शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेविसंघमा ३२ वर्ष माथिको नेतृत्व, कसको सम्भावना कति ?

शनिबार, २१ भदौ २०७६, १२ : ४९
शनिबार, २१ भदौ २०७६

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा नयाँ नेतृत्वका लागि फेरि लबिङ सुरु भएको छ ।  

काँग्रेसभित्र भदौ २४ गतेको पूर्वनिर्धारित दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि भ्रातृ सङ्गठनमा नेतृत्व चयन गर्ने कसरत भइरहेकाले नेविसंघमा पनि नेतृत्वका लागि आकाँक्षीहरुले लबिङ तीव्र पारेका हु्न् । 

१२औँ महाधिवेशन गराउन नसेकेको भन्दै गत माघ २८ गते नैनसिंह महर नेतृत्वको ११ औँ निर्वािचत कार्यसमितिलाई राजीनामा गराउन लगाइए पनि ६ महिना बित्दासमेत नेविसंघ ले नेतृत्व पाउन सकेको छैन ।

गत फागुन २ गते बसेको केन्द्रीय समिति बैठकले महरको राजीनामा स्वीकृत गर्दै नेविसंघमा तदर्थसमितिबाट नेतृत्व चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको थियो । 

आफू निकटका विद्यार्थी नेतालाई नेविसंघको नेतृत्वमा ल्याउन देउवा निकटकै नेताहरु यतिबेला बूढानीलकण्ठ धाउन थालेको पाइएको छ । 

सभापति देउवा निकट नेताहरु उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामनत्री प्रकाशशरण महत, नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदलगायत आफूनिकट विद्यार्थी नेतालाई नेविसंघको नेतृत्वमा ल्याउने लागि परेका छन् ।

यस्तै संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडले र महामन्त्री शशांक कोइरालाले पनि आफू निकट विद्यार्थी नेतृत्वमा ल्याउन देउवालाई दबाब दिँदै आएका छन् ।

उमेर हदबन्दी र कुन संरचनामा तदर्थ समिति गठन गर्ने भन्नेमा पार्टीभित्र विवाद छ । तर विधानमा ३२ वर्षीय उमेरको हद १२ औँ महाधिवेशनबाट लागू हुने भएकाले पनि तदर्थ समितिमा उमेर हदबन्दी लागू नहुने संस्थापन पक्षको तर्क छ । 
सोही तर्कमा टेकेर संस्थापन पक्ष तदर्थ समितिको संयोजकमा ३२ वर्ष उमेर माथिका विद्यार्थी नेतालाई ल्याउन सहमत देखिएको छ । 

गत बुधबार देउवा निवासमा बसेको पदाधिकारी बैठकले नेविसंघमा ३२ वर्ष उमेरमाथिको विद्यार्थीलाई ल्याउने सहमति भएको बैठकमा सहभागि एक नेताले रातोपाटीलाई बताएका थिए ।

उमेर हदबन्दी विना नै नेविसंघमा नेतृत्व ल्याउने सहमति भएसँगै शुभराम बस्नेत, राजिव ढुंगाना, मनोजमणि आचार्य, ऋषिजंग शाह र पुष्पबहादुर शाहको नाम देउवासामू  प्रस्तुत गरिएको बुझिएको छ ।

नेविसंघ स्रोतका अनुसार महामन्त्री खड्काले कृष्णप्रसाद सिटौलालाई पनि विश्वासमा लिएर बस्नेतलाई नेतृत्वमा ल्याउन सुझाएका छन् । बस्नेतको नाममा उपसभापति निधि पनि सकारात्मक देखिएका छन् ।

खड्काले बस्नेतको नामअघि सारेपछि निधिले नेविसंघका पूर्व महामन्त्री सरोज थापालाई नेतृत्वमा ल्याउनुपर्ने अडान छोडेको स्रोतको दाबी छ । योसँगै बस्नेतको सम्भावना बलियो भन्दै गएको छ । 

बस्नेत नेविसंघको ११ औँं महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए । यता उपसभापति विजयकुमार गच्छदार, ज्ञनेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजालले ढुंगानाको नाम अघि सारेको छन् ।

ढुंगानालाई महामन्त्री कोइरालाको पनि साथ रहेको छ । यद्यपि यसमा नेता शेखर कोइरालाको विमति रहेको बुझिएको छ । 

११ औँ महाधिवेशनमा महरका निकटतम प्रतिस्पर्धी आचार्यलाई वरिष्ठ नेतादेखि केही युवा नेताहरुको पनि समर्थन रहेको छ ।

जसमा संस्थापन निकट पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र प्रदीप पौडेल लगायतका नेताहरुले १२ औैं महाधिवेशनको सुनिश्चिताका लागि आचार्य उपयुक्त पात्र सुझाएको स्रोतको दाबी छ । 

यता शाहद्वायका लागि सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद र बालकृष्ण खाँणलगायतका नेताले लबिङ गरिरहेका छन् । पुष्प शाहको सम्भावना पनि राम्रै देखिन्छ । उनलाई देउवा पत्नी आरजु राणा देउवाको साथ रहेको बुझिएको छ ।

पार्टीदेखि भ्रातृ संगठनमा हुने निर्णयमा आरजु हावी हुने गरेको पाइएकाले पनि पुष्प शाहले पनि नेविसंघको नेतृत्वको जिम्मेवारी पाउन सक्ने आकलन गरिएको छ । यता ऋषिजंग शाहलाई बोक्ने नेता खासै कोही देखिँदैन । तर ऋषिजंग शाहलाई विद्यार्थीमाझ जमेका नेताका रुपमा हेरिन्छ । शाहलाई क्याम्पस लेबलमा विद्यार्थी नेताहरुको बलियो साथ छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप