शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हाम्रो प्रजातन्त्रमा !

शनिबार, ०७ भदौ २०७६, ११ : ३४
शनिबार, ०७ भदौ २०७६

-बद्री प्रसाद दाहाल   

स्वामी चुन्निनु भो   प्रदेश  तहमा, अर्धाङ्गिनी   सङ्घमा  । 
सम्धी  पुत्रबधू   जुवाइँ भतिजा, छन् सम्झना केन्द्रमा  ।।
जाया छिन्   जनजाति   आर्यन दुला, भेना छ सीमान्तमा ।
छोरी चाकर औ कुवेर  डनमै,  नेतृत्व  घुम्छन् किन ? ।। १ ।। 
प्रज्ञा देन फिटिक्क छैन जसको  !  त्यै हुन्छ रे  बौद्धिक । 
जो कुख्यात भयो त्यही मुलुकको, प्रख्यात रे  मौलिक ।।
छानिन्छन् त यिनै सभा सदनमा,  संस्थानमा दूतमा  ।
पैसामा पद बेच्न किन्न सकिने, हाम्रो प्रजातन्त्रमा ।। २ ।। 

घाँडो  भो गलगाँडझैँ  गण–प्रथा,  हात्ती  छ सङ्घीयता  ।
पाल्नै मस्किल धान्न नै जटिल भो,  भन्छन् यसैका कथा ।। 
सानो देश  असङ्ख्य  सांसद सयौँ, मन्त्री बनाई यहाँ ।
मागी राष्ट्र चलाउनै  सकस  भो,  हाम्रो प्रजातन्त्रमा  ।। ३ ।। 

खेती  मासिन  गै  युवागण  हरे  !  खाडी मलाया पसे । 
कार्खाना जति  लोप भो मुलुकमा,  बेचेर नै सक्किए   ।।
थप्दैछन्  जनमा  करै कर  अहो ! तिर्छन्   कसोरी  यहाँ । 
भत्ता वेतनभक्त नायक बढे,    हाम्रो प्रजातन्त्रमा  ।।  ४ ।। 

दुर्गन्धी पथ  जीर्ण मोटर कुदी, उड्छन्  धुवाँ– धूषर । 
रोगै रोग नयाँ खपेर जनता, बाँच्नै पर्यो मुस्किल ।। 
बण्डावाद  चल्यो सुशासन जल्यो, क्यै छैन उत्पादन ।
धान्ला  देश कसोरी  ?  अस्थिर  सधैँ,  दाता र विप्रेषण ।। ५ ।। 

नौलो देश बनाउने सुसपना , नारा र  झारा  हुँदै —
घोक्रिन्छन् कि  ?  नयाँ फिजीकरणले, आमा पिरिन्छिन् रुँदै ।। 
हा ! नामर्द  कपुत सन्तती  भई, कालो टीका  लाग्छ कि ? 
यो सङ्घीय  कडा   दशा–ग्रह बनी, सङ्कष्टमा जाक्छ कि ? ।। ६ ।।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप