शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ढाड र घुँडाको दुखाइ यसरी कम गर्न सकिन्छ

आइतबार, १५ भदौ २०७६, ११ : ०६
आइतबार, १५ भदौ २०७६

काठमाडौँ । उमेर बढ्दै गएपछि शरीरका विभिन्न भागमा दुखाइका समस्या आउन थाल्छन् । आजकाल ढाड तथा घुँडा दुखाइको समस्या सबैको साझा समस्या बन्न थालेको छ । उमेरका आधारमा देखिने यस्ता समस्या सबै उमेरको नागरिकमा देखिनुमा दैनिक जीवनयापन, खानपान, आधुनिक जीवनशैली र बसाइ मुख्य कारक मानिन थालिएको छ ।

समयमा नै सामान्य कुरालाई ख्याल गर्न सकेको खण्डमा यस्ता समस्याबाट बच्न सकिन्छ । ढाड तथा घुँडा दुखाइका कारण, नागरिकले उपनाउनुपर्ने उपाय, उपचार लगायतको बारेमा  आज सिभिल अस्पतालका एनेस्थेसिया विभाग प्रमुख एनेस्थेसियोलोजिस्ट डा. अनुज रायमाझीले जानकारी गराएका छन् । 

ढाड दुखाइको समस्या कस्ता व्यक्तिमा देखिन्छ ? 
ढाड दुखाइको समस्या आउने प्रमुख कारण उमेर हो । ५० –६० वर्ष उमेर बढ्दै गएपछि समस्या देखिन्छ । त्यो बाहेक भारी बोक्ने, मोटरसाइकल, ल्यापटप, मोबाइल चलाउने र एकै ठाउँमा धेरै समय बस्ने व्यक्तिमा यस्ता समस्या देखिन्छन् । तर हामीमा ढाड दुखाइको समस्या बोकेर आउने भनेको बढ्दो उमेर भएका व्यक्तिमा आउने समस्या हो । 

तर पछिल्लो समय यस्ता समस्या सबै उमेरको व्यक्तिमा पाइन्छन् नि ? 
हर्मोनको कमीले, मांसपशी (मसल्स) हरू कमजोर हुँदा पनि अन्य उमेरका व्यक्तिहरूमा पनि ढाड दुखाइको समस्या देखिन्छ । युवा उमेरमा पनि मोटरसाइकल चलाउने, ल्यापटब चलाउने, मोबाइल धेरै चलाउने व्यक्तिको घाँटी अगाडि तन्किन्छ । यस्तो अवस्थामा दुखाइको बढ्न सक्छ । घाँटीलाई सिधा राख्नुपर्ने हुन्छ । ढाडलाई पछाडि राख्नुपर्ने हुन्छ । शरीरका सबै अङ्गहरूलाई सहज रूपमा राख्नुपर्ने हुन्छ । तर मोबाइल, ल्यापटप, मोटरसाइकल चलाउँदा शरीरका यी भाग सिधा अगाडि ल्याउने गरिन्छ । यस्तो हुँदा शरीरको एकातिरको मंसापेशी कमजोर हुँदै जान्छ भने अर्काेतिरको मांसपेशीले  धेरै काम गर्न  खोज्छ । मांसपेशी लचकदार हुनुपर्छ । तर यस्ता विभिन्न कारणले मांसपेशीमा समस्या हुँदै गएपछि लचकदार तथा तन्किन छोड्छ र सारो ढिक्का जस्तो हुन्छ । त्यसले गर्दा ढाड दुख्ने, शरीरका विभिन्न भागमा दुखाइ बढ्ने समस्या आउँछन् ।

यस्ता समस्या हुन नदिने के गर्ने ? 
 व्यायम सबैभन्दा राम्रो उपाय हो । ल्यापटपमा बसेर काम गर्नुपर्ने बाध्यता हुन्छ । त्यस्तो हो भने बिहान उठेर १० मिनेट घाँटीको व्यायम गर्न सकिन्छ । साथै दैनिक व्यायम गर्ने हो भने शारीरिक रूपमा स्वास्थ रहन सकिन्छ । राम्रो स्वास्थ्यवद्र्धक खानेकुरा खाने । धूमपान, मध्यपान नगर्नु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ भने ढाड तथा घुँडा दुखाइका सवालमा पनि यो कुरा लागू हुन्छन् । शरीरको नसाहरूका लागि यस्ता अस्वास्थ्यकर खानेकुराले झनै असर गर्दै जान्छ । 

अर्काे कुरा कम्प्युटरमा काम गर्दा धेरै व्यक्ति अगाडि झुकेर काम गरिरहेको हुन्छ । तर हाम्रो शरीरमा पछाडी र अगाडि दुवै भागमा मासु छ । पछाडिको मासुको पनि धेरै दायित्व छ । अगाडि मात्रै झुक्दा ढाड दुख्ने समस्या हुन्छ । त्यसैले बिहान उठ्दा पछाडिको हड्डी र मासुलाई सामान्य एक्सरसाइज गर्ने हो भने पनि ढाड दुखाइका धेरै समस्या कम गर्न सकिन्छ । टेबलमा बसेर नियमित काम गरेका छौँ भने बेलाबेलामा उठेर शरीरलाई चलयमान बनाउने, तन्काउने गर्दा पनि समस्या कम देखिन सक्छ ।  

उपचार विधि केके हुन सक्छन् ? 
ढाड दुखाइ रोगका कारणले पनि हुन सक्छ । तर अस्पतालमा आउनेमध्ये झण्डै ८० प्रतिशत समस्या   भने बढ्दो उमेर र बस्ने तरिका नमिल्दा आउने समस्याहरू हुन् । उपचारको विधिको पहिलो कुरा भन्नु पर्दा व्यायम अथवा फिजियोथेरापी गर्ने, औषधि खान सकिन्छ । यदि ढाडको नसा च्यापिएका, घुँडा खिइएको हो भने इन्जेक्सनको माध्ययमबाट नसा मार्ने पीआरपी थेरापीबाट उपचार गर्न सकिन्छ । पीआरपी थेरापीले जुन ठाउँमा थेरापी गरियो, त्यही ठाउँमा दुखाइ कम गर्छ । जस्तै कपाल नभएको व्यक्तिमा पनि पीआरपी थेरापी प्रयोग गर्दा कपाल पलाउँछ । त्यसरी नै घुँडा खिइएको बिरामीलाई सुरुवातको अवस्थामा नै पीआरपी थेरापी गर्दा राम्रो हुन्छ । सामान्य जीवनयापन, फिजियोथेरापी, इन्जेक्सन र त्यो अवस्थाबाट पनि शरीरको दुखाइ कम भएन भने मात्रै सर्जरी गर्छाैं र यसरी क्रमबद्ध रूपमा जान्छौँ । यो सिभिल अस्पताले गर्ने उपचार प्रक्रिया हो ।
इक्जेक्सन कुन कुन अवस्थामा प्रयोग गर्न सकिन्छ ?
ढाड दुखाइमा मांसपेशी दुखेको छ । फिजियोथेरापी गर्दा पनि निको भएन भने इन्जेक्सन प्रयोग गर्न सकिन्छ । मांसपेशी मकजोर छन्, फिजियो गर्दा पनि फेरि दुख्न थाल्यो भने मांसपेशी बलियो बनाउनका लागि इन्जेक्सन मार्फत उपचार गर्न सकिन्छ । शरीरका नसाहरू च्यापिएका खण्डमा इन्जेक्सन प्रयोग गर्न सकिन्छ । घुँडाको दुखाइमा भने पहिलो र दोस्रो अवस्थामा इन्जेक्सन लगाउन सकिन्छ । इन्जेक्सनको कुरा गर्ने हो भने ३ हजार देखि ४५ सयसम्म पर्छ । पटक पटक इन्जेक्सन लगाउनु पर्ने अवस्था छ भने त्यही अनुसारको शुल्क राखेका हुन्छौँ ।  

ढाड दुखाइको सवालमा अप्रेसनबाट शतप्रतिशत निको हुन्छ भन्ने छैन । कसैलाई निको हुन्छ भने कसैलाई अप्रेसन गरेको २, ३ वर्षमा पनि फेरि समस्या देखिन थाल्छ । तर दुखाइका लागि भने अप्रेसन नगर्दा नै राम्रो हुन्छ । अप्रेसनपछि जति रिजल्ट पाउनुपर्ने हो त्यति पाउन सकिँदैैन । तर कुनै कुनै यस्तो अवस्था हुन्छ जुन अवस्थामा भने अप्रेसन नै राम्रो मानिन्छ । ढाडको इन्जेक्सनका कुरा गर्ने हो भने एक पटक लगाएपछि सधँै निको पनि हुन सक्छ नहुन पनि सक्छ । नसा कति च्यापिएको छ भन्ने कुरा बिरामीको उमेरअनुसार भरपर्ने हुन्छ ।

ढाडको इन्जेक्सनको केसमा उपचारपछि शतप्रतिशत निको हुन्छ भन्ने हुँदैन । यस्तो सवालमा ५० प्रतिशत बिरामीको पनि भूमिका हुन्छ ।  ढाड दुखाइको मुख्य कारण भने बसाइ र उमेरको कारण हुन्छ । त्यसको उपचार पहिलो नम्बरमा फिजियोथेरापी नै हो । बिरामीले कतिको फिजियो गर्नुहुन्छ । चिकित्सकले गर्न हुने र नहुने कुराको मान्नु भएको छ भन्ने कुरामा भर पर्छ । यदि चिकित्सकको सुझावलाई मान्नुभएको छ भने एउटा इन्जेक्सन लगाएपछि निको हुन्छ । जीवनयापन, खानपान, व्यायम जस्ता कुरालाई मुख्य ध्यान दिनुपर्छ । तर धेरै ठाउँमा ढाडको नसा च्यापिएको छ भने दुई, तीनवटा इन्जेक्सन पनि लगाउनुपर्ने हुन्छ र फेरि अर्काे पटक पनि लगाउनुपर्ने अवस्था पनि आउन सक्छ । हामीले दुखाइलाई कम गराउने हो भने अन्य कुरा बिरामी आफैले ध्यान दिनुपर्ने हुन्छ । घुँडाको दुखाइमा पनि हिँड्दा भर्याङ प्रयोग गर्ने, भारी बोक्दा भर्याङ प्रयोग नगर्ने, भर्याङ चढ्दा हातको सहयोग लियौँ भने समस्या कम हुन्छ । 

यस्ता समस्यालाई कम गर्न कस्ता कुरामा ध्यान दिनुपर्छ ? 
उमेरको कारणले आउने ढाड दुखाइ र घुँडा दुखाइको समस्या समाधानका लागि खासै उपाए त छैन । तर मांसपेशीको कारणले, मासु कमजोर भएको नसा च्यापिएर दुखेको समस्यामा भने ढाड, खुट्टाको व्यायम, फिजियोथेरापीहरू गर्दाखेरी आउन सक्ने समस्या कम हुन सक्छ । जीवनयापन सहज हुन्छ र धेरै महँगो उपचारमा जानुपर्दैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप