शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रसर उद्योगका कारण पुल जीर्ण बन्यो

शनिबार, ०७ भदौ २०७६, १० : ३४
शनिबार, ०७ भदौ २०७६

हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडकखण्डको राप्ती नदीमा पर्ने पुल जीर्ण बन्दै गएको छ । समयमै पुल मर्मत नहुँदा पुलको अधिकांश ठाउँको कालोपत्र उप्किएको छ । पुल निर्माणका लागि प्रयोग गरेका फलामका सामग्रीमा खिया लागेका छन् । 

यसले आवतजावतमा समस्या हुने गरेको स्थानीय भीम ओलीले बताए । “पुलबीचमा खाल्डाखुल्डी छन्, यसले आवतजावतमा समस्या हुने गरेको छ”, उनले भने, “खाल्डा तत्काल पुर्न आवश्यक छ”, पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको उहाँले बताउनुभयो । विसं २०५६ मा निर्माण भएको उक्त पुलको फलाममा खिया लाग्दा समस्या भएको हो । 

नदी किनारका क्रसर उद्योगका कारणले पुल जीर्ण बन्दै गएको उनको भनाइ छ । नदी किनारमा खुलेका क्रसर उद्योगका सवारीसाधन ओहोरदोहोर गर्नुका साथै पुल नजिक हुने अवैध उत्खननले गर्दा पुल जीर्ण अवस्थामा पुगेको स्थानीय अमृत खड्काले बताए । 

“पुलमा क्रसर उद्योगका ठूला–ठूला गाडी आवतजावत गर्छन्”, उनले भने, “पुल नजिकैबाट ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने गरिएको छ, यसले गर्दा पनि पुल जीर्ण बन्दै गएको छ ।”

निर्माण भएको २० वर्ष पुग्नै लाग्दा मर्मतलाई कुनै निकायबाट पहल नभएको गुनासो छ । लमही–कोइलावास सडकअन्तर्गतको उक्त पुलको चौडाइ चार दशमलव २० मिटर छ । पुलमा १८ मेट्रिकटनभन्दा बढी भारवहनको सवारी चलाउन नपाइने प्राविधिकको भनाइ छ । 

पुल हुलाकी सडकअन्तर्गत रहेकाले हुलाकी सडकले मर्मत गर्नुपर्ने सडक डिभिजन दाङका सूचना अधिकारी क्षितिज पोखरेलले जानकारी दिए ।  त्यस्तै दाङको राप्ती लोकमार्गअन्तर्गत बबई नदीको पुल पनि जीर्ण बनेको छ । तुलसीपुर–अमेलिया सडकखण्डको सित्तलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप