शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोदीले सुरु गरे, हामी अन्त्य गर्नेछौंः पाकिस्तान

बुधबार, ११ भदौ २०७६, ०७ : ५७
बुधबार, ११ भदौ २०७६

पाकिस्तानले एक पटक पुनः भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गर्दैछ । यसको घोषणा पाकिस्तानका विज्ञान तथा प्राविधि मन्त्री फवाद हुसैन चौधरीले गरेका हुन् ।

चौधरीले पाकिस्तानले आफ्नो हवाई क्षेत्र पूर्ण रुपमा भारतका लागि बन्द गर्ने बारे विचार गरिरहेको जानकारी दिएका छन् । अफगानिस्तानसँग व्यापार गर्न भारतले पाकिस्तानको जमिनको पनि प्रयोग गरिरहेकाले यसमाथि पनि प्रतिबन्ध लगाइने उनले जानकारी दिए । कानूनी औपचारिकता पूरा हुने क्रममा भएकाले यसलाई चाँडै नै कार्यान्वयन गरिने उनले बताए ।

फवाद हुसैन चौधरीले लेखेका छन्, ‘प्रधानमन्त्रीले भारतका लागि पाकिस्तानी हवाई क्षेत्र पूर्ण रुपमा प्रतिबन्ध लगाउने बारे विचार गरिरहेका छन् । यसका साथै अफगानिस्तानसँगको व्यापारका लागि भारतले पाकिस्तानी रुटको प्रयोग गर्छ र यसमाथि पनि प्रतिबन्ध लगाउने कुरा मन्त्रीपरिषदको बैठकमा उठेको छ । केही कानूनी औपचारिकता बाँकी छ । यो निर्णय विचाराधीन छ । मोदीले सुरु गरेका छन् र हामी अन्त्य गर्नेछौं ।’

फवादको यो बयान पाकिस्तानी प्रधानमन्त्री इमरान खानको राष्ट्रको नाममा सम्बोधन पछि आएको हो । इमरानले आफ्नो सम्बोधनमा पाकिस्तान कश्मीरको विषयमा चुप नलाग्ने बताएका थिए ।

यद्यपि, फवाद चौधरीको बयानमाथि भारतमा पाकिस्तानका उच्चायुक्त रहेका अब्दुल बासितले निशाना साँधेका छन् । बासितले ट्वीटरमा लेखेका छन्, ‘यस्ता कुराको निर्णय अघि नै तपाईंले किन सार्वजनिक गरिरहनु भएको छ ? यो मूर्ख राजनीति र लापरवाही कुटनीतिको पहिचान हो ।’

५ अगस्टमा भारतले जम्मू–कश्मीरको संवैधानिक स्वयत्तता समाप्त गर्ने घोषणा गरेको थियो । यो निर्णयले पाकिस्तान रुष्ट छ र यसविरुद्ध संसारको हरेक मञ्चमा विरोध गरिरहेको छ । यसैको प्रतिक्रियामा पाकिस्तानले भारतसँग व्यवसायिक र कुटनीतिक सम्बन्ध तोडेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप