शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालिका अपहरणकारी पक्राउ, जंगलमा बालिकाको मुख थुनेर बसेको थाहा पाएपछि...

शुक्रबार, २० भदौ २०७६, १६ : २९
शुक्रबार, २० भदौ २०७६

काठमाडौं । बालिका अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । बिहान ८ः३० बजेदेखि बन्धक बनाइएकी बालिकाको सकुशल उद्धार गरिएको छ । 

बालिकालाई सुरक्षित गर्ने विभिन्न रणनीति अपनाएर अपहरणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान रुपन्देहीको रोहिणी गाउँपाकिा–२ स्थित रोहिणी जंगलबाट प्रहरीले बालिकाको उद्धार गरेको हो । 

अपहरणकारी भारत घर भई हाल रुपन्देही कोटियहवाका २३ वर्षीय मनिस निगमलाई रोहिणी जंगलबाट बालिकाको मुख थुनेर बोल्न नदिएको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । 

निगमले शुक्रबार बिहान रोहिणी गाउँपालिका–२ स्थित बैकुण्ठपुर घर भएकी ५ वर्षीया नाबालिकालाई अपहरण गरेका थिए । डीएसपी भण्डारीले बालिका अपहरणको खबर पाएलगत्तै प्रहरीले खोजी तीव्र पारेको थियो  ।

प्रहरीका अनुसार आफ्नो आँगनको घरमा खेलिरहेको बेला निगमले बालिकालाई फकाएर घरनजिकैको ३०० मिटर दुरीमा रहेको जंगलमा लगेका थिए । निगम विगत १ वर्षदेखि नेपालमा पेन्टिङको काम गर्दै आएका थिए । 

शुक्रबार बिहान ८ः३० बजेदेखि १० बजेसम्म पनि परिवारले छोरीलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपहरणकारीको खोजी गर्दै जाँदा घर नजिकैको रोहिणी जंगलमा नाबालिकाको मुख थुनेर लुकेर बसेको संकेत पाएपछि त्यसकै आधारमा खोजी गरिएको डीएसपी भण्डारीले बताए । 

‘हामीले जसरी पनि बालिका सुरक्षित उद्धार गर्ने रणनीति साथ सुरक्षा योजना बनाएर खोजी गरेका थियौं,’ उनले भने, ‘त्यही अनुसार सफल पनि भयौं ।’

प्रहरीका अनुसार निगमले बालिका अपहरण गर्नुको कारण नखुलेको र प्रहरीको बयानमा पनि केही बताएका छैनन् । यसअघि बालिकाको परिवार र निगमको चिनजान समेत नरहेको पाइएको छ । 

अपहरणकारी निगममाथि प्रहरीले अपहरण र शरीर बन्धक मुद्दामा कारबाही अघि बढाउने उनले बताए  । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप