केन्द्रीय संस्करण
विचार

नेपाली जनमनका कुरा : हामीहरुले त राजा बन भनेका थिएनौँ !

person explore access_timeभदौ १९, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

“सामन्तका विरोधमा सामन्तहरु अर्थात् सामन्तहरुका विरोधमा सामन्त !

यसको अर्थ के हो भाइ ?” एक जना प्राध्यापकले सोध्नुभयो ।

“इतिहासका कुनै कालखण्डको कुरा होला !” मैले भनेँ ।

“ठ्याक्कै वर्तमानको कुरा हो !” प्राध्यापकले हाँस्दै भन्नुभयो, “अहिले भर्खरकै मिडियामा हेरौँ न । बडो सुन्दर प्रहसन छ । दुई तिहाइको नेकपा सरकार पूर्वराजासँग डराएर प्रतिपक्षी काँग्रेससँग गुहार माग्दै छ लोकतन्त्र र संविधान जोगाउन ।

यी तिनै हुन् जसले संविधान बनाउँदा लोकको सल्लाह फिट्टी सुनेनन् । लोकलाई टेरपुच्छर लाएनन् । जनतालाई संविधान र कथित लोकतन्त्रको स्वामित्व अनुभूति गर्ने अवसरै दिएनन् । यो कसैको लोकतन्त्र होला । जनताले सोच्ने कुरा रह्यो । जो मुलुकलाई निमिट्यान्न पार्न चाहन्थे तिनका लागि ढुक्कको खड्किलो पनि बन्यो ।

सरकारले भन्ने गरेको लोकतन्त्र र तज्जन्य समृद्धि राष्ट्रपति प्रधानमन्त्री मन्त्रीलगायत सत्तासीन ठूलाबडाको घरमा सीमित छ । त्यसै भएर जनताले त्यस लोकतन्त्रलाई चिनेकै छैनन् ! आफ्नो घर आँगनमा कहिल्यै आइपुगे पो चिन्ने । देखेभेटे पो चिन्ने ! जनजीवनमा केही सुखद परिवर्तन भइदिएको भए त्यसले जनतामा लोकतन्त्र चिनाउँदो हो ।

*****

उहिले उहिले भोटबाट नुन बोक्नेहरुका भारीमा ढुङ्गा थपिदिइन्थ्यो भन्छन्, लगभग त्यस्तै । आज जनजीवनमा व्यापक रूपमा सन्ततिवियोग थपिएको छ । जीविकाको खोजीमा युवायुवती सबै विदेशिएका छन् । कति बेचिएका छन् । कति मरेर फर्कन्छन् । जिउँदै फर्कन खोज्नेहरु कति फर्कनै नपाएर बिचल्लीमा छन् ।

*****

पहाडमा पहिरो बढ्यो । तराईमा बाढी बढ्यो । यो बाढी पहिरो कथित लोकतन्त्रले भन्दा पनि गणतन्त्रले बढाएको स्पष्ट थाहा भएको छ । जनताको बुझाइमा गणतन्त्र भनेको पार्टीतन्त्र हो । आजको यो कथित लोकतन्त्रमा गण भनेको पार्टी हो । मुलुकमा त्यसैको तन्त्र छ ।

भन्न त पञ्चायतकालमा प्रचार गर्ने शिक्षक विद्यार्थीहरु भन्थे,  (तिनीहरुले त्यति बेला आफूले जानेकै कुरा इमानदारीका साथ भनेका हुन् ।) “कम्युनिस्टको सरकार आएपछि जनताका स्वास्थ्य र शिक्षामा हुने खर्च सबै सरकारले बेहोर्छ । जनताले यथेष्ट रोजगारी पाउँछन् । न्याय पाउँछन् । कसैले कुनै पनि अधिकारबाट वञ्चित रहनुपर्दैन आदि । कथित कम्युनिस्टहरुकै  दुई तिहाइको सरकार आउँदा पनि राज्य व्यवस्थाले जनताका सुख सुविधाका लागि आवश्यक परिवर्तन दिन सकेको त छैन । बरु जनताका थाप्लोमा पहिले नभएकको दुःखहरु समेत थपिएका छन् ।

उहिले उहिले भोटबाट नुन बोक्नेहरुका भारीमा ढुङ्गा थपिदिइन्थ्यो भन्छन्, लगभग त्यस्तै । आज जनजीवनमा व्यापक रूपमा सन्ततिवियोग थपिएको छ । जीविकाको खोजीमा युवायुवती सबै विदेशिएका छन् । कति बेचिएका छन् । कति मरेर फर्कन्छन् । जिउँदै फर्कन खोज्नेहरु कति फर्कनै नपाएर बिचल्लीमा छन् । भोलि केही उज्यालो ल्याउलान् कि जस्ता प्रतिभा पनि देशमा अडिन सकेका छैनन् । युरोप, अमेरिक क्यनाडा र अस्ट्रेलिया पुगेका छन् । मुलुकलाई ह्याचरी फर्ममा परिणत गराइएको छ । गाउँबस्ती सबै उराँठ बुढाहरुको खोकीखर्क जस्तोे बनिसक्यो ।

जनताका छोराछोरीले प्रतिभा बेच्न र श्रम बेच्न गह्रुँगो मनले आफ्ना बाआमा र देश छोडेर विदेश जानुपर्ने लोकतन्त्र के लोकतन्त्र ? आफ्नो मुलुकमा काम नपाएर विदेशमा बेचिनुपर्ने लोकतन्त्र के लोकतन्त्र ? जनताका मतले कसैलाई सत्तासीन बनाउन सकिने तर त्यसको काम चित्त नबुझ्दा जनताका मतले त्यसलाई सत्ताबाट ओराल्न नसकिने विधिको लोकतन्त्र के लोकतन्त्र ?

*****

शाहहरु त सात सालबाट ताते गर्दै सत्र सालमा खुट्टा टेकेका हुन् । ४६ सालमा पञ्चायतसितै खुट्टा कटाए । ०६३ पछि रहलपहल बाँकी टाँकी खुट्टा पनि सकियो । नामावशेष भए । अहिले विविध नाम धामवाला नयाँ सामन्तहरु सत्तामा छन् । हैन त ?” प्रध्यापकले क्लास लिएजसरी नै बिसाउँदै सोध्नुभयो, तपाईंलाई यसभन्दा फरक अरू केही भएजस्तो लाग्छ ?

*****

हालका दिनहरुमा विविध कारणबाट नेपाली जनताका समस्याहरु बढेका छन् । पीडाहरु बढेका छन् । गुानासो सुनेर उपचार गरिदिनुपर्ने सरकारले हो । सरकार  जनमैत्री हुन सकेको छैन । यो स्थितिमा भर पर्दा कथित लोकतन्त्र र संविधानको स्वामित्व लिने को ? रैती बनाइएका जनता ? हुन त सरकारले जनतासित गुहार मागेको छैन । काँग्रेससित गुहार मागेको छ । जनतालाई खास चासोको कुरा पनि भएन । बिचरो काङ्ग्रेस । आफ्नै महत्त्वाकाङ्क्षाको जन्जालमा फँसेको छ । आफू खुट्टा टेक्ने कि सरकारलाई गर्जनतर्जन देखाउने काँग्रेस आफ्नै सनातन सङ्कटमा छ । यसै त सत्ताबाहिरको काङ्गे्रस भनेको पानीबाहिरको माछा हो । सत्ताबाहिर हुँदा काँग्रेस बगरको माछा बन्छ । सघन रूपमा छट्पटाउनु नै बगरका माछाहरुको आन्दोलन हो । कुनै आदर्श छैन कुनै सिर्जनशीलता छैन । मुलुक र जनताका सुखसुविधाका लागि कुनै योजना र सपना छैन । त्यस्तो बिचरो शेरबहादुर काँग्रेसले कस्तो गुहार देला र खै ? काँग्रेसहरु पनि प्रवृत्तिगत रूपमा कथित लोकतन्त्रका राणा नै हुन् । सत्तासीन कम्युनिस्टहरु पनि नयाँ राजाहरु हुन् । व्यवहारले देखाएकै छ ।

“राणाहरुले पनि विगत ०७ सालमा भारतसित गुहार मागेका थिए । नेपाली जनतासित गुहार मागेका थिएनन् । जनतासित गुहार माग्न राणाहरुले बाटो नै राखेका थिएनन् त के मागुन् । राणाहरु पनि जनतासित डराउँथे । बाहिर निस्कनुपर्दा रिसल्लाहरु अघि लाएर निस्कन्थे । अङ्गरक्षकहरुले घेरिएर निस्कन्थे । अहिलेका सत्तासीनहरुलाई जस्तै राणाहरुलाई पनि नेपाली जनतामा विश्वास थिएन । यसै भएर बाहिर निस्कँदा पर्याप्त सुरक्षा व्यवस्था चाहिन्थ्यो । जो जनतासित जति बढी डराउँछन् तिनलाई त्यति नै बढी सरकारी सुरक्षा घेरा चाहिन्छ । यो स्वाभाविकै हो । आफ्ना जनविरोधी नीति र क्रियाकलापका कारण राणाहरु जनतासित कटेका थिए । ज्यूनारन त जनताकै रगतपसिनाको गर्थे तर जनतासित तिनीहरुको मानवीय सम्बन्ध थिएन ।

शाहहरु त सात सालबाट ताते गर्दै सत्र सालमा खुट्टा टेकेका हुन् । ४६ सालमा पञ्चायतसितै खुट्टा कटाए । ०६३ पछि रहलपहल बाँकी टाँकी खुट्टा पनि सकियो । नामावशेष भए । अहिले विविध नाम धामवाला नयाँ सामन्तहरु सत्तामा छन् । हैन त ?” प्रध्यापकले क्लास लिएजसरी नै बिसाउँदै सोध्नुभयो, तपाईंलाई यसभन्दा फरक अरू केही भएजस्तो लाग्छ ?

“फरक त छ नि पाँच वर्षमा एक दिन रैतीहरु जनता हुन पाउँछन् !” “पाँच वर्षसम्म आफूमाथि निर्मम रजाइँ गर्ने कथित प्रतिनिधि चुन्न हैन ? प्रध्यापक फेरि हाँस्नुभयो ।

“यो कथित लोकतन्त्रको विडम्बना हो भाइ । कति नाम पनि आखिर नामैमा एउटा विडम्बना हो । नेपालभाषामा रक्सीलाई वास पनि भनिन्छ । संस्कृत भाषामा त यसको नाम मधु हो सुधा पनि हो । सुधाको शब्दार्थ अमृत हो । भारतका एक कवि हरिवंश राय बच्चनले भट्टीलाई मधुशाला भनेर त्यसको प्रशंसामा सुन्दर लामो काविता नै लेखेका छन् । उनले कविता लख्दाताका भारतमा पनि लोकसभा र विधानसभाको राजनीति जमिसकेको थियो सायद ! त्यसैले उनका कवितालाई सार्थक बनायो !”

प्रााध्यापकहरु शास्त्रका कुरा गर्छन् जनतालाई भारी र सुस्केराको रन्को छ । लोकतन्त्रले नेपाली जनताको भारी हलुको बनाएन । सजिलोको आशा जगाएन । मुलुकमा ठूलाठूला विमानघाट बनाएर र पानी जहाज र रेलका कुरा गरेर आम जनताका भारी हलुको हुने सम्भावना पनि छैन । प्रधानमन्त्री बिरामी हुँदा सिङ्गापुर पुगेर उपचार गराउनुपर्ने प्रजातन्त्रमा जनता बिरामी हुँदा सिटामोल उपलब्ध गराउन सकिएको त छैन नि ।

यथार्थ त यथार्थ नै हो । कथामा त द्रौपदीको रित्तो ताउलाको एक त्यान्द्रो साग कृष्णले चपाइदिँदा दुर्वाशागणकै भुँडी भरिएको थियो । हामीकहाँ प्रधानमन्त्री वा राष्ट्रपतिले आफ्नो आधुनिक राजदरबारमा चौरासी व्यन्जन ज्यूनार गरिदिएर नेपाली  जनता अघाउँदैनन् । हामी जनतालाई त समस्या छ न पुराणकाल न आधुनिक काल ! सधैँ अनिकाल !!

मुलुकको आधाजसो जनता जीविकाका लागि विदेशमा यत्रतत्र भौँतारिनुपर्ने र सत्तामा थरीथरीका माफिया र भ्रष्टहरुले तर मार्ने  अनि अर्थतन्त्र दिनोदिन ओरालो लाग्ने लोकतन्त्र के लोकतन्त्र ? यो त लोक शब्दमाथि पनि असह्य अन्याय हो ।

*****

हामीहरुले त राजा बन भनेका थिएनौँ । नेताहरु आफसेआफ राजा भए । म गतसाल पनि सहर आएको थिएँ राष्ट्रपतिको सवारी देखेर छक्कै परेँ । किन आफूलाई यसरी बिर्सेका यिनीहरुले ? यिनीहरु राजा त हैनन् नि त हो ?

*****

हिजो दिउँसो । स्वयम्भू पुगेको थिएँ । सल्लाका फेदमा बसेर हाम्रा गाउँका घले स्याङ्तान् वरिपरि धुरिएका अधबैँसेहरुसँग भन्दैरहेछन् “बोकाको मुखमा कुभिण्डो अटाएन । मैले त भन्या थिएँ गीत गाउनेको बात सुसेलीमा थाहा पाइन्छ भन्याथिएँ । तिमीहरुले म बुढाको कुरा हाँसोमा उडायौ । अहिले बाघ लाग्यो घिच्याउन, बुढी लागी चिच्याउन । नपाउनेले के पायो बोक्रैसमेत चपायो । उखान त नेपालीमा कति छन् कति । उखान भएर के गर्नु जनताको एक पेट ढुक्क खानपानको व्यवस्था कहिल्यै भएन । अब फेरि जगैबाट सोच केटा हो ?” मैले नमस्कार गर्दै सोधेँ, मैलेत बुझिन त स्याङ्तान बा ? “पहिले तपाईंका बाजे भन्नुहुन्थ्यो, पहिले बुभ्mन कठिन् बुझ्यो अझ कठिन् झनझन बुझ्यो झन कठिन्् ! कुरा त त्यही हो  । त्यही अवस्था दोहोरिएर आयो । घुम्दैफिर्दै रुम्जाटार भनेको  यही हैन त ? हाम्र बाजे त लोभीको भाँडो उभिण्डो, बोकाको मुखमा कुभिण्डो भन्थे ।” स्याङ्तान बूढा खित्का छोडेर हाँसे । उनको हाँसोमा स्वाभाविकता थियो ।

बूढा आफ्नै पारामा भन्दैगए, “एउटा राजाले अर्को राजालाई विश्वास गर्दैन । आपूmलाई सकाएर उ पो सम्राट् बन्ला कि भन्ने शङ्का गर्छ । सम्राटले आफ्नो मातहतको राजामाथि पनि विश्वास गर्दैन । उसलाई जतिबेला पनि आप्mनै रजाइँ खुस्केला कि भन्ने डर लाग्छ । एक किसिमले राजा र ब्वाँँसो उस्तै हो । ब्वासो पनि आफ्नै बथानको अर्को ब्वाँसोले पछाडिबाट खुसुक्क आन्द्रा थुत्ला कि भनेर डराउँछ । बथानमा पनि बुरुक्क उफ्रँदै हिँड्छ । यो पनि हामीलाई थाहा भएको कुरा हो ।

जनताको भोट लिएर माथि उक्लने अवसर पाएका र मन्त्री प्रधानमन्त्री भएकाहरु पनि आपसमा विश्वास गर्न सक्दैनन् ?  विश्वास गर्नसक्नेभए किन एउटै पार्टीमा दुईवटा अध्यक्ष चाहिन्छ ? विश्वास गर्न नसकेर होइन ? यिनीहरु पनि राजा भइगएछन् क्यार । जहिले पनि राज्य खुस्कन्छ कि भन्ने डरमा रन्थनिन्छन् ।

हामीहरुले त राजा बन भनेका थिएनौँ । नेताहरु आफसेआफ राजा भए । म गतसाल पनि सहर आएको थिएँ राष्ट्रपतिको सवारी देखेर छक्कै परेँ । किन आफूलाई यसरी बिर्सेका यिनीहरुले ? यिनीहरु राजा त हैनन् नि त हो ? यसरी राजा ठान्न थालेपछि यिनीहरुलाई मरेका राजादेखि पनि डर लाग्न थाल्छ । यिनीहरु ढुक्क निदाउन सक्दैनन् । यिनीहरुको बुद्धिले बाटो बिरायो । हामी जनता बिलखबन्दमा छौँ । हामीले एउटा राजाका ठाउँमा अर्को राजा थाप्न दुःख गरेका त थिएनौँ नि त हो । हामीले त जनताको राज ल्याउन चाहेका थियौँ । त्यो आएन । आयो कि भन्ठानेको थियो, आएन । घले स्याङ्तानले भने ।

मैले झलक्क प्रोफेसर र उनको गुजुल्टिएका कुरा सम्झेँ । घले स्याङ्तानाले कति सफासँग भने आजका नेपाली जनमनका कुरा ।

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...