बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भेरी नगरपालिकाका प्रमुखको सपनाः देशकै नम्बर एक नगरपालिका बनाउँछु

शनिबार, ०३ असार २०७४, १६ : ५६
शनिबार, ०३ असार २०७४

अखिलको विद्यार्थीबाट राजनीति सुरु गरी विद्यार्थीको केन्द्रीय सदस्य हुदै सचिवालय सदस्य र विदेश विभागको प्रमुख भएका चन्द्रप्रकाश घर्ती दुर्गम जिल्ला जाजरकोटको भेरी नगरपालिकाका प्रमुखको कार्यभार सम्हालेका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचनमा चार हजार २ सय ९२ मत ल्याएर घर्ती नगरको प्रमुख भएका हुन् । 

काठमाडौको पुतलीसडकमा भेटिएका ३५ वर्षीय घर्तीको अनुहार जति विजयपछि उज्योलो भएको छ, त्यति नै मनमा अबको ५ वर्षमा जनताले दिएको मतको सम्मान कसरी गर्ने भन्ने चिन्ता देखिन्छ । 

राजनीति गर्नुअघि सामाजिक कार्यकर्ता

युवा भएरमात्र नभई आफूलाई र आफ्नो पार्टीलाई विश्वास गरेर जिताएको उनको विश्वास छ । माओवादीको बाहुल्यता मानिएको जाजरकोटमा एमालेले चुनाव जित्नु सहज थिएन । चुनाव जित्न जति असहज थियो त्यति नै असज थियो पार्टीबाट टिकट पाउन । तर उनलाई पार्टीले विश्वास ग¥र्यो र टिकट दियो । उनी  टिकट पाएपछि मात्र होइन, पहिला नै गाउँघर र टोलटोलमा राजनीतिक र सामाजिक कार्यकर्ताको रुपमा काम गरेका थिए । त्यहि काम गरेको कारण अहिले चुनाव जित्न सहज भएको उनको बुझाइ छ । 

अखिलको राजनीति गरेका घर्तीले आन्तरिक चुनाव धेरै लडेको अनुभव छ । तर संसदीय चुनावको भने उनको यो पहिलो अनुभव थियो । उनले यो अनुभव पनि शेयर गरे । भन्छन् ‘यो संसदीय राजनीतिमा चुनाव लड्न धेरै समस्या हुँदो रहेछ । हामी कम्युनिष्टहरुकालागि त यो फलामको चिउरा नै रहेछ । जबसम्म आममतदाता शिक्षित हुदैनन्, तबसम्म यो संसदीय चुनाव सबैकालागि सहज हुन सक्दैन । धेरै खर्चिलो र भड्किलो छ । यसलाई अहिलेबाट नै सुधार्नु पर्छ ।’
उनले आफूले मत माग्न भन्दा पनि व्यवस्थापनमा समस्या बढी आउने अनुभव गरेको बताए । ‘अहिले चुनावलाई कयौले फेशनको रुपमा बुझ्ने गरेका छन्’, उनी भन्छन् ‘चुनाव भनेको समाज, देश र नागरिकको भाग्य र भविश्यसंग गाँसिएको कुरा हो भन्ने जबसम्म आम मतदातालाई आत्मादेखि नै महशुस हँुदैन तवसम्म यो चुनाव उम्मेदारको मात्र हुनेछ ।’

चुनाव जितेपछि थपिएको  जिम्मेवारी

उनले चुनाव जितेपछि जिम्मेवारी थपिएको मात्र होइन । जिम्मेवारी पूरा गर्ने जिम्मा पनि आफूमा आएको बताए । उनले जाजरकोटको सदरमुकाममा रहेको नगरपालिका भएपनि त्यहाँका समस्याकाबारेमा बेलिविस्तार नै लगाए । उनी  समस्या मात्र गनेर बसेका छैनन् । ती समस्या समाधान गर्ने खाकापनि कोरेर बसेका छन् । यो पाँच वर्षमा उनले भेरी नगरपालिकाका समस्याहरुलाई विभिन्न भागमा बाँडेर त्यसको समाधान गर्ने योजना बुनेका छन् । 
उनी भन्छन् ‘म सुरुमा नै यस्तो गर्छु उस्तो गर्छु भन्दैन । मैले चुनावको समयमा मतदाताहरुसँग केहि प्रतिबद्धता जाहेर गरेको छु । त्यो पूरा गर्छु ।’ यसको लागि दुई किसिमले काम गर्ने उनी सुनाउँछन् । उनले पहिले तत्काल पूरा गर्नुंपर्ने काम हो– खानेपानीको समस्या । बजार क्षेत्रमा पानीको समस्या छ । अन्य वडाहरुमा पनि समस्या छन् । 

यस्तै, विद्युतको केन्द्रीय प्रशारण लाइन अहिलेसम्म सदरमुकाममा पनि जोडिएको छैन । यसकालागि काम सुरु गरिसकेका छन् । साना जलविद्युत आयोजना भएपनि सदरमुकाममा सधैं विजुलीको समस्या हुन्छ । यो समस्या छिटै हल गर्ने नगरप्रमुखको योजना छ । 

चन्द्रप्रकाशको आँखामा जाजरकोटको तस्विर  

चन्द्रप्रकाश बोल्दा बोल्दै काठमाडौंबाट जाजरकोट नै पुगेको भान हुन्छ । उनी काठमाडौमा बोल्दा पनि जाजरकोटको तस्वीर आँखामा बोकेर हिड्छन् । भन्छन्– ‘चुनाव जितेपछि कयौं रात सुत्न सकेको छैन । सधैं नगरपालिकालाई कसरी राम्रो बनाउनेमात्र सोंच्छु । कसरी त्यहाँका आम नागरिकहरुलाई सेवा सुविधा सर्वसुलभ रुपमा दिने भनेर विभिन्न योजना बनाउँछु ।
 
आफ्नो नगरपालिकामा यातायातको असुृविधा छ । यो काम पनि आफूले युद्धस्तरमा गर्नुपर्ने जिम्मेवारी आएको बताउँछन् । सडक संजालले छोएको छ । तर पनि भेरी नगरपालिकाका हरेक वडामा सडक सञ्जालले नछोएकाले त्यो काम पूरा गर्ने योजना बुनेका छन् । 

शिक्षा र स्वास्थ्यको समस्या जटिल

भेरी नगरपालिकामा शिक्षा र स्वास्थ्य अर्को समस्या हो । नगरमा शिक्षा र स्वास्थ्यमा विशेष महत्वका साथ नयाँ योजना ल्याउने उनको सोँचाइ छ ।  उनी भन्छन्– ‘जाजरकोटमा अहिलेसम्म जुन रुपमा शिक्षाको विकास र स्वास्थ्यको विकास भएको छ त्यो अपुग छ ।’ जिल्लामा रहेको एउटा अस्पताल भेरी नगरपालिकामा नै पर्छ । यसको स्तर हेर्ने हो भने एउटा विमारीको उपचार गर्न आएको विमारी अर्को विमारी बोकेर घर फर्किनुपर्ने बाध्यता छ । त्यसैले यो अस्पतालाई भौतिक पूर्वाधार र आधुनिक मेशिनहरुसहितको अस्पताल बनाउने उनको योजना छ । अस्पतालमा डाक्टरको दरबन्दी त छ तर डाक्टर नभएकाले  तुरुन्त यसको ब्यवस्था गर्ने उनको योजना छ ।  धेरै नागरिकले अज्ञात रोगका कारण ज्यान गुमाउने जिल्ला हो, जाजरकोट । अब औषधि उपचार नपाएर कसैले ज्यान गुमाउनु नपर्ने गरी स्वास्थ्यमा काम गर्ने उनको योजना छ । 

उनी अनुहार चहकिलो बनाउदै भन्छन्– ‘शिक्षाको स्तरमा सुधार गर्नु पहिलो काम हो । भएका सामुदायिक स्कुलहरुको स्तरउन्नति गर्न शिक्षामन्त्रालय र सम्बन्धित निकायसँग सहकार्य गरेर जान्छु । प्राविधिक शिक्षाको आवश्यकता छ । यसकालागि पहल गर्ने चन्द्रप्रकाश बताउँछन् । जिल्लाको लागि नै हुने गरी एउटा प्राविधिक शिक्षा लिने विद्यालय खोल्ने पनि उनको योजना छ । 

‘कृषिमा आधुनिकिकरण नगरेर अब सुख्खै्र छैन । यो समयमा पनि हामीहरु जिवन निर्वाहमुखि कुषिमा अल्झेर बस्यौ भने अगाडि बढ्नै सक्दैनौं’, उनी भन्छन्, ‘भेरी नगरपालिकालाई खाद्यमा आत्मनिर्भर बनाउने काम अगाडि बढाउछु । यसका लागि आधुनिक कृषि सामग्री,मल बिउविजन,सिचाइको व्यवस्था गर्नु पर्नेछ । यसकोलागि मेरो पहिलो प्राथमिकता रहने छ ।’ भन्छन्– कृषिलाई आधुनिकीकरणको साथै तरकारी खेति, फलफूल खेतिमा पनि त्यहाँका मान्छेहरुलाई आकर्षित गर्नेछु । यसकालागि पनि नगरपालिकामा पूर्वाधारहरु बनाउनु पर्छ । 

भेरी नगरपालिकामा पर्यटनको संभावना छैन । तरपनि केहि धार्मिकस्थलहरु छन् । यिनलाई आन्तरिक पर्यटकीयस्थल बनाउन सक्ने सम्भावना छन् । जाजरकोटी राजाको पुरानो दरबारको भग्नावेश छ । यसलाई पनि पर्यटकियस्थल बनाउन सकिन्छ । मालिका र कालिका मन्दिर छन् । यो मन्दिर जिल्लामा प्रसिद्ध छ । यसमा केवलकारको अवधारणा ल्याउन सकिने उनी बताउँछन् । 

जिल्ला सदरमुकाम भेरी नदीको किनारमा छ । यसमा हाइड्रोपावर बनाउन सकिन्छ । यो बनाउनलाई नगरपालिका मात्र होइन पुरा जिल्ला र अन्य सम्बन्धित निकायसँग सहकार्य गरेर जान सकिन्छ । यसकालागि म नै पहल गर्नेछु । –उनी भन्छन् । उनले कुराको बिट मार्दा काठमाडौका सडकमा मान्छेको चाप नै पातलो भइ सकेको थियो । तर उनको अनुहारको चाप भने शब्द शब्दमा बढी थियो । उनको अनुहारमा नगरपालिकाको योजना नै बढी देखिन्थ्यो ।छुट्टिदै गर्दा चन्द्रप्रकाश घर्तीले भने– सर, जाजरकोटको सदरमुकामको नगरपालिका भएपनि धेरै समस्या छन् । तर म हार मार्ने छै्रन । देशको नम्बर एक नगरपालिका बनाउने मेरो सपना पूरा गर्नेछु । 

- प्रस्तुतिः कृष्ण गिरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप