शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवल–नारायणगढ सडकखण्ड विस्तारको ५ महिना :  कसरी हुँदैछ काम ?

५५ हजार रुख एकैसाथ काटिने
सोमबार, ०९ भदौ २०७६, १६ : २९
सोमबार, ०९ भदौ २०७६

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ महिनाअघि शिलान्यास गरेको बुटवल–नारायाणढ सडक खण्ड शिलान्यास गरेको अहिले पाँच महिना पुगेको छ । फास्ट ट्र्याकमा काम गर्ने प्रधानमन्त्रीको चाहानासँगै १ सय १४ किलोमिटर दूरीको बुटवल–नारायणगढ सडकखण्ड स्तरोन्नतिको काम सुरु भएको हो ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरसनले गत पुस ४ गते बुटवल–नारायाणढ सडक विस्तार आयोजनाको ठेक्का लिए पनि औपचारिक काम भने चैत ८ बाट मात्रै सुरु भएको हो । गत चैत ८ गते बुटवलमा भव्य कार्यक्रम गरी प्रधानमन्त्री केपी ओलीले सडक विस्तार आयोजनाको शिलान्यास गरेका थिए ।

अहिले आयोजनाको काम दुई भागमा विभाजन गरेर नवलपरासीको गैँडाकोट बर्दघाटमा कार्यालय स्थापना गरी काम सुरु जारी राखिएको छ । जसअन्तर्गत सडक विस्तारका लागि आसपासका रुख काट्नुपर्ने भएपछि त्यसको प्रक्रिया पुर्याउन फाइल वन मन्त्रालयमा पुगेको छ ।

यस्तै विद्युतको पोल विस्तारको तयारी पनि भइरहेको छ । सडक विभागका महानिर्देशक केशव शर्माले विगत झन्डै ६ महिनाको अवधिमा नदेखिने काम धेरै भएको बताए । उनले सम्झौता गरेका ठेकेदारले सामग्री राख्ने ठाउँ, रुख काट्नको लागि लागत सङ्कलन, विद्युतको पोल सार्र्ने, खानेपानीको पाइप हटाउने लगायतका कामका लागि प्रक्रिया चलिरहेको रातोपाटीलाई बताए । ‘नदेखिने धेरै काम  भएका छन्, अब फिल्डमा देखिने काम चाँडै सुरु हुन्छन्’ महानिर्देशक शर्माले भने । 

५५ हजार रुख एकैसाथ काटिने

१ सय १४ किलोमिटर दूरीको बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा  ५५ हजार रुख काट्नुपर्नेछ । बुटवल र नारायणगढको बीचमा धेरै जङ्गल क्षेत्र पर्ने भएका कारण यति धेरै रुखहरु काट्नुपरेको हो । सडक विस्तार आयोजनाका कन्सल्टेन्ट इन्जिनियर अयोध्या श्रेष्ठले रातोपाटीसँग भने, ‘रूख काट्न र विद्युतका पोल सार्ने काम भइरहको छ । विद्युत पोल रहने स्थानको २ मिटर नजिकका रुखका हाँगासमेत काट्नुपर्ने भएकाले सङ्ख्यागत रूपमा धेरै रूख काट्नुपर्ने भएको हो । रुख काट्न वन मन्त्रलायमा पुगेको फाइल स्वकृति प्रदान गर्नासाथ रुख काट्न थालिनेछ ।’

दुईवटा प्याकेजमा विस्तार गर्न सडक निर्देशनालयले प्रविधिक रूपमा पास भएका कम्पनीको आर्थिक प्रस्ताव खोलिसक्नुका साथै विद्युतका पोल सार्न लाग्ने लागत विद्युत प्राधिकरणमा बुझाइसकेको छ । 

सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का पाउने नियम रहेकाले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरसनले नै दुवै प्याकेजमा ठेक्का सम्झौता गरेको हो ।

एउटै प्याकेजमा काम गर्दा निर्माण ढिलो हुने भएकाले दुईवटा प्याकेज बनाएको आयोजनले जनाएको छ । पहिलो प्याकेज नारायणगढदेखि दाउन्नेसम्म ६३ किलोमिटर दूरी छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेज ६२ किलोमिटर प्याकेज अन्तर्गत निर्माण गरिनेछ ।

यस्तो छ ठेक्का सम्झौता

यो सडक विस्तारका लागि विभिन्न ९ वटा कम्पनी प्रतिस्प्रर्धामा सहभागी भएकामध्ये चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का पाएको हो । दुईवटा प्याकेज बनाए पनि खासमा ठेकेदार चाहिँ एउटै हो ।

प्याकेज–१ मा ९ अर्ब १३ करोड रूपैयाँमा स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्काको प्रस्ताव गरेको थियो । सडक निर्माण गरेको १ वर्षसम्म सडकको मर्मत सम्भार ठेक्का लिने कम्पनीले नै गर्नुपर्ने व्यवस्था भए पनि बुटवल नारायणगढ सडकखण्डको भने मर्मत सम्भारको काम ५ वर्षसम्म ठेकेदार कम्पनीले नै गर्नेगरी सम्झौता गरिएको छ । यस्तै प्याकेज–२ अन्तर्गतको ठेक्कामा सबैभन्दा कम कबोलेको ७ अर्ब ८६ करोड रूपैयाँको आर्थिक प्रस्ताव परेको छ  । सडक विभागका महानिर्देशक इन्जिनियर शर्माले अन्यभन्दा फरक अभ्यास गर्न यो सडकबाट ५ वर्षसम्म मर्मत गर्ने अभ्यास सुरु गर्न लागिएको बताए ।

अब यस्तो बन्नेछ सडक

अहिले बुटवलबाट नारायणगढसम्म पुग्न तीन घण्टा लाग्छ । यो सडक विस्तारसँगै कम्तीमा १ घण्टा ३० देखि ५० मिनेटभित्रै पुग्न सकिने आयोजनाको दाबी छ ।

अहिले नारायणगढ बुटवल सडकखण्ड दुई लेनको छ, जसलाई विभागले ४ लेनको बनाउने छ । यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन झण्डै १६ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरेको थियो ।

सडकको दुई दुई लेनको बीचको भागमा ‘ग्रिनरी’का लागि खालि ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोप्ने तयारी छ । विस्तारित सडक दुईतर्फ नै ७, ७ मिटरको हुनेछ । योजनाअनुसार काम भए बुटवल नारायणगढ सडक विकसित देशका सडकजस्तै हुने सरकारको दाबी छ ।

सडकखण्डको छेउमा रहेका बस्तीका लागि ‘सर्भिस लेन’ निर्माण गरिने सडक विभागको भनाइ छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडक हो ।

२८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यसको चौडाइ ७ मिटरको हुनेछ । इन्जिनियर शर्माले नेपालका अन्य राजमार्गका सडकभन्दा बुटवल नारायणगढ सडक फरक बन्ने बताए । उनले भने, ‘जसले यात्रुलाई सहज मात्र हुुने छैन, राजमार्ग क्षेत्रमा सहरी सौन्दर्य पनि बढ्नेछ । बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ ।’

तर बुटवल–नारायणगढ खण्ड पूरै भाग ४ लेनको भने हुनेछैन । दाउन्नेको उकालो र ओरालो झण्डै १२ किलोमिटर सडक ३ लेनको मात्रै हुनेछ । त्यहाँको भौगोलिक र प्राकृतिक अवस्थाले चार लेन बनाउन सम्भव नभएको विभागको भनाइ छ । जसमा ३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिने छ ।

यस्तै दाउन्ने पहाडमा ८ किलोमिटर सडक डबल लेनको मात्रै हुनेछ । उक्त आठ किलोमिटरमा  फुटपाथ र साइकल लेनसमेत राखिने गरी रिपोर्ट बनाइएको छ ।

महेन्द्रदेखि ओलीसम्मको साइनो

२०१८ सालमा तत्कालीन राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग बनाएर महेन्द्र राजमार्ग नामकरण गरिएको हो । यो राजमार्ग बनाउँदा सुरुमा भारत, रुस र बेलायतको सहयोग लिइएको थियो । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने नारायणगढ– बुटवल सडकखण्ड भने बेलायत सरकारको सहयोगमा निर्माण भएको हो । इन्जिनियर जयलाल मरासेनीका अनुसार राजा महेन्द्रका पालामा निमार्ण भएको नारायणगढ– बुटवल सडक खण्ड बेलायत सरकारले निर्माण गरेको लामो समयसम्म पनि मर्मत उसैले गरेको थियो । त्यसबेला सडकका डिभाइडर पनि बेलायती मोडलकै थिए । हाल यस सडकलाई जङ्गल क्षेत्रममा ६ लेन र बस्तीमा ४ लेन बनाउन लागिएको छ ।

नेपालका पूर्वराजा महेन्द्र वीरविक्रम शाहले २०१८ सालमा नवलपरासीको गैंडाकोटमा यो राजमार्गको शिलान्यास गरेपछि ‘महेन्द्र राजमार्ग’ नामकरण गरिएको थियो । विस्तारको शिलान्यास प्रधानमन्त्री ओलीले  ७५ चैत ८ गते बुटवलमा शिलान्यास गरेका थिए । देशमा गणतन्त्र आएपछि राजमार्गको ‘महेन्द्र’ नाम हटाएर ‘पूर्व–पश्चिम’ राजमार्ग कायम गरिएको छ । अहिले सडक आयोजनाको कूल लागत १५ अर्ब रूपैयाँ रहेको छ । जसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ । बाँकी थप रकम नेपाल सरकारकै हुनेछ । सम्झौताअनुसार यो सडकको स्तरोन्नति २०८० साउन २२ गतेसम्म सकिसक्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप