शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् डेङ्गुबाट बच्नका लागि ध्यान दिनुपर्ने कुरा

शनिबार, ०७ भदौ २०७६, १२ : ०१
शनिबार, ०७ भदौ २०७६

अहिले देशको धेरै स्थानमा डेङ्गु संक्रमणको समस्या छ । वैशाख अन्तिम साता धरानको सुनसरीबाट सुरु भएको डेङ्गुको संक्रमण अहिलेसम्म देशका धेरै स्थानमा देखिएको हो । 

 काठमाडौँ, मकवानपुर, चितवन, कास्की, कैलाली, सुनसरी, झापा, मोरङ लगायतका जिल्लाको विभिन्न ठाउँमा डेङ्गुको संक्रमण देखिएको छ । ०७६ यता ३ हजार भन्दा धेरै नागरिकमा डेङ्गुको समस्या देखिएको छ । सरकारी निकायले पुष्टि नगरे पनि अहिलेसम्म २ जनाको निधन भइसकेको बताइन्छ ।

५० लाख भन्दा धेरै नागरिकको बसोबास रहेको काठमाडौँ उपत्यकामा पनि डेङ्गुको संक्रमण फैलिन थालेको छ र समयको नियन्त्रणथर्फ ध्यान नदिने हो भने भयावह रुप लिने चिकित्सकहरुकै चेतावनी छ । डेङ्गु नियन्त्रणमा नागरिक आफैले चासो दिने हो भने पनि खासै समस्या नहुने सम्बन्धित निकायहरुलेनै बताउँदै आइरहेका छन् । 
डेङ्गु कस्तो संक्रमण हो ?कसरी लाग्छ ? र संक्रमित बिरामीले ध्यान दिनुपर्नेलगायतका विषयमा इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाले जानकारी उपलब्ध गराएको छ । 

डेङ्गु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेङ्गुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यस्ता लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ र बर्षातको मौसम सुरु भएपछि डेङ्गु ज्वरो प्रकोप बढ्न थाल्छ । 

यस्तो ठाउँमा बस्छ लामखुट्टे 
घरभित्र, बाहिर, वरिपरि रहेका फुलदानी, गमला, पानीका ट्ंयाकी, पुराना भइ फालिएका गिलास, कचौरा, बट्टाहरु, रंगका खाली डब्बा, प्लाष्टिक, फालिएका टायर, मिनरल वाटरको बोतल अथवा पानी जम्न सक्ने खालका कुनै पनि वस्तुहरु र एकदमै थोरै मात्रामा रहेको पानीमा पनि लामखुट्टेको प्रजनन् तथा विकास भई लामखुट्टेको टोकाइबाट डेङ्गु ज्वरोको प्रकोप फैलिन सक्ने सम्भावना हुन्छ ।

खासगरी शहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले डेङ्गु रोग शहरी क्षेत्रमा देखिदै आएको छ । डेङ्गु रोगबाट बच्न हरेक घर, टोलमा जनचेतना तथा लामखुट्टेका लार्भा र फूल नष्ट गर्न स्वतस्फूर्त रुपमा “खोज र नष्ट गर’’अभियान चलाउनु पर्ने देखिन्छ । 
 

डेङ्गु ज्वरोका लक्षण
एक्कासी ३ देखि ५ दिन सम्म ३९ डिग्री भन्दा बढी ज्वरो आउनु डेङ्गुको मुख्य लक्षण हो । यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्छ । साथै बेस्सरी टाउको दुख्ने, आँखा दुख्ने, शरीरमा डाबरहरु आउने, अरुचि हुन, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने ,पेट तथा आन्द्रामा गडबडी हुने डेङ्गु ज्वरोका लक्षणहरु हुन् । 

केही बिरामीमा भने सुरुमै शरीरभरी खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डिफोर जस्तो डाबरहरु देखिन्छन् । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तस्राव हुने र छालामुनि रक्तस्राव हुने हुन्छ । कालोवर्णको मानिसहरुमा भने डाबरहरु प्रष्ट देखिदैन ।

डेङ्गु ज्वरोका बिरामीले ध्यान दिनुपर्ने कुराहरु 
डेङ्गु ज्वरोका बिरामीले प्रसस्त आराम गर्नुपर्छ । डेङ्गु ज्वरो आइरहदा आफ्नो काम व्यवसायमा व्यस्त हुने भन्दा पनि आराम गर्न आवश्यक हुन्छ । निरन्तरको कामले गर्दा बिरामीलाई झन कमजोर बनाउँछ । 
साथै प्रसस्त झोलिलो खानेखुरा दूध, फलफूलको जुस, जीवनजल आदि जस्तै एक जना वयस्कले पाँच चिया गिलास भन्दा बढीे दिनमा पिउदा स्वास्थ्यलाई राम्रो हुन्छ । 

ज्वरो आएमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने गर्नुपर्छ । यस्तै ज्वरो आएमा घरमै कपडा पानीमा भिजाएर टाउकोमा राखिदिदा वा भिजाएको कपडाले जिउ पुछिरहँदा पनि बिरामीलाई आराम महसुस हुनुका साथै ज्वरो कम पनि हुन्छ । यस्तै डेङ्गुका बिरामीले चिकित्सकको सल्लाहबिना जथाभावी औषधि प्रयोग गर्न हुँदैन ।

डेङ्गु ज्वरोबाट यसरी बच्न सकिन्छ 
डेङ्गुबाट बच्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनुनै राम्रो उपाय हो । लामखुट्टेको टोकाइबाट बच्नको लागि शरीर ढाकिने कपडा लगाउने र मल्हम समेत प्रयोग गर्न सकिन्छ । 

यस्तै  लामखुट्टेको टोकाईबाट बच्न झुलभित्र सुत्ने, घर—वरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउने र झ्याल ढोकामा जाली लगाई बन्द राख्ने गर्नुपर्छ । 

यस्तै घरभित्र र वरिपरि पानी जम्न नदिने, पानी थापेर भाडामा राख्ने हो भने छोपेर राख्ने र टोल, सहर सबै ठाउँमा लामखुट्टेको वृद्धि–विकास हुने वातावरण नै सिर्जना नहुने उपायहरु अबलम्बन गरिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप