शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्धिको ‘भ्यु टावर’

बुधबार, ११ भदौ २०७६, ११ : ५८
बुधबार, ११ भदौ २०७६

गत साउन २९ गते कान्तिपुर दैनिकको शीर्ष समाचारको शीर्षक थियो– ‘प्रधानमन्त्रीको समृद्धि सपना : दमकमा मात्रै दर्जन परियोजना’

कुनै पनि प्रधानमन्त्रीले आफ्नो गृह जिल्ला एवं निर्वाचन क्षेत्रमा धेरै विकासे योजनाहरु पार्नु कुनै नौलो कुुरा भने होइन । यद्यपि सिंहदरबारको सिंहासनमा बसेर समृद्धिको भाष्य निर्माण गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित विकासका परियोजनाहरुमा बजेट खन्याउँदै गर्दा ती परियोजना कस्ता छन् ? तिनीहरु कहाँ केन्द्रित छन् ? तिनले आम नागरिकको जीवनमा कतिको प्रभाव पार्छ ? उनीहरुको दैनिकीमा कसरी सुधार हुन्छ ? राष्ट्रिय अर्थतन्त्रमा कस्तो योगदान गर्छ ? कति मात्रामा रोजगारी सिर्जना हुन्छ र कति उत्पादन बढ्छ ? यी यावत पक्षहरु नकेलाउनु चाहिँ गलत हो ।

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका राष्ट्रिय महत्त्वका ठानिएका ठूला परियोजनाहरुको मिमांस गर्दै कान्तिपुर लेख्छ– दमकमा मात्रै बुद्धमूर्ति बनाउन १५ अर्ब, भ्यु टावर बनाउन ३ अर्ब, विज्ञान पार्क बनाउन २ अर्ब, सडक बनाउन २ अर्ब, पुलहरु बनाउन १ अर्ब ३७ करोड छुट्याइएको छ । यी लगायत अन्य ससाना परियोजनामध्ये झण्डै २४ अर्बको परियोजना प्रधानमन्त्रीको गृहनगर दमकमा मात्रै प्रबन्ध गरिएको छ ।

के यी परियोजनाहरुले राष्ट्रिय उत्पादनमै प्रभाव पार्ने हैसियत राख्छन् ? बुद्ध मूर्ति निर्माण गर्नु, भ्यु टावर, पार्क इत्यादि बनाउनमा अर्बौं खर्च गरिनु एक हिसाबले भन्ने हो भने स्रोत साधानको गलत प्रयोग हो । २४ अर्ब सानो रकम हैन । प्रत्येक वर्ष वैदेशिक ऋण थपिइरहेको अवस्थामा आधारभूत बाहेकका अन्य मनोरञ्जनात्मक क्षेत्रहरुमा अनावश्यक बजेट खर्चिइनु भनेको राज्यको ढुकुटीको अपचलन नै हो । प्रत्येक नेपालीले जन्मिँदै ४० हजारको ऋण बोक्नुपर्ने यथार्थता र हाम्रो निम्न स्तरको उत्पादनबीच यस्ता अनुत्पादक क्षेत्रमा ठूलो धनराशि खर्चिइनु कसरी सही हुन सक्छ ?

अहिले सरकारी ‘समृद्धि’को सङ्कथनले राजनीतिक बजार रापिलो छ । गाउँघरदेखि सहरबजारका चोक गल्ली, पुस्तक पसलदेखि रासन पसलसम्म, सरकारी अड्डादेखि व्यापारिक मलसम्म,  चिया चौतारीदेखि भट्टी दोकानसम्म विकास र समृद्धिकै पैरवी चलेको छ । झन् दुई तिहाइ बहुमतको सरकार बनेपछि त समृद्धिका लयात्मक र काव्यात्मक प्रस्तुतिको ग्रन्थ नै बनिसकेको छ । विकास र समृद्धिका कुरा अब छरपस्टै भए, त्यसैले आवरणमा अब यसको व्याख्या जरुरी देखिएन ।

*****

अब कुरा गरौँ समृद्धिको । समृद्धि न त गाउँघरका कुना कन्दरामा डोजर चढेरै पुग्छ, न त तराईका फाँटहरुमा निर्माण गरिने भ्यु टावरबाटै देखिन्छ । यो व्यक्तिको अनुहारमा अभिव्यक्त हुने खुसीको सूचक हो । यसका केही अन्तरवस्तुहरु छन् ।

 

*****

गाउँघरतिर बेलगाम पहाड खोस्रिरहेका समृद्धिका डोजरहरुले वातावरणी सन्तुलन त बिगारेका छन् नै । त्यस्ता हचुवाका भरमा खनिएका बाटाहरुका कारण कैयौँ गाउँमा पहिरोको सन्त्रास बढेको छ । यसै वर्ष पहाडका धेरै ठाउँमा पहिरो गयो । पहिरोमा परी धेरै जनधनको क्षति पनि भयो । अनि धेरै गाउँहरु पहिरोको जोखिममा परेका समाचार आइरहेका छन् । पहिरोलाई केवल प्राकृतिक प्रकोपका रूपमा मात्र लिएर हुँदैन । त्यसको जोखिम बढाउने काममा मानवीय कार्यले पनि उत्तिकै भूमिका खेलेको छ । हामीले बिना कुनै इन्जिनियरिङ मापदण्ड कमजोर र नाजुक पहाडका डाँडाकाँडातिर डोजर दौडाउँदाको परिणाम पनि हो पहिरोको जोखिम ।

तर समृद्धिको डोजर बेरोकतोक चलेकै छ । यसरी खनिएका सडकहरुमा न त मोटरगाडी गुड्छन् न त बर्खापछि तिनको नापनक्सा नै कायम रहन्छ । अनि फेरि हिउँद लागेसँगै पुरानो नापनक्सा खोतल्दै डोजरको बिगबिगी सुरु हुन्छ । यसरी हामीले निकै ठूलो धनराशि प्रत्येक वर्ष हाम्रा सुन्दर डाँडाकाँडाहरु खोतल्नमै सकेका छौँ । के यसैगरी आउँछ सरकारी समृद्धि ? उता तराईंका फाँटहरुमा समृद्धिका भ्यु टावरहरु उसैगरी निर्माण हुँदैछन् । मानौँ भ्यु टावर नै हाम्रा सभ्यता हुन्, भ्यु टावर नै समृद्धिका आधार हुन् । भ्यु टावरबिना समृद्धि हेर्नै सकिँदैन !

समृद्धि केवल बाहिरी आवरणमा देखिने भौतिक उपलब्धि मात्र होइन, यो व्यक्तिमा अन्तरनिहित सिर्जनशील क्षमताको प्रस्फुटन र त्यसको बजारीकरण पनि हो । थोरै समय र स्रोतको लगानीबाटै व्यक्तिले आफ्ना आवश्यकताहरु पूरा गर्न सक्नु समृद्धि हो । त्यसैले भौतिक विकाससँगै सामाजिक विकास, आत्मिक विकास, समावेशी विकास, वातावरणीय सन्तुलन र व्यक्तिगत खुसी नै समृद्धिका विषयवस्तुहरु हुन् ।

बाटो, पुलपुलेसा, एयरपोर्ट, जलविद्युत, ठूला ठूला भवन इत्यादि बन्नु र त्यहाँ देखिएको झिलिमिली चकाचौधको अवस्थालाई हामीले विकासको रूपमा ग्रहण गरेका छौँ । अनि यो विकास आउनका लागि राज्य वा दाताहरुले निकै ठूलो लगानी गरेका हुन्छन् । हामीले कसैको सहयोगमा मात्र यस्तो विकास हासिल गर्न सक्छौँ । हो, विकासको सन्दर्भमा हामीले निर्माण गरेको धारणा यस्तै छ । अनि विकाससम्बन्धी हाम्रो ज्ञानको सीमा पनि यही हो ।

जब विकासलाई एक बहुआयामिक उन्नतिको रूपमा लिइन्छ, तब त्यहाँ विचार, संस्कृति र संस्कारको विनिमयको कुरा आउँछ । समाजमा यस्तो बहुआयामिक पक्षहरुको विनिमयको दर जति छिटो हुन्छ, त्यति नै विकासको प्रक्रियाले गति लिन्छ । तर हाम्रो विगतको इतिहास हेर्दा, हामी यो विनिमयको प्रक्रियामा निकै सुस्त भयौँ । परिणामतः हाम्रो विकासको प्रक्रियाले पनि गति लिन सकेन ।

सामाजिक अनुसन्धाता डोरबहादुर विष्टले झण्डै साढे दुई दसक अगाडि नै यो विनिमय प्रक्रियाको बाधक पहिचान गरिसकेको थिए । उनले हाम्रो सामाजिक तथा आर्थिक संरचनाभित्र रहेका सामन्तवादी सांस्कृतिक तथा सामाजिक व्यवहारलाई विकासको बाधक ठानेका थिए । तर, हामीले यो निष्कर्षलाई कहिल्यै स्वीकार गरेनौँ ।

हामीले विकासलाई एक नियमित र गतिशील बहुआयामिक विनिमयको प्रक्रिया कहिल्यै ठानेनौँ । हामीले विकासलाई त कसैले दिने÷दिएको उपहार जस्तो ठान्यौँ । त्यसै अनुसार व्यवहार पनि देखायौँ । त्यसैले इतिहासदेखि अहिलेसम्म हामी विकास मागिरहेका छौँ ।  विकासले आम नागरिकको दैनिकी फेर्नुपर्ने, उनीहरुको जीवन सहज बनाउनुपर्ने, उनीहरुको आयस्तर बढ्नुपर्ने, उनीहरुको जीवनस्तर उकासिनुपर्ने, उनीहरुले सहजै रोजगारी पाउनुपर्ने, कम समय र स्रोतमा आफ्ना आवश्यकता पूरा गर्नुपर्ने यी यावत पक्षहरुलाई हामीले बिर्सिएका छौँ । त्यसैले हाम्रो विकास भँडुवा विकासमा परिणत भएको छ ।

अब कुरा गरौँ समृद्धिको । समृद्धि न त गाउँघरका कुना कन्दरामा डोजर चढेरै पुग्छ, न त तराईका फाँटहरुमा निर्माण गरिने भ्यु टावरबाटै देखिन्छ । यो व्यक्तिको अनुहारमा अभिव्यक्त हुने खुसीको सूचक हो । यसका केही अन्तरवस्तुहरु छन् ।

समृद्धिको पहिलो अन्तरवस्तु हो– पर्याप्त भौतिक पूर्वाधारको निर्माण, उत्पादन र उपभोग । भौतिक पूर्वाधार समृद्धिको हार्डवेयर हो । पर्याप्त मात्रामा पूर्वाधारको विकासले नै उत्पादन र उपभोगको अभिवृद्धिको सुनिश्चितता गर्छ । पूर्वाधारको अवस्थाले नै पुँजी निर्माणको गति निर्धारण गर्छ । पुँजी निर्माणको प्रक्रियाले अर्थतन्त्रको आयतन निर्धारण गर्छ । अर्थतन्त्रको आयतनले विकास र समृद्धिको स्तर निर्धारण हुन्छ । त्यसैले समृद्धिका लागि पूर्वाधार अनि उत्पादन र उपभोगमा बढोत्तरी अनिवार्य आवश्यकता हो ।

*****

ब्रिटिस लेखक तथा राजनीतिज्ञ म्याट रिड्ले ‘विचारहरुको सहवास’ (सेक्स अफ आइडियाज्) लाई नै समृद्धिको साधन ठान्छन् । उनी विचारहरुको सहवासबाटै नयाँ विचारको जन्म हुने र त्यसले समृद्धि ल्याउने तर्क गर्छन् । जति धेरै विचारहरुको समागम हुन्छ, त्यति नै विचारहरुको विनिमय हुन्छ र त्यसले नवीन चिजको जन्म दिन्छ ।

*****

दोस्रो अन्तरवस्तु हो– उत्पादनको न्यायोचित वितरण । भौतिक उत्पादनको वृद्धि र वितरणले मात्रै समृद्धि हासिल हुँदैन । राज्य नागरिकप्रति उत्तरदायी पनि हुनुपर्छ । उत्तरदायी राज्यले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्ने अवस्था सिर्जना गरिदिन्छ । त्यसो गर्नु राज्यको दायित्व हो । किनकि समाजमा सबै सबल र सक्षम हुँदैनन् । कसैले राज्यलाई दिन्छन् त कोही राज्यमै आश्रित पनि हुन सक्छन् । असहाय, वृद्धवृद्धा, केटाकेटीलाई राज्यले यथोचित सम्मानसहित हेर्नुपर्ने हुन्छ । यसका लागि राज्यको धनको न्यायोचित वितरण हुनुपर्छ ।

तेस्रो पक्ष हो– दीर्घकालीन रूपमा स्रोतको सुनिश्चितता र पर्यावरणीय दिगोपना । स्रोत र साधनको उपयोग सन्तान दरसन्तानले पनि गर्न पाउनुपर्छ । यसर्थ विकास र समृद्धि एक अनवरत रूपमा चल्ने प्रक्रिया हो । हामीसँग भएको स्रोत साधन सीमित छ, हुन्छ । त्यसैले स्रोत साधनको संरक्षणसहितको उपयोगले मात्रै दिगोपनाको सुनिश्चितता गर्छ ।

समृद्धिको चौथो अवयव हो– खुसी शास्त्र । पछिल्लो समय मानवीय खुसी एवं सन्तुष्टिलाई उन्नतिको मानक बनाइँदैछ । निश्चय नै भौतिक विकासको अवस्थाले मात्र व्यक्तिमा खुसी आउँदैन । व्यक्ति खुसी र सन्तुष्ट हुनका लागि ऊ तनावरहित हुनुपर्छ । यो व्यक्तिको निजत्वसँग सम्बन्धित पक्ष हो । जब व्यक्तिले आफ्ना आवश्यकताहरु सहजै आपूर्ति गर्ने हैसियत कायम गर्छ र समाजमा आफ्नो पहिचान स्थापित भएको महशुस गर्छ, निश्चय नै व्यक्ति खुसी र सन्तुष्ट हुन्छ ।

समृद्धिको भाष्यलाई अलि सरलीकृत गर्ने हो भने यसको सीधा अर्थ हुन्छ, व्यक्तिको दैनिकीमा आउने सहजता नै समृद्धि हो । अर्थात् हरेक व्यक्तिले कति सहज ढङ्गबाट आफ्ना आवश्यकताहरु पूरा गरेको छ ? कति सहजतापूर्वक जीवनयापन गरेको छ ? कति सहजतापूर्वक समाजमा सम्मानित भएर बाँचेको छ ? यी नै समृद्धिका सूचकाङ्क हुन् । के हाम्रो समृद्धिको सङ्कथनमा यस्ता सूचकाङ्कहरु समावेश भएका छन् ?

ब्रिटिस लेखक तथा राजनीतिज्ञ म्याट रिड्ले ‘विचारहरुको सहवास’ (सेक्स अफ आइडियाज्) लाई नै समृद्धिको साधन ठान्छन् । उनी विचारहरुको सहवासबाटै नयाँ विचारको जन्म हुने र त्यसले समृद्धि ल्याउने तर्क गर्छन् । जति धेरै विचारहरुको समागम हुन्छ, त्यति नै विचारहरुको विनिमय हुन्छ र त्यसले नवीन चिजको जन्म दिन्छ ।

हाम्रै आँखा अगाडि अमेरिका, बेलायत, सिङ्गापुर, मलेसिया र पछिल्लो समयको चीन र भारतले गरेको उन्नतिको पछाडि विचारहरु बीचको समागमले नै महत्त्वपूर्ण भूमिका खेलेको छ । ती देशहरुमा भइरहेका विविध विचार र विविधताबीचको समागमले नै समृद्धिको आधार तय भएको मान्न सकिन्छ । जसरी हामीले दैनिक जीवनमा प्रयोग गर्ने आधुनिक औजारको निर्माणमा लाखौँ मानिसहरुको विचार, मिहिनेत र लगनशीलता अन्तरघुलित छ समृद्धिका लागि पनि त्यस्तै धेरै विविधता बीचको समागम आवश्यक हुन्छ ।

त्यसैले अब एक पटक सोचौँ– के मान्छे नचिन्ने हाम्रा विकासे योजनाहरुले समृद्धि ल्याउला ? हामीले जसरी हिजो विकासको विकृत विम्ब निर्माण गर्यौँ, त्यसैगरी अहिले समृद्धिको विम्बलाई विकृत बनाउँदै छौँ । समृद्धिको सङ्कथनमा यसका हार्डवेयर र सफ्टवेयरलाई गम्भीरतापूर्वक आत्मसात गर्न जरुरी छ । नत्र जसरी ७ दशकको राजनीतिक यात्राले हाम्रो विकासलाई भँडुवा विकासमा परिणत गर्यो त्यसैगरी अबको केही वर्षभित्रै समृद्धिको सपनाको पनि चीरहरण हुनेछ । अनि फेरि राजनीतिकर्मीहरुलाई राजनीति धान्नका लागि अर्को कुनै शब्द व्यूत्पन्न गर्नुपर्ने दुःख आइलाग्ने छ । यसलाई ध्यानमा नराख्ने हो भने समृद्धिको भ्यु टावरले उन्नति हैन आफ्नै अधोगतिको चित्र देखाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनिकर कार्की निवर्तमान
मनिकर कार्की निवर्तमान

Twitter : @nibartaman

[email protected]

लेखकबाट थप