शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रिभ्यु : हाइब्रिड प्रविधिमा आधारित सुजुकी एस–क्रस

आइतबार, ०८ भदौ २०७६, ०९ : ५०
आइतबार, ०८ भदौ २०७६

काठमाडौँ । यतिखेर बजारमा नाडा अटो सोको चर्चा सुरु भएको छ । चाडवाडको मौसम सुरु भएसँगै बजारमा अटो सोको पनि चर्चा परिचर्चा सुरु हुन थालेको हो । हरेक वर्ष नेपालीहरुको महान चाड वडा दसैँ र तिहारलाई नै लक्षित गर्दै बृहत् अटो सोको आयोजना गरिँदै आएको छ ।

‘नाडा अटोमोबाइल एसोसियसन अफ नेपाल’ले प्रत्येक वर्ष दसैँकै मुखमा यस्तो बृहत् अटो सोको आयोजना गर्दै आएको छ । यस वर्ष पनि नाडाले बृहत् अटो सो चलाउने गरी मितिसमेत घोषणा गरिसकेको छ । यस पटकको अटो सो भाद्र महिनाको दोस्रो हप्ता गरिने निश्चित भएको छ ।

नाडा अटो सोलाई अटोमोबाइल क्षेत्रकै कुम्भ मेलाको रूपमा लिने गरिन्छ । त्यसो त यस्तो बृहत् अटो मेला नाडाबाहेक नेपालमा कमै हुनेगरेका छन् । त्यसैले गाडी खरिदकर्ता र  बिक्रेताहरुका लागि नाडा अटो सो नै कारोबारको सही विकल्प हुने गरेको छ । यसै मेलामार्फत नेपालमा रहेका र उपलब्ध हुने सबै जसो गाडी, गाडीको ब्रान्ड र मोडलहरु प्रदर्शन गरिन्छ । 

नाडामा कसले के ल्यायो ? के ल्याइँदै छ र विशेष के हुन्छ ? भन्ने विषयले यतिखेर  प्राथमिकता पाउन थालेको छ । यसैको पेरिफेरीमा आज हामी तपार्इंहरुलाई नेपाली अटो बजारमा निकै चलेको र जमेको ब्रान्ड सुजुकीको प्रस्तुतिका बारेमा जानकारी दिँदै छौँ ।

“यस्तो छ, सुजुकी विशेष हाइब्रिड कार मेलाको पहिलो प्राथमिकता”

यस पटक सुजुकीको नाडा विशेष हाइब्रिड कार बन्ने भएको छ । कम्पनीले मेलामा तीन हाइब्रिड कार एस–क्रस, सिआज र आर्टिका उतार्दै छ । यी कार नै मेलाको मुख्य आकर्षणको केन्द्र बन्ने कम्पनीको विश्वास छ ।

तर यी तीन स्मार्ट हाइब्रिड कारमध्ये पनि एस–क्रस नै मेलाको पहिलो रोजाइ बन्ने देखिन्छ । अटो सो टार्गेट गरेर ल्याइएको यो कार मेलामा राम्रै बुकिङ हुने कम्पनीको अपेक्षा छ ।

एस–क्रस

एस–क्रस हाइब्रिड टेक्नोलोजीमा आधारित नयाँ कार हो । यसलाई क्रस ओभर सेग्मेन्टको विशेष कारको रूपमा लिइन्छ । हाल सुजुकीले ल्याएको एस–क्रस १३ सय सीसी इन्जिन क्षमताको डिजेल कार हो । यसलाई हाइब्रिडको प्रिमियम सेग्मेन्ट कारका रूपमा पनि हेर्ने गरिन्छ ।

एस–क्रस सुजुकीकै एक्सएस–फोको क्रस एक्स सेग्मेन्टबाट उत्पादित कार हो ।

यो कार भारतीय बजारमा सन् २०१५ मा नै सार्वजनिक भएको थियो । तर नेपालमा भने ढिला गरी भर्खर मात्र आएको छ । जुन नाडा अटो सोमा प्रदर्शन गरिँदै छ ।

के छ विशेषता ?

मूलतः एस–क्रस हाइब्रिड प्रिमियम कार हो । यसलाई आरामदायी र फेमिलियर कारको रूपमा लिन सकिन्छ । ५ सिट क्षमतामा उपलब्ध यो कार लामो यात्राका लागि समेत निकै आरामदायी छ । त्यसो त कार हाइब्रिड भएकैले इन्धन बचतमा समेत अब्बल मानिएको छ । एस–क्रसले सरदर प्रतिलिटर २५.१ किलोमिटरसम्मको उच्च माइलेज दिन्छ । जुन यही सेग्मेन्टको अन्य कारहरुले दिँदैनन् ।

फिचर्स

कारमा इन्फोटेन्टमेन्ट सिस्टममा एन्ड्रोइड एप्पल कार प्ले सिस्टम उपलब्ध गराइएको छ, जुन पहिले आएका सुजुकीकै कारहरु बलेनो, डिजायर, ब्रेजा लगायतका कारमा पनि उपलब्ध थियो । जुन कारको ड्यास बोर्डमै टच स्क्रिनमा उपलब्ध छ । यसका साथै ब्लुटुथ कनेक्टिभिटी, जीपीएस लोकेसन ट्र्याकिङ सिस्टम, एफएम अडियो भिजुवलसमेत स्क्रिनमै उपलब्ध गराइएको छ ।

त्यस्तै कारमा अटोमेटिक क्लाइमेट चेन्ज सिस्टमसहित रेन सेन्सर वाइपरसमेत उपलब्ध छ ।

कारको अन अफ स्मार्ट की मार्फत रिमोटबाटै हुन्छ । एस–क्रसको अर्को विशेषता भनेको ट्राफिक जाममा वा ट्राफिक लाइटमा आफै स्टार्ट अफ हुन्छ । क्लज लिनेवित्तिकै स्टार्ट हुन्छ ।

लुक्स

एस–क्रस निकै आक्रमक देखिन्छ । हेर्दै प्रिमियम लाग्ने यस कारको बोल्ड डिजाइन छ । अगाडिको भागको र पछाडिको भागको डिजाइन निकै कलात्मक लाग्छ । त्यस्तै, कारको माथिल्लो भागको स्लोप पनि आकर्ष नै छ ।

अगाडिको ग्रिल, क्रुम कभरसहितको एलईडी प्रोजेक्टर हेड ल्याम्पसहितको डे रनिङ लाइट लगायतका साजसज्जाले कारको लुक्स अझ आकर्षक र मनमोहक बनाएको छ । जति कारको आउटेरिअर आकर्षक छ उति नै एस–क्रसको इन्टरिअर समेत उत्कृष्ट देखिन्छ । प्रयाप्त स्पेस सहितको ५ सिट, त्यसमा पनि लग्जरी लेदर सिटले कारलाई अझ प्रिमियम बनाएको छ ।

सुरक्षा

एस–क्रसमा डुअल फ्रन्ट एयरब्याग उपलब्ध छ । कारमा ईबीडीको साथमा एबीएस सुविधाहरू समेत उपलब्ध गराइएको छ । कारमा १६ इन्चको एलो ह्विल प्रयोग गरिएको छ भने १८० एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसले सामान्य अफ रोडमा समेत कारलाई सहजै ड्राइभ गर्न सकिन्छ । यता सहज र खुल्ला रोडमा भने कारलाई उच्चतम २२० प्रतिघटाको गतिमा कुदाउन सकिन्छ ।

सबै कुराले विशेष रहेको हाइब्रिड एस–क्रसको मूल्य भारतीय बजारमा ८ लाखदेखि ११ लाख ५० हजार भारुसम्म पर्छ । तर यता नेपालमा भने औपचारिक रूपमा सार्वजनिक नभइसकेको यो कारको मूल्य ४८ लाख ९९ हजार रूपैयाँसम्म पर्न सक्ने कम्पनीले बताएको छ ।  

के हो हाइब्रिड कार ?

यतिखेर बजारमा हाइब्रिड कारकै चर्चा छ । कसैले यसलाई इलेक्ट्रिक अर्थात् विद्युतीय कारका रूपमा बुझेका छन् त कसैले यसलाई हाई टेक्नोलोजीको कारका रूपमा बुझेका छन् । बजारमा हाइब्रिड बारे सबैको आआफ्नै धारणा छ ।

हाइब्रिड नयाँ र उच्च टेक्नोलोजीयुक्त कार भने अवश्य हो । टेक्नोलोजीले कारलाई उन्नत अर्थात् हाइब्रिड बनाएको छ । यस अघिसम्म बजारमा कि त पेट्रोलियम कार कि त विद्युतीय कार आइरहेको थियो । तर अहिले यी दुवैको समिश्रणबाट भिन्न कार उत्पादन गरिएको छ । पेट्रोलियम पदार्थ र ब्याट्री पावरको साझेदारीमा कार चल्छ । तर विद्युतीय कारको ब्याट्री चार्जका लागि विद्युत आवश्यक परेजस्तै हाइब्रिड कारका लागि कुनै चार्जको आवश्यक पर्दैन । कार चल्दा अफै ब्याट्री चार्ज हुन्छ ।

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप