शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपामा अध्यक्ष र महासचिवलाई ‘बाहुबली’ बनाउने कसरत !

मङ्गलबार, १७ भदौ २०७६, १४ : १२
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौँ– २०७६ भदौ १३ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्तरपार्टी निर्देशन–२ जारी गर्यो । २०७५ जेठ १६ मा जारी भएको अन्तरपार्टी निर्देशन–१ मा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर थियो । तर अन्तरपार्टी निर्देशिका–२ मा एक जना अध्यक्ष प्रचण्डको मात्र हस्ताक्षर छ । किनभने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष उपचारका लागि सिङ्गापुर गएका बेला यो निर्देशिका जारी भएको छ ।

नेकपाले अन्तरपार्टी निर्देशन–१ र विशेष परिपत्र १, २, ३ र ४ पछि अन्तरपार्टी निर्देशन–२ जारी गरेको हो । तर पार्टी एकताको १५ महिनापछि जारी १७ पेज लामो अन्तरपार्टी निर्देशिका–२ मा पार्टीका निर्णयसँगै अध्यक्षहरु र महासचिवको कामबारे उल्लेख विषयले नेकपाभित्र नयाँ बहस सुरु गरेको छ ।

अन्तरपार्टी निर्देशन–२ को पेज १६ मा ‘अध्यक्ष तथा महासचिवको जिम्मेवारी’ शीर्षकमा लेखिएको छ, ‘अध्यक्ष कमरेडहरुले पार्टी विधानको धारा १८ ‘झ’ बमोजिम समग्र पार्टीलाई नेतृत्व गर्नुहुनेछ । त्यसैगरी महासचिव कमरेडले पार्टी विधानको धारा १८ ‘ट’ बमोजिमको जिम्मेवारी निर्वाह गर्नु हुनेछ ।’


१५ महिना अगाडि नै बनेको नेकपाको अन्तरिम विधान–२०७५ ले स्पष्ट रूपमा किटान गरेको अध्यक्ष र महासचिवको भूमिका अचानक अन्तरपार्टी निर्देशन–२ मा किन जोडतोडले उठाइयो ? अहिले नेकपाभित्र यही प्रश्नले प्रवेश पाएको छ । यस विषयमा आ–आफ्नो सुविधा अनुसार नेताहरुको विश्लेषण छ ।

अध्यक्ष र महासचिवको भूमिका अचानक अन्तरपार्टी निर्देशिका–२ मा किन जोडतोड उठाइएका कारणभन्दा पहिला विधानले किटान गरेका कामलाई जान्न जरुरी हुन्छ । पार्टी विधानको धारा १८ ‘झ’मा अध्यक्षको काम–कर्तव्य छ ।

‘केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठकको अध्यक्षता गर्ने, पार्टीका प्रमुख नेताका रूपमा समग्र पार्टीको नेतृत्व गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, पार्टीका नीति तथा केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका निर्णयहरूको कार्यान्वयन गर्ने गराउने ।’

विधानमा थप उल्लेख छ, ‘पार्टी विधानको कार्यान्वयन गर्ने गराउने, केन्द्रीय कमिटीका तर्फबाट राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीले तोकेका अन्य कार्यहरू गर्ने, आगामी एकता महाधिवेशनसम्मका लागि दुई अध्यक्षले आलोपालो अध्यक्षता गर्नेछन् र अध्यक्षता गर्ने अध्यक्षको बरियता पहिलो हुनेछ र आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनेछ ।’

यस्तै पार्टी विधानको धारा १८ ‘ट’ मा महासचिवको कामबारे उल्लेख छ ।

विधानमा भनिएको छ, ‘अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र राष्ट्रिय परिषद् बैठकको कर्यसूची तयार गर्ने र बैठक बोलाउने, अध्यक्षको परामर्शमा पार्टीका नीति–निर्णयको कार्यान्वयनका लागि कार्ययोजना तयार गरी केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीसमक्ष प्रस्तुत गर्ने, केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीका बैठकमा सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने, अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीका निर्णयहरू कार्यान्वयन गर्ने गराउने र केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीले तोकेका अन्य काम गर्ने ।’

किन आयो यस्तो विषय अन्तरपार्टी निर्देशन–२ मा ?

पार्टी अध्यक्षहरु र महासचिवको भूमिका अन्तरपार्टी निर्देशिकामा राखेर नेकपाले पार्टी नेतृत्वलाई स्थापित गर्न चाहेको छ ।

पार्टीका विभाग अन्य निकायका नेतृत्वमा बसेकाले जथाभावी काम नगरून् भन्ने सन्देश पनि दिएको छ, किनभने नेकपाले पार्टी एकताका धेरैजसो काम टुङ्गाएसँगै अध्यक्षहरु र महासचिवको कामलाई पनि स्पष्ट गरेको छ ।

पार्टीभित्र अनुशासनलाई कडाइपूर्वक लागू गर्ने सचिवालयको निर्णयसँग अध्यक्षहरु र महासचिवको भूमिका बढाउने गरी अन्तरपार्टी निर्देशिका जारी हुनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।


यसबाहेक ‘पार्टीले समस्त नेता, कार्यकर्ता एवम् सदस्यलाई जनतासँग जोड्ने र आम समुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने’ निर्णयसँगै अध्यक्षहरु र महासचिवको भूमिका बढाइनुलाई पनि नेकपाभित्र केही नेताले चासोपूर्वक हेरेका छन् ।

पार्टी विधानले तोकेको अध्यक्षहरु र महासचिवको कामबारे सचिवालयका एक नेता भन्छन्, ‘ठ्क्याक्कै के आशयले अन्तरपाटी निर्देशनमा लेखियो, त्यो थाहा भएन । विधानले पहिले नै उल्लेख गरेको कुरा त्यसमा लेखिरहनु आवश्यक थिएन । तर अन्य नेताहरुको कार्यविभाजन हुँदा अध्यक्ष र महासचिवको भूमिका यस्तो छ है भनेर लेखेको पनि हुनसक्छ ।’

यस्तै स्थायी कमिटी सदस्य बेदुराम भुसालले विधानमा भएको कुरा अन्तरपार्टी निर्देशनमा लेखिरहनु जरुरी नभएको बताउँछन् । उनी भन्छन्, ‘विधानमा तय भएको कुरा त्यहाँ लेखिरहनु आवश्यक थिएन । किन लेखियो थाहा भएन । तर विधानले नै उल्लेख गरेको कुरा अन्तर पार्टी निर्देशनमा लेख्दा थप शक्तिशाली बनाउने प्रयत्न भन्न मिल्दैन । विधानले तोकेबाहेकको लेखेको भए त हामी नै प्रश्न उठाइहाल्छाँै नि ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप