शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेल्थ टिप्स : एपेन्डिसाइटिस भएको यसरी थाहा पाउन सकिन्छ

शनिबार, २१ भदौ २०७६, ११ : १७
शनिबार, २१ भदौ २०७६

काठमाडौँ –एपेन्डिसाइटिसको समयमा अपरेशन भएन भने बिरामीको मृत्युसम्म हुन सक्ने सम्भावना हुन्छ । साथै मुटु, मिर्गौलालगायतका रोगको समस्या भएका बिरामीको हकमा यो रोग निकै जटिल मानिन्छ ।

चिकित्सकहरुका अनुसार यस्तो बिरामीको अपरेशन गर्न मिल्दैन । यस्तो बिरामीलाई एपेन्डिसाइटिसको समस्या भएको अवस्थामा केही कुरामा ध्यान दिने हो भने पनि अन्य थप समस्याबाट पनि जोगिन सकिन्छ ।

एपेन्डिसाइटिस भनेको के हो ? यसको लक्षण, उपचार विधि र बच्ने उपाय लगायतका विषयमा सर्जन डा. अनिरा वैद्यले जानकारी गराएकी छिन् । १७ वर्षदेखि वीर अस्पतालमा कार्यरत उनले सर्जन विषयमा एमबीबीएस. एसएमएस र पीएचडी गरेकी  एकमात्र महिला सर्जन हुन् ।

एपेन्डिसाइटिस कस्तो रोग हो ?
एपेन्डिक्स भनेको एउटा अग्र्यान हो । त्यो अग्र्यान बिनानै मान्छे बाँच्न सक्छ । एपेन्डिक्स ठूलो आन्द्रा र सानो आन्द्राको बीचमा ४ इन्च जति लामो हुन्छ । त्यो कुनै कारणबस पाक्न गयो, कुनै कुरा अड्कियो भने पनि एपेन्डिक्सबाट एपेन्डिसाइटिस हुन्छ ।  

मानव शरीरमा एपेन्डिक्सको मुख्य काम के हो ? 
मानव शरीरमा भएको कुनै पनि अङ्ग एक्स्ट्रा (अतिरिक्त) हुँदैन । विभिन्न अध्ययन र अनुसन्धानले पनि मानव अङ्ग मध्ये एपेन्डिक्सले पनि काम गर्छ भन्ने कुराहरु गरिँदै आएको छ । शरीरमा लाग्ने रोगसँग लड्नको लागि एपेन्डिक्सले काम गर्छ । 

कतिपय अनुसन्धान रिर्पाेटहरुमा एपेन्डिक्सले मानिसको इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) लाई बलियो बनाउन मद्यत गर्छ भन्ने कुरा उल्लेख भएको पढ्न पाइन्छ । वास्तविकता के हो ? 

टन्सील र एपेन्डिक्स भन्ने अग्र्यान प्रतिरोधात्मक क्षमता भएको अङ्ग हो । एपेन्डिक्सले बाहिरबाट लाग्न सक्ने विभिन्न रोगहरुलाई लाग्न नदिने र आन्द्रामा आउने ब्याक्टेरियल समस्या लाग्नबाट जोगाउने अर्थात प्रतिरक्षा प्रणालीको काम गर्छ । 

मानव शरीरमा देखिने एपेन्डिसाइटिसको समस्या जसलाई पनि, जतिखेर पनि र जहाँ पनि हुन सक्ने समस्या हो । एपेन्डिसाइटिस हुनुको खास कारण अहिलेसम्म पनि पत्ता लगाउन सकिएको छैन । तर पनि एपेन्डिक्स भएको ठाउँमा जस्तैः दिसा गएर अड्कियो भने वा रगत संचार कम हुँदा एपेन्डिक्स सुन्निन थाल्छ । सुन्निएपछि एपेन्डिसाइटिसको समस्या आउने हो । यस्तै कुनै खानेकुरामा बियाँहरु पनि एपेन्डिक्समा गएर अड्कियो भने वा सोही ठाउँमा मासुहरु पलायो भने पनि एपेन्डिसाइटिस हुन सक्छ । 

एपेन्डिसाइटिस उमेरको आधारमा हुँदैन । बालबालिकादेखि बृद्धबृद्धालाई पनि एपेन्डिसाइटिस भएको पाइन्छ । विभिन्न अनुसन्धानले देखाएको कुरा पनि यहि हो । 

एपेन्डिसाइटिस भएको कसरी थाहा पाउने ? यसका लक्षणहरु के–के हुन्छन् ? 
एपेन्डिसाइटिसको पहिलो लक्षण भनेको पेट दुखाइ नै हो । माथिल्लो पेट अथवा नाइटो (नाभी) को वरिपरि दुख्न थाल्छ । विस्तारै यसको दुखाइ बढ्दै जान्छ ।  यो दुखाईको प्रक्रिया सर्दासर्दै तल्लो पेटको दाहिने भागसम्म हुन्छ । दुखाइ जहाँ पनि हुन सक्छ तर सर्दासर्दै नाईटोतिर आउने र पेटको दाहिने भागबाट तल्लो पेटमा धेरै दुख्न थाल्यो भने एपेन्डिसाइटिस भएको होकि भनेर अनुमान लगाउन सकिन्छ । त्यो बाहेक वाक—वाक लाग्ने, खान मन नलाग्ने, बान्ता हुने, ज्वरो आउाने जस्ता लक्षण देखियो भने पनि एपेन्डिसाइटिस होकि भन्ने अनुमान लगाउन सकिन्छ ।  एपेन्डिसाइटिस एक्कासी आउने समस्या भएको हुँदा मुख्य लक्षणहरु यही हुन् ।

अन्य केही रोगहरुलाई जसरी नै हेलचेक्र्याईँ गरेर पछि उपचार गरौँला भनेर बस्ने अवस्था एपेन्डिसाइटिस हुँदैन । यसलाई समयमानै उपचार गर्नुपर्छ । एपेन्डिसाइटिस भएपछि उपचारको समयसीमा हुन्छ । दुखाइ सुरु भएदेखि ७२ घण्टाभित्र अपरेशन गर्नुपर्ने हुन्छ । तर समस्या देखापरेको जतिसक्दो छिटो चिकित्सकको सल्लाह अनुसार अप्रेशन गर्दा बिरामीको लागि राम्रो हुन्छ । जति ढिला भयो त्यती धेरै जटिलताहरु बढ्दै जान्छन् ।  
एपेन्डिसाइटिसको समस्या हुने वित्तिकै यसको तुरुन्तै अपरेशन गरिनुपर्छ नत्र त्यो फुटेर मानिसको निधन पनि हुन सक्छ भन्ने गरिन्छ, वास्तवितकता के हो ? 
समयमा उपचार भएन भने एपेन्डिसाइटिस फुटेर निधनसम्म हुन सक्ने कुरा सत्य हो । यो समयमानै अपरेशन गरिएन भने सेस्पसिसमा टन हुन सक्छ । पिप शरीरमा फैलिएर मल्टिअर्गान फेलियर हुनसक्ने सम्भावना हुन्छ । 

नेपालमा अझैसम्म पनि सबै स्वास्थ्य सेवा नागरिकसमक्ष पुग्न सकेको छैन । यसलाई दूर्भाग्य मान्नुपर्छ । नेपालमा यति धेरै सर्जनहरु छन् र पनि सेवा नपुग्दा नमज्जा लाग्छ । सबै नेपाली नागरिकमा स्वास्थ्य समस्या देखिएको खण्डमा तत्काल काठमाडौँ आउन सक्ने र ठूला—ठूला सहर जान सक्ने अवस्था पनि छैन । त्यो कारणले गर्दा स्वास्थ्य उपचारको भयावहको अवस्थानै छ भन्नु पर्छ ।

 एपेन्डिसाइटिस भएपछि के गर्ने भन्दा पनि अपरेशन नै हो । यदि तपाईँको पेट दुख्यो तर पेट दुख्नुको पनि धेरै कारणहरु हुन्छन् । पेट दुखेको खण्डमा केही पनि नखानुस । खाना, पानी, कुनै पनि एन्टिबायोटिक र दुखेको ठाउँमा सेकाउने कामहरु पनि नगर्नुस् । यस्तो नगरेको खण्डमा कतिपय एपेन्डिसाइटिस आफै पनि निको भएको अवस्था छ र निको हुन सक्छ । यदि निरन्तर पेट दुखिराखेको छ भने अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ । 
अपरेशननै नगरे पनि सुईबाट औषधि लगाएर केही समय निको गर्न सक्ने अवस्थामा पु¥याउन पनि सक्छौँ । तर मैले भनेको लक्षण अनुसार पेट दुख्न थालेको छ भने जथाभावि औषधि नखाने, खाना पानी नखाने र दुखेको ठाउँमा सेक्ने काम नगर्दा एपेन्डिसाइटिस भएपछि आउने जोखिम कम गर्न सकिन्छ । 

 एपेन्डिसाइटिस भएका बिरामीहरु कुन अवस्थामा अस्पताल आइपुग्छन् ? 
अस्पताल आउनेको पनि ठूलो समस्या रहेको छ । मैले वीर अस्पतालमा काम गरिरहदा एपेन्डिसाइटिस भएको ५ दिन पछि अस्पताल आइपुग्ने बिरामीहरु पनि छन् । लामो यात्रा र विभिन्न अस्पतालमा घुम्दा—घुम्दा बल्ल वीर अस्पताल आइपुग्नुहुन्छ । यस्ता केशहरुमा भने कतिपयमा हामी सफल हुन्छौ भने कतिपयमा असफल हुन्छौँ । एपेन्डिसाइटिस फुटेर, पिपहरु पेटभरी फैलिएको अवस्थामा पनि अस्पताल आउनु हुन्छ ।

त्यस्तो अवस्थामा भने शतप्रतिशत उपचारमा सफल हुन्छ भन्ने छैन । म बिरामीलाई सकेसम्म छिटै अस्पताल पुग्नको लागि आग्रह गर्छु । एपेन्डिसले अन्तिम अवस्थासम्म पनि रोगसँग लड्ने प्रयत्न गरिरहेको हुन्छ । त्यो अवस्था सम्म हामीले उपचार गर्न सक्यौ भने सफल हुन्छौ । रोगसँग लड्न सक्ने क्षमता हराएपछि समस्या जटिल हुन्छ । फुटेर पिप सबै पेटभरी फैलिसकेको अवस्थामा भने बिरामीलाई गाह्रो हुन्छ । अन्य रोग नलागेको व्यक्तिलाई बचाउँन सकिन्छ । तर, मधुमेह, किड्नी, मुटुसम्बन्धी रोग लागेका र उमेर पनि धेरै भएका बिरामीलाई बचाउन गाह्रो हुन्छ । 

एपेन्डिसाइटिसको उपचार विधि अपरेशनमात्रै हो या अन्य पनि छन् ? 
रगत पातलो भएको बिरामी, मुटुको समस्या भएका, कलेजो, किड्नीसम्बन्धीे बिरामीको हकमा अपरेशन गर्न मिल्दैन । त्यो अवस्थामा सुईबाट औषधि लगाएर उपचार गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा भने त्यो पनि सफल हुँदैन । यस्तो अवस्थामा चाहिँ अपरेशन नै गर्नुपर्ने हुन्छ । हामीलाई यस्तो अवस्थामा भने धेरै गाह्रो हुँदै आइरहेको छ । अपरेशन गर्दा पनि समस्या नगर्दा पनि समस्या हुने दुबै समस्याले गर्दा अन्य रोग लागेको बिरामीको हकमा गाह्रो हुने हो । अन्य समस्या नभएको एपेन्डिसाइटिसमात्रै भएको बिरामीको हकमा भने अपरेशन नै पहिलो उपचार हो ।

एपेन्डिसाइटिस हुन नदिने के गर्न सकिन्छ र एक पटकको शल्यक्रिया पछि फेरि यो समस्या दोहोरिन्छ कि दोहोरिँदैन ?
एपेन्डिसाइटिस हुन नदिनको लागि अहिलेसम्म त्यस्तो कुनै पनि अध्ययन अनुसन्धान भएको छैन । तर एक पटक एपेन्डिसाइटिसको अपरेशन गरे पछि फेरि दोहोरिने समस्या भने हुँदैन । मानव शरीरमा अन्य अग्र्यानहरु पलाउने सम्भावना हुन्छ तर एपेन्डिक्स चाहिँ पलाउँदैन । समस्या आउनु भन्दा पहिलानै एपेन्डिक्स निकाल्ने भन्ने चलन चाहिँ ३० वर्ष पहिला यूरोपतिर थियो । तर रोगसँग लड्ने क्षमता एपेन्डिक्समा भएको हुँदा अहिले फाल्नु हुँर्दैन भन्ने वहसले गर्दा अहिले फाल्ने चलन छैन । अहिलेसम्म समस्या आउनु भन्दा पहिलानै फाल्न मिल्ने भन्ने कुरा चाहिँ भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप