बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशको दुःख सम्झेर स्वदेशमा व्यवसाय, महिनाकै लाखौँ आम्दानी

बिहीबार, १९ भदौ २०७६, ०९ : ३१
बिहीबार, १९ भदौ २०७६

–सुरेन्द्र भण्डारी

वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको  बताएका छन् ।
 
अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) र मलेशिया बसे । विदेशमा बस्दा पनि भनेजस्तो कमाई नभएपछि अहिले उनले घरमै कुखुरा फार्म सञ्चालन गर्नुभएको छ । योसँगै उनले उन्नतजातका बाख्रा पनि पाल्न थालेका छन् । रु २० लाख लगानी गरी गत वर्षदेखि उनले कुखुरा र बाख्रापालन गर्दै आएका हुन् । उनको फार्ममा अहिले ९७० कुखुरा छन् । लेयरजातका कुखुरा पालेका खतिवडाले अहिले सोही व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छ । कुखुरासँगै उनले २० उन्नतजात ९जमुनापारी, बोयर०का बाख्रा पालेका छन् ।  

कुखुरापालन र बाख्रापालन व्यवसायबाटै खतिवडाले गाउँमा मनग्य आम्दानी गरेपछि अहिले सेतीपानीमा अधिकांशले उन्नतजातका बाख्रा र कुखुरा पाल्न शुरु गरेका छन् । श्रीमती भावनाको  नाममा फार्म सञ्चालन गरी उहाँले व्यवसाय थाल्नु भएको हो । विदेशको भन्दा राम्रो आम्दानी हुन थालेपछि खतिवडा परिवार अहिले फुरुङ्ग छ । “खतिवडा परिवारकै प्रगति देखेर मैले नि व्यवसाय शुरु गरेको छु”, छिमेकी खगेन्द्रप्रसाद खरेलले भने । उनले २२ माउ उन्नतजातका बाख्रा पाल्नु भएको छ । “पहिला बाख्रा पाल्न नजानेर रहेछ, गाउँघरका लोकल बाख्रा पालिन्थ्यो, जति हेरचाह गरे पनि खासै फाइदा हुँदैन थियो । अहिले उन्नतजातका थोरै बाख्रा पाले पनि मनग्य आम्दानी भएको छ”, उनले भने । 
 
यस्तै बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले विदेशबाट फर्किएर अहिले पशुपालन गरिरहेका छन् । उनले उन्नतजातका १०० गाई र १०० स्थानीय जातका बाख्रा पालेका छन् । उनको पशु फार्म प्रदेश नं १ कै ठूलो मानिन्छ । उनी मात्र होइन, झापा गाउँपालिकाको  शरणामतिका सूर्य भण्डारीले पनि अहिले कुखुरापालन व्यवसाय सञ्चालन गरेका छन् । “दैनिक एक हजार अण्डा उत्पादन हुन्छ”, भण्डारीले भने। उनी पनि वैदेशिक रोगजारीको सिलसिलामा पाँच वर्षअघि साउदी अरब पुगेका थिए । “भेँडा चराउन लगाएपछि म एक महीनामै घर फर्के”, उनले भने । स्वेश फर्किए लगत्तै कुखुरापालन व्यवसाय सञ्चालन गरेका भण्डारीले अहिले मासिक रु एक लाख घरमै बसेर आम्दानी गरिरहेका छन् ।

कृषि र पशुपालनलाई व्यवस्थित गरी पशुधनको उत्पादन बढाउने सरकारको लक्ष्य छ । सरकारले पशुपालक कृषकलाई अनुदान दिन थालेपछि अधिकांश युवा अहिले पशुपालनतर्फ आकर्षित भएका छन् । विदेशबाट फर्किएका युवाले पशुपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । विदेशबाट फर्किएर पशुपालन व्यवसाय सञ्चालन गर्ने उहाँहरु प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँहरु जस्ता धेरैले अहिले विदेशबाट फर्किएर पशुपालन व्यवसायमा हात हाल्नु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप