बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गाई र राजालाई बोकेर हिँड्ने राप्रपाले गाई मारेर पाखण्ड देखायोः बाबुराम भट्टराई

शनिबार, १४ भदौ २०७६, १८ : ०१
शनिबार, १४ भदौ २०७६

समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाइरहेको आरोप लगाएका छन् । 

समाजवादी पार्टीको ३ नम्बर प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा भट्टराईले यस्तो आरोप लगाएका हुन् ।

‘राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो, त्यसले तपाईंहरुले देख्नुभयो आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड छ ’, उनले भने, ु ‘सत्तरी वर्षभन्दा पुरानो नेपाली कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिँडिराखेकै छ । झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिष्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ । त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतालाई भ्रम छरिराखेकै छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेको आरोप लगाए ।

‘एउटाले लोकतन्त्रको नाममा जनतालाई ठगिराखेको छ । अर्कोले साम्यवादको नाममा नेताहरुले आफ्नो महल ठड्याएर विभिन्न देशमा परिवारसहित लाखौं खर्च गरेर भ्रमण गरेर बिताएका छन्,’ उनले भने, ‘अर्कोले धर्मको पाखण्ड देखाएर त्यस्तो अपराध गरिरहेका छन् । यस्ता पुराना शक्तिहरुको युग अब समाप्त भयो ।’

अध्यक्ष भट्टराईले नेपाली जनता पुराना दलहरुको पाखण्डबाट मुक्त हुन चाहिरहेको दावी गर्दै समाजवादी पार्टी विकल्प बनेर आएको बताए ।

अध्यक्ष भट्टराई उपस्थित कार्यक्रममा समाजवादी पार्टीले पहिचानमा आधारित पार्टी संचरनाको अभ्यास सुरु गरेको छ । उक्त पार्टीको विधानअनुसार अभ्यास गरिएको पहिचानमा आधारित राष्ट्रिय समितिको अवधारणाअनुरुपको संगठनात्मक संरचनाको अभ्यास सुरु गरेको हो ।

पार्टीको ३ नं प्रदेश समायोजन कार्यदलले आयोजना गरेको कार्यक्रममा ३ नं प्रदेश समिति, नेवाः राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति र शिल्पि विशेष प्रदेश समिति घोषणा गरिएको छ । 

‘संघीयता, सुशासन, समृद्धि र समाजवादलाई मुल लक्ष्य बनाएको समाजवादी पार्टीले पहिचानमा आधारित राष्ट्रिय समितिको अवधारणामा संगठन बनाउने नीति लिएको पार्टीका केन्द्रीय सदस्य रोशन पोखरेलले जानकारी दिए ।

 कार्यक्रमबाट ३ न‌ं प्रदेशको नेतृत्वमा सोनामसिङ स्याङ्तान छानिएका छन् । ११ सदस्यीय सचिवालय समेत बनाइएको प्रदेश पार्टीको मुख्यसचिवमा मोहन बराइली चयन भएका छन् ।

 नेवाः राष्ट्रिय समितिको अध्यक्षमा मनरत्न शाक्यले जिम्मेवारी पाएका छन् । ताम्सालिङ राष्ट्रिय समितिको अध्यक्षमा कृष्णकुमार घलान र मुख्यसचिवमा वीरबहादुर तामाङले जिम्मेवारी पाएका छन् ।

 त्यसैगरी शेर्पालुङ राष्ट्रिय समन्वय समितिको संयोजकमा दावा छिरिङ शेर्पाले जिम्मेवारी पाएका छन् । उनी तत्कालीन संघीय समाजवादी फोरमका नेता हुन् । तत्कालीन नयाँ शक्तिबाट नेतृत्व छनौट भइनसकेको जनाइएको छ ।

 शिल्पि विशेष प्रदेश समितिको संयोजक दलमर्दन कामी र दानबहादुर नेपाली मुख्यसचिव बनेका छन् । समाजवादी नेवाः संघमा अध्यक्षमा सत्यनारायण डंगोल र महासचिवमा सुरेश खड्गी चयन भएका छन् ।

समायोजन कार्यक्रममा अतिथिमा वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष नवराज सुवेदी लगायतका नेताहरु उपस्थित रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप