शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालको काममा जनप्रतिनिधिले मागे ‘कमिसन’

शुक्रबार, १३ भदौ २०७६, १६ : ५९
शुक्रबार, १३ भदौ २०७६

जनकपुर । जनकपुरमा सहिद दुर्गानन्द झा अस्पतालको कम्पाउण्ड बाउण्ड्री लगायतका काममा अनियमितता भएको छ ।

नगराइन नगरपालिका वडा नम्बर–२ स्थित जटहीमा १० वर्ष पहिले अस्पतालका लागि छुट्याएको जग्गामा सीमा पर्खाल बनाउने क्रममा ११ लाख रुपैयाँ अनियमितता भएको हो ।

दुर्गानन्द झाको जन्मथलोमा उनकै नाममा अस्पताल निर्माण गर्ने स्थानीयको सपना साकार पार्ने भन्दै ‘सहिद दुर्गानन्द झा कम्पाउण्ड वाल निर्माण उपभोक्ता समिति’ गठन भएको थियो ।

धैर्यु मिश्रको अध्यक्षतामा रहेको ११ सदस्यीय समितिलाई जग्गामा पर्खाल लगाउने, माटो पुर्ने र तीनवटा मुख्य गेट निर्माण गर्न जिम्मेवारी दिइएको थियो ।

तर, समितिले पर्खाल बाउण्ड्रीको काम मात्रै सम्पन्न गरेको छ ।

यस कामका लागि नगराइन नगरपालिकाको सिफारिसमा संसदीय विकास कोषमार्फत ५० लाख रुपैयाँ छुटयाइएको थियो । सो रकमबाट डेढ प्रतिशत कट्टा गरी ४८ लाख ४४ हजार रुपैयाँ जम्मा भएकोमा काम सुरु गर्दाको अवस्थामा समितिले २० लाख ६३ हजार रुपैयाँ समितिको खातामा आएको समितिका कोषाध्यक्ष रोहित चौधरीले बताए । उनका अनुसार कार्य सम्पन्न भएको भन्दै पछि खातामा २७ लाख ८१ हजार रुपैयाँ थपिएको थियो ।

कसरी भयो चलखेल ?

जव समितिको खातामा रकम जम्मा भयो तव जनप्रतिनिधि नै कमिसनको चक्करमा लागे । समितिको खातामा पहिलो चरणमा २० लाख रुपैयाँ आएपछि नगराइन नगरपालिका वडा नम्बर २ का अध्यक्ष देवनारायण यादव लगायतले अप्रत्यक्ष रुपमा बार्गेनिङ गर्न थाले । वडाध्यक्षको बार्गेनिङ शुरु भएपछि समितिका कोषाध्यक्ष रोहित चौधरीले काम सम्पन्न नभएसम्म कुनै किसिमको चलखेल वा रकम बाँडफाँड नहुने भनेपछि गत असार मसान्तमा वडाध्यक्ष देवनारायण यादव, उपभोक्ता समितिका अध्यक्ष धैर्यु मिश्रले केही कर्मचारी र नगरप्रमुख परमेश्वर यादवसँग कुराकानी गरेर अनुगमनको नाटक गरे ।

कामै नभएपनि उनीहरुको मिलेमत्तोमा बाउण्ड्री, मुलद्वारको ढोका र माटो पुर्ने काम सम्पन्न भएको कागजी प्रक्रिया पुरा गर्दै रकम निकासा गराए ।

त्यसपछि शुरु भयो समितिको नाममा मेघा बैङ्कमा रहेको खातामा बाँकी रहेको २७ लाख ८१ हजार रुपैयाँका लागि चलखेल । कोषाध्यक्ष चौधरीलाई वडाध्यक्ष देवनारायण यादवले १० प्रतिशतको ठाउँमा ८ प्रतिशत रकम नगरपालिकाका एक कर्मचारीको नाममा दिन प्रस्ताव गरे । त्यसको अर्को दिन नगराइन नगरपालिका सब इञ्जिनियर उमेश मण्डल घुस सहित रंगेहात अख्तियारको फन्दामा परे । त्यसलगत्तै वडाध्यक्षले कोषध्यक्ष चौधरीलाई नगरपालिकाका कर्मचारी अमृत नारायण मिश्रको नाममा चेक नकाट्न बरु आफ्नै नाममा नगद दिन भनेपछि सो अनुसार रकम उपलब्ध गराएको चौधरीले बताए । ‘८ प्रतिशत करिब साढे ३ लाख रुपैयाँ दिएपछि उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षवीचको मनमुटाव केहि साम्य भयो’ कोषाध्यक्ष चौधरीले बताए ।

तर चौधरीको भनाईप्रति वडाध्यक्ष यादव सहमत छैनन् । आफूमाथि झुठा आरोप लगाइएको भन्दै उनले घुस लिएको वा अधुरो कामलाई पुरै काम भएको भनि रकम भुक्तानि दिन सिफारिस गरेको प्रमाण भए राजिनामा दिन समेत तयार भएको यादवले बताए । उनले निर्माण कार्य पुरा भइसकेपछि मात्रै रकम निकासाका लागि सिफारिस गरेको दावी समेत गरे ।

१७ कठ्ठा जग्गामा अझै २५ मिटर पर्खाल घेराउको काम भएको छैन भने ढोका लगाउने र ६ सय ९७.५ घनमिटर माटो पुर्नुपर्नेमा  अझै ३० घनमिटर माटो पुर्ने काम बाँकी नै छ ।

५० लाख रुपैयाँमध्ये सरकारले लिने गरेको डेढ प्रतिशत कर कट्टा बाहेक ८ प्रतिशत कमिसन र पर्खाल बाउण्ड्रीका लागि ईटा, सिमेन्ट, छड, बालुवा, माटो, तारजाली लगायतको कार्यमा करिब ३४ लाख बराबरको काम भएको कोषाध्यक्ष चौधरीले बताए ।

उनले कार्य सम्पन्न नभएको कार्यलाई नगरपालिकाले अपुरो कार्यलाई कसरी कुन प्रक्रियाले काम सम्पन्न भएको भनि अनुगमन गरी भुक्तानीका लागि सिफारिस गरेको भन्दै प्रश्न समेत गरे ।

खाताको रकमले विवाद निम्त्याउँदै

सहिद दुर्गानन्द झा कम्पाउण्ड वाल निर्माण उपभोक्ता समितिको जनकपुरस्थित मेघा बैङ्कमा अहिले साढे १० लाख रुपैयाँ छ । साढे १० लाख रुपैयाँका लागि बाँडफाँड गर्न समितिका अध्यक्ष धैर्यु मिश्रले पटक–पटक दबाब दिँदै आएको अन्य सदस्यहरुले बताएका छन् । तर कोषाध्यक्ष चौधरी भने काम पुरा नगरी रकम बाँडफाँट नहुने बताउदै आएका छन् ।

अध्यक्ष मिश्रले बाउण्ड्री निर्माण लगायतका काम सम्पन्न भइसकेकाले भनेपनि कोषाध्यक्ष र सचिव रिता कुमारी चौधरीले रकम हिनामिना गर्न सक्ने भन्दै बैङ्कमा खाता नै रोक्का गर्न नगरपालिकाबाट बैङ्कलाई पत्राचार गरेका छन् ।

उपभोक्ता समितिका सचिव रितादेवी चौधरीले पनि ढोका लगाउन, माटो पुर्न र २५ मिटर बाउण्ड्री घेर्ने कार्य बाँकी नै रहेकोले उक्त काम  पुरा गर्न अध्यक्ष मिश्रलाई पटक पटक दवाव दिदै आएको बताइन् ।

स्थानीयवासीको अगुवाई तथा सहभागितामा हुने काममा सरकारले छुट्याएको रकममध्ये १० प्रतिशत लगानी स्थानीयले वेहोर्नुपर्ने हुन्छ  । तर स्थानीयस्तरको लगानी विनै गठन गरिएको उपभोक्ता समितिबाट पनि जनप्रतिनिधिले कमिसन ताकेपछि  काम भन्दा दाम नै अधिकांशले रोज्न चाहेको त होइन भनेर सर्वसाधारणले प्रश्न गरेका छन् m।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र महतोको संसदीय विकास कोषबाट ५० लाख रुपैयाँ रकम सहिद दुर्गानन्द झाको अस्पतालको संरचना निर्माण गर्न छुट्याइएको थियो ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला यो अस्पताल निर्माणका लागि १० करोड रुपैयाँ बजेट छुट्याइएको घोषणा गरेपछि साढे १७ कठ्ठा जग्गामा अत्याधुनिक सुविधायूक्त ५० शैययाको अस्पताल निर्माण गर्ने योजना बनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप