शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमाथि छिमेकी नजरः भारतपछि चिनियाँ विदेशमन्त्री आउँदै

पाकिस्तानी विदेशमन्त्रीको पनि नेपाल भ्रमण गर्ने इच्छा
आइतबार, ०८ भदौ २०७६, १४ : १९
आइतबार, ०८ भदौ २०७६

काठमाडौँ । यतिबेला छिमेकी राष्ट्र चीन, भारत र पाकिस्तानको ध्यान नेपालतिर देखिएको छ ।

भारतका विदेश मन्त्री एस.जयशंकर दुई दिने नेपाल भ्रमण सकाएर फर्किसकेका छन् । उनी लगत्तै चीनका विदेश मन्त्री वाङ यी आउने तयारी गरिरहेका छन् । यता, पाकिस्तानका विदेश मन्त्री मखदुम साह महमुद कुरेसीले पनि नेपाल भ्रमणको इच्छा देखाएका छन् ।

यद्यपि पाकिस्तानी विदेश मन्त्री कुरेसीले नेपाल भ्रमणको ‘ग्रीन सिग्नल’ पाइसकेका छैनन् । उनले कश्मीर मुद्दाका विषयमा कुरा गर्नका लागि नेपाल आउन इच्छा देखाएका छन् । नेपाल भने उक्त मुद्दामा कुरा गर्न अनिच्छुक देखिएको छ । त्यसैले उनको भ्रमणको बारेमा नेपालले निर्णय गरिनसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

भारतीय विदेश मन्त्री जयशंकरले नेपालमै रहेको बेला पाकिस्तानी विदेश मन्त्री कुरेसीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई फोन गरेर कश्मीरको मुद्दामा बोल्न आग्रह गरेका थिए ।

एस.जयशंकरले नेपाल रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग कश्मीर मुद्दाको बारेमा छलफल गरेका थिए । सो कुराको जानकारी पाकिस्तानले थाहा पाएपछि कुरेशीले पनि तत्कालै फोन गरेका थिए ।

परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्, ‘भारत–पाकिस्तानको मुद्दामा नेपालले अहिले कुने रिश्क लिने अवस्थामा छैन । यसको बारेमा विस्तृत अध्ययन गरेर मात्र नेपालले बोल्ने छ ।’

यता, चीनको विदेश मन्त्री यी भने नेपाल आउने लगभग पक्का भएको छ । सेप्टेम्बर १५ मा उनी दुई दिनका लागि नेपाल आउन लागेका हुन् । तर यो कुरालाई अहिले नेपाल र चीन दुवैले गोप्य राखेको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले चिनियाँ विदेश मन्त्री यी को नेपाल भ्रमणको बारेमा हालसम्म नेपाललाई कुनै जानकारी नआएको बताए । ‘कुनै जानकारी आए सञ्चारमाध्यमलाई जानकारी गराउने छौँ,’ उनले भने ।

यता, चिनियाँ राजदूतावासका एक अधिकारीले पनि विदेश मन्त्री आउने कुरा आफूहरुले मिडियाबाट थाहा पाएको भन्दै अहिलेसम्म त्यसबारे कुनै आधिकारीक जानकारी नआएको बताए ।

तर परराष्ट्र मन्त्रालय स्रोत भन्छ, ‘चिनियाँ विदेश मन्त्री यी नेपाल आउने विषयमा आन्तरिक तयारी शुरु भएको छ ।’ चिनियाँ राष्ट्रपति सी जिङ पिङले गर्ने नेपाल भ्रमणको तयारीका लागि विदेश मन्त्री यी आउन लागेको बताइन्छ ।

चिनियाँ राष्ट्रपति सीले अक्टोबर ११ मा भारतको भ्रमण गर्ने तयारी गरेका छन् । यसलाई पनि आधिकारीक रुपमा कसैले बाहिर ल्याएका छैनन् । भारतको भ्रमण सकाएर नेपाल हुँदै चीन फर्किने कार्यक्रमको तयारी भइरहेको छ ।

सीको भ्रमणको तयारी कै लागि चिनियाँ विदेश मन्त्री यी नेपाल आउन लागेको स्रोतको भनाइ छ । सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ यसैगरि नेपाल आएका थिए । तर त्यतिबेला नेपालले ठोस तयारी नगर्दा चिनियाँ पक्षले गुनासो प्रकट गरेको थियो ।

यसपाली चिनियाँ राष्ट्रपति सीको भ्रमणका लागि राम्रो तयारी गर्न चिनियाँ पक्षको दवाव रहेको छ ।

राष्ट्रपति सी वनारस होइन, मदरास जाने

राष्ट्रपति सीले भारतको वनारस भ्रमण गर्ने तयारी भइरहेको थियो तर सुरक्षाको कारण देखाउँदै भारतको मदरास भ्रमण गर्ने तयारी गरिएको छ । सुरक्षाको हिसाबले भारत उत्तर प्रदेशको वनारस निकै संवेदनशील मानिन्छ ।

राष्ट्रपति सीको वनारस भ्रमणको तयारीका लागि चिनियाँहरुले वनारसको विभिन्न दृष्टिकोणले अध्ययन गरेको थियो । सो अध्ययनमा सुरक्षाको दृष्टिकोणले सुरक्षित नरहेको देखिएको बताइएको छ । भारतमा आपराधिक घटनाक्रमको हिसाबले उत्तर प्रदेश बदनाम ठाउँ हो । त्यहाँ तिब्बतीहरुको पनि चहलपहल निकै छ ।

राष्ट्रपति सी आउने भएपछि चहल पहल अझै बढ्ने आँकलन चिनियाँ पक्षले गरेको छ । सोही आधारमा वनारसको सट्टा मदरास भ्रमण गर्ने तयारी भइरहेको चिनियाँ राजदूतावास स्रोतले जनाएको छ ।

मदरासमा चिनियाँ लगानीमा थुप्रै उद्योगहरु सञ्चालन भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप