर्फ जाँदैछ । ‘जलवायु परिवर्तनको खराब अवस्था रोक्न अमेजोनको भविष्य अत्यन्त महत्त्वपूर्ण छ,’  पोइरिरले थपे, ‘यो अतिशयोक्ति होइन । अमेजोनमा मात्र होइन, समग्र पृथ्वीका लागि हामीले विनास देखिरहेका छौँ ।’

यो सिएनएनबाट भावानुवाद गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप