शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टीकापुर नरसंहारको ४ वर्ष : त्रासकै कारण जग्गा किनबेचमा मन्दी, नयाँ मान्छे बसाइँ सरेर आएनन्

सोमबार, ०९ भदौ २०७६, १० : १७
सोमबार, ०९ भदौ २०७६

मदन ढुङ्गाना/टङ्क कुँवर

२०७१ सालसम्म कैलालीको टीकापुर धेरैजसो अछामीहरुको पहिलो गन्तव्य थियो । अछाम जिल्लाबाट बसाइँ सरेर तराई झर्न चाहनेहरुले सुनेको र जानेको नाम नै टीकापुर थियो । अधिकांश मानिस बसाइँ सर्नुपर्दा टीकापुरमै आउने गर्दथे ।

टीकापुर सहरीकरणतर्फ उन्मुख हुँदै गर्दा र राम्रो ‘टाउन प्लानिङ’ भएको कारण पनि टीकापुर धेरैको रोजाइको सहर थियो ।

राम्रो क्याम्पस र विश्वविद्यालयसमेत भएको स्थान भएपछि शिक्षाको कारणले पनि राम्रो स्थान मानिन्थ्यो । अझ बर्दियाका केही भूभाग र टीकापुर वरिपरिका मानिसहरु सामान किनमेल गर्न पनि टीकापुर नै आउने भएकाले टीकापुर धेरैको रोजाइ थियो । टीकापुरमा बसाइँ सराइको दर बढिरहेको थियो ।

टीकापुरमा सुदूरपश्चिमका पहाडी ७ जिल्ला र कर्णाली प्रदेशका दैलेख लगायतका केही जिल्लाबाट मानिसहरु बसाइँ सरेर आउने गर्दथे । पछिल्लो समय टीकापुरमा अछाम, दैलेख, दार्जुला, डोटी, बाजुरा, बैतडी, बझाङलगायत जिल्लाको मानिसहरु बसाइँ सराइ गरेर आउने गरेका थिए ।

२०६५ सालदेखिको तथ्याङ्क हेर्ने हो भने पनि टीकापुरमा बसाइँ सराइ गरेर आउनेहरुको सङ्ख्यामा वृद्धि भइरहेको थियो । तर जब २०६८ सालपछि अखण्ड सुदूरपश्चिम र थारुवानको बीचमा द्वन्द्व सुरु भयो, त्यसपछि भने टीकापुरको चमकमा परिवर्तन आएको छ । आर्थिक वर्ष २०६९/७० मा ५ हजार १ सय ३० पटक जग्गाको किनबेच भएकामा जब टीकापुरमा ८ जनाको हत्या भयो, त्यो वर्ष टीकापुरमा जम्मा ३ हजार ७ सय ८१ पटक मात्रै जग्गाको किनबेच भएको छ ।

यस्तो छ १० वर्षको ग्राफ

 

टीकापुरमा २०६० सालदेखि अछाम लगायतका जिल्लाबाट मानिसहरु अत्यधिकरुपमा बसाइँ सराइ गरेर आउन थालेका हुन् । २०६५ सालदेखि २०७५ सम्मको १० वर्षको तथ्याङ्क हेर्दा २०७० सालबाट टीकापुरमा जग्गाको कारोबारमा कमी आएको देखिन्छ ।

आर्थिक वर्ष २०६५/६६ मा ३ हजार १ सय २४ पटक जग्गाको किनबेच भएको छ ।

आर्थिक वर्ष २०६६/६७ मा ३ हजार १ सयबाट बढेर ४४ हजार नाघेको छ । यस आर्थिक वर्षमा ४ हजार ५० पटक टीकापुरमा जग्गाको किनबेच भएको छ ।

त्यसपछि आर्थिक वर्ष २०६७/६८ मा आइपुग्दा त्यो सङ्ख्यामा फेरि वृद्धि आएको छ । त्यस आर्थिक वर्षमा टीकापुर क्षेत्रमा मात्रै ४ हजार ८ सय २५ पटक जग्गाको किनबेच भएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०६८/६९ मा पनि जग्गा खरिदबिक्रीको चापमा खासै फरक आएको छैन । यस आर्थिक वर्षमा ४ हजार ७ सय ८८ पटक जग्गा खरिद बिक्री भएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०६९/७० मा जग्गा खरिदबिक्रीको चाप झनै बढेको छ । यस वर्ष टीकापुर क्षेत्रमा ५ हजार १ सय ३० पटक जग्गाको कारोबार भएको छ । यस आर्थिक वर्षमा जग्गाको मूल्य पनि प्रतिकठ्ठा करिब १० लाखको हाराहारीमा पुगेको थियो ।

२०७१ सालमा थरुहट आन्दोलन र अखण्ड सुदूरपश्चिमको द्वन्द्व पनि झनै चर्कन थालेको थियो । त्यसपछि भने जग्गा खरिदबिक्रीमा केही कमी आएको देखिन्छ । यस आर्थिक वर्षमा टीकापुरक्षेत्रमा ४ हजार ५ सय ९४ पटक जग्गाको कारोबार भएको छ ।

जग्गाको मूल्य भने केही बढेर प्रतिकठ्ठा करिब १२ लाख पुगेको थियो ।


आर्थिक वर्ष २०७१/७२ मा आइपुग्दा आन्दोलन झन् झन् चर्कन थालेको थियो । जसका कारण टीकापुर ‘अशान्त’ बनिदिँदा जग्गा किनबेचमा झनै कमी आएको छ । यस आर्थिक वर्षमा टीकापुर क्षेत्रमा ४ हजार ८२ पटक जग्गा किनबेच भएको छ ।

तर जब २०७२ सालमा टीकापुरमा थारु समुदायको आन्दोलनको दौरान प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ जनाको हत्या भयो, त्यसपछि त्रस्त बनेको टीकापुरमा नयाँ मान्छे आउन चाहेको देखिँदैन । यस आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७२/७३ मा जम्मा ३ हजार ७ सय ८१ पटक जग्गाको किनबेच भएको देखिन्छ ।

टीकापुर नरसंहारको एक वर्षपछि टीकापुरको जग्गा किनबेचमा केही चुस्तता आएको देखिन्छ । आर्थिक वर्ष २०७३/७४ मा टीकापुरमा ४ हजार २ सय ४५ पटक जग्गाको कारोबार भएको देखिन्छ । यद्यपि जग्गाको मूल्य भने यथावत रहेको देखिन्छ ।

घटनाको एक वर्षपछि पनि मानिसहरुमा त्रास कायमै भएपछि आर्थिक वर्ष २०७४/७५ मा आइपुग्दा फेरि टीकापुरमा जग्गाको किनबेच घटेको देखिन्छ । यस आर्थिक वर्षमा जम्मा ३ हजार ७ सय ८६ पटक जग्गाको कारोबार भएको देखिन्छ ।

आर्थिक वर्ष २०७५/७६ मा आइपुग्दा त्यो सङ्ख्यामा केही वृद्धि भए पनि जग्गाको मूल्य भने स्थिर जस्तै रहेको छ । यस आर्थिक वर्षमा टीकापुरमा ३ हजार ९ सय ८ पटक जग्गाको कारोबार भएको देखिन्छ ।

मालपोत कार्यालय टीकापुरका खरिदार प्रेम सिंहका अनुसार अहिले जग्गाको कारोबारमा ज्यादै कमी आएको छ । सिंहका अनुसार केही कारण कित्ताकाटमा अंकुश भए पनि प्रमुख कारण भने मानिसहरुको मनमा अझै त्रास कायम रहनु नै हो । अहिले टीकापुरमा बसिरहेका केहीबीच जग्गाको किनबेच भए पनि नयाँ मानिस बसाइँ सरेर भने टीकापुरमा खासै आएका छैनन् । अछाम, दैलेख लगायतका मानिसहरु अहिले लम्की वा अत्तरियातिर बसाइँ सर्न थालेका छन् भने टीकापुरमै रहेका ठूला व्यवसायी पनि टीकापुर छाडेर अन्यत्र बसाइँ सर्न थालेका छन् ।

जग्गाको मूल्यकै कुरा गर्ने हो भने पछिल्लो ४ वर्षमा त्यहाँ जग्गाको मूल्यमा वृद्धि भएको छैन । सरकारले जग्गाको राजस्वको दरमा परिवर्तन गरे पनि व्यावहारिक रूपमा जग्गाको मूल्यमा भने परिवर्तन आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप