बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको १४ वटा नयाँ शाखाको संयुक्त उद्घाटन

बुधबार, ११ भदौ २०७६, १९ : २४
बुधबार, ११ भदौ २०७६

काठमाडौं– अर्थमन्त्री डा.युबराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५ प्रदेशका १२ जिल्लामा रहेका १४ वटा नयां शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट बुधबार समुद्घाटन गरेका छन् । योसँगै बैंकको शाखा कार्यालयको संख्या २३६ पुगेको छ । 

कार्यक्रममा अर्थमन्त्री डा.युबराज खतिवडाले  पहिलाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरेकोे चर्चा गर्दै थप उत्पादकत्व बृद्धि हुने गरी कार्य गर्नुपर्ने बताए । उनले सामाजिक बैंकिङ्ग सहितको मुनाफा सरकारले बैंकबाट चाहेको बताए । उनले बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने, वित्तीय पहूचको लागि वित्तीय साक्षरता अभियानलाई अगाडि बताउनुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी नीति कार्यक्रमलाई सफल बनाउन रा.वा.बैंक खरो रुपमा उत्रेको बताए । 

राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले समिति स्रोत साधनको अभावमा पनि रा.वा.बै.कले उत्कृष्ठ सेवा सहित सवोत्कृष्ठ मुनाफा गरेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले बैंकिङ्ग प्रविधिलाई आत्मासाथ गरि समग्र बैंकको सुदृढिकरणको लागि क्लिन एण्ड स्मार्ट आरबीबी विथ कन्सोलिडेसन अभियान संचालन गरिरहेको बताए । 

उद्घाटन भएका नयां शाखाहरुमा झापा जिल्लाको वाह्रदशी गाउंपालिका  ४ स्थित शाखा कार्यालय चकचकी, मोरङ्ग जिल्लाको धनपालथान गाउंपालिका ४ स्थित शाखा कार्यालय कर्सिया, काठमाडौं जिल्लाको काठमाडौं म.न.पा.३२ स्थित शाखा कार्यालय कोटेश्वर, कठमाडौं जिल्लाको टोखा न.पा. ७ स्थित शाखा कार्यालय टोखा रहेका छन् ।

त्यस्तै, तनहुं जिल्लाको शुक्लगण्डकी न.पा.वडा नं. ६ स्थित शाखा कार्यालय खैरेनीटार, गुल्मी जिल्लाको कालीगण्डकी गाउंपालिका ४ स्थित शाखा कार्यालय पूर्तिघाट, नवलपुर जिल्लाको देवचुली न.पा. वडा नं. १६ स्थित शाखा कार्यालय टांगीकोट, कपिलबस्तु जिल्लाको शिवराज न.पा.वडा नं. ८ स्थित शाखा कार्यालय चन्द्रौटा, दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित शाखा कार्यालय घोराही छन् ।

त्यस्तै अन्य शाखामा पर्सा जिल्लाको पोखरीया न.पा. वडा नं. ४ स्थित शाखा कार्यालय पोखरीयाबजार, मकवानपुर जिल्लाको भिमफेदी गाउंपालिका ६ स्थित शाखा कार्यालय भिमफेदी, महोत्तरी जिल्लाको बलवा न.पा वडा नं. ६ स्थित शाखा कार्यालय बलवाबजार, रौतहट जिल्लाको चन्द्रपुर न.पा. वडा नं. ४ स्थित शाखा कार्यालय चन्द्रपुर, महोत्तरी जिल्लाको पिपरा गाउंपालिका वडा नं. ४ स्थित शाखा कार्यालय पिपरा रहेका छन् ।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५.५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, १७८ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप