शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा क्षेत्रमा सुरक्षा चुनौती : तस्कर र प्रहरीबीच पटक–पटक झडप

शुक्रबार, २० भदौ २०७६, २० : १९
शुक्रबार, २० भदौ २०७६

जनकपुर– २ नम्बर प्रदेशमा रहेका आठवटै जिल्ला भारतीय खुला सीमा क्षेत्रसँग जोडिएका छन् । खुला सीमाकै कारण दुवै देशका नागरिक सहजै आवतजावत गर्ने गरेका छन् । भारतसँग सीमा जोडिएका नेपालीहरु भारततर्फ सस्तो मुल्यमा सामान पाइनेभएपछि किनमेलका लागि दिनहुँजसो उतैका बजारमा जाने गरेका छन् । 

घरायसी सामाग्रीदेखि व्यायारिक प्रयोजनका सामान ल्याउन साना व्यापारीदेखि ठुलासम्म सिमापारीकै बजारमा बढि निर्भर हुने गरेका छन् । यी जिल्लामा प्रत्येक महिना सशस्त्र, जनपद प्रहरी र भन्सार कार्यालयले ठुलो मात्रामा अवैध सामाग्रीहरु समेत बरामद गर्ने गरेका छन् । 

२ नम्बर प्रदेशका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) प्रद्युम्न कार्कीले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन चुनौती रहेपनि नेपाल–भारत दुवैतर्फको सहयोग र समन्वयमा व्यवस्थापन गरिएको बताए । 

‘सीमा क्षेत्रतर्फका चुनौती र समस्याहरुको समाधानका लागि समन्वयकारी भुमिका अपरिहार्य रहेको छ’ डिआईजी कार्कीको भनाई छ । डिआईजी कार्कीले सीमावर्ती क्षेत्रमा हुने गरेका अवैद्य धन्दा नियन्त्रण गरिने बताए । 

यसै क्रममा केही दिन अघिमात्रै धनुषाको मुखियापट्टी मुसहर्नीयामा चोरीको मोटरसाइकल खरिद–विक्रीका लागि मोलमालाई भइरहेको प्रहरीले सुइको पायो । तत्कालै प्रहरीको टोली घट्नास्थल पनि पुग्यो । 

तर प्रहरीले सफलता हात लाउन सकेन । स्थानीयवासीले नै प्रहरीलाई असहयोग गरेपछि प्रहरी रित्तो हात फर्किन बाध्य भएको हो ।

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले यो घटना भदौ १७ गते मोटरसाइकल चोर पक्राउ गर्न खोज्दा स्थानीयवासीले अवरोध गरेपछि स्थानीयवासीसँग झडप भएको बताए । 

त्यस्तै ०७६ वैशाख १८ मा मुखियापट्टी मुसहर्निया गाउँपालिकामा भारतबाट भन्सार छली नेपाल ल्याउदै गरेको अवैध सामाग्री प्रहरीले बरामद गर्यो । प्रहरीले अवैध सामान बरामद गर्दा तस्करहरु प्रहरीमाथि नै जाइलागे । प्रहरीले बरामद गरेको लत्ताकपडा लगायत सामाग्री छुटाउँन व्यवसायीको सहयोगमा स्थानीयले प्रहरी कार्यालय नै घेराउ गरेको थिए ।

प्रहरीलाई पैसा नदिँदा अनावश्यक दुःख दिँदै सामान नियन्त्रणमा लिएको भन्दै स्थानीय प्रदर्शनमै उत्रिए । प्रहरीले बरामद सामाग्री नछाड्ने अडान लिँदा तस्करहरुको समुहले प्रहरी माथि हातपात गरी प्रहरी चौकीबाट सामाग्री लुटेका थिए । 

तस्करले प्रहरी चौकी आक्रमण गर्दा स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहमे परेको थियो ।त्यस्तै ०७५ चैत १७ गते अवैध रूपमा भारततर्फ मदिरा तस्कर गरिरहेका समूह र प्रहरीबीच सीमावर्ती क्षेत्रमा झडप भएको थियो । 

घटनामा तस्कर समुहले प्रहरीको  पेस्तोल लुट्यो । तर, स्थानीयबासी भने प्रहरी र तस्करहरुबीच कुरा नमिल्दामात्रै प्रहरी–तस्करवीच झडप हुने गरेको दावी गर्छन् ।

०७६ भदाँै १७ गते पनि मुखियापट्टी मुसर्निया गाउँपालिका वडानम्बर ५ मा मोटरसाइकल चोर समाउन लाग्दा चोरका सहयोगी र प्रहरीवीच झडपपछि स्थिति तनावग्रस्त बनेपछि सादा पोशाकका प्रहरीले २ राउण्ड हवाइ फायर गरेको थियो । 

चोरीको मोटरसाइकल खरिद–बिक्री भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट सादा पोसाकका प्रहरी घटनास्थलमा पुगेका थिए । तर, मोटरसाइकल सहितका चोरहरु झडपपछि सहजै फरार भए । प्रहरीले उनीहरु कसैको पनि पहिचान गर्न सकेन । 

यसरी बारम्बार मुखियापट्टी मुसहर्नीयामा प्रहरी र तस्करवीच झडप हँुदा गाउँ नै बद्नाम भएको छ । सो क्षेत्रमा रहेको प्रहरी चौकीको इन्चार्ज समेत चाँडोचाँडो फेरिदै आएका छन् ।

मुखियापट्टी मुसहर्र्नीया गाउँपालिकाका प्रमुख मनोज कुमार यादवले सीमावर्ती क्षेत्र भएकाले व्यापारी व्यवसायीहरु चहलपहल बढ्नु स्वभाविक भएपनि तस्करी मौलाउनु राम्रो नभएको प्रतिकृया दिए । 

उनले प्रहरी र तस्करबीच साँठगाँठ हुने गरेको पनि बताए । भने, ‘प्रहरी र तस्करवीच साँठगाँठ हुन्छ । दुवैतर्फका व्यापारी र व्यवसायीहरुवीच घनिष्ठ सम्बन्ध र समन्वय हुने गरेको छ । एकले अर्कालाई सहयोग गर्ने अनुसार भारततर्फबाट खाद्यान्न सामाग्री देखि अवैध कारोवार समेत हुने गरेको छ । मध्यरातमा मदिराको कारोबार हुने गरेको सुनेको छु ।’ 

उनले तस्करहरुले ठुलो परिणाममा अवैध ढङ्गले मदिरा लगायतका सामाग्रीहरु सिमापारी लैजान थालेपछि बार्गेनिङ चल्ने गरेको र कुरा नमिल्दा प्रहरी र तस्करवीच झडप समेत हुने गरेको जानकारी दिए । 

पूर्व, पश्चिम र दक्षिण गरी तिनैतर्फका सीमा नाका भारतसँग जोडिएकाले तस्करी रोक्न समस्या भएको मुखियापट्टी प्रहरी चौकीका इन्चार्ज बहादुरप्रसाद यादवले बताए ।

मुखियापट्टी गाउँपालिका भित्र मुखियापट्टी, तुलसियाही जब्दी र बहेडाबेला गरी तीन ठाउँमा प्रहरी चौकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप