शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल, भारत र चीनको सीमाक्षेत्रमा बसोबास गर्ने नागरिक सञ्चारविहीन

शनिबार, २१ भदौ २०७६, १३ : २६
शनिबार, २१ भदौ २०७६

–नरेन्द्रसिंह कार्की
दार्चुला-व्यास गाउँपालिका–१ का सुधा बोहरा एक कल फोन गर्नुपरे झण्डै तीन घण्टा पैदल हिँडेर भारतको छायालेक पुग्छन् । त्यहाँ पुग्दा पनि मुस्किलले एक कल फोन लाग्छ । त्यो पनि कैचुला टावरमार्फत घाम लागेमा मात्र मुस्किलले फोन लाग्छ । नेपाल, भारत र चीनको सीमाक्षेत्रमा बसोबास गर्ने व्यासका स्थानीयवासी अहिले टेलिफोन नभएकै कारण समस्यामा परेका छन् ।

झण्डै आठ÷नौ महीनादेखि व्यासको वडा नं १ को छाङ्गरु र तिङ्करमा मोबाइल नेटवर्कले काम गरेको छैन । व्यासीहरुको गत वैशाखमा कुञ्चा सरे पनि उनीहरुले राम्रोसँग फोन गर्न पाएका छैनन् । एक मात्र स्काई टावरमा हिउँदमा परेको हिमपातका कारण उपकरणमा क्षति पुगेपछि यो क्षेत्र सञ्चारविहीन बनेको हो ।
 
फोनलाइन नै नभएपछि यहाँका स्थानीयवासी, नेता तथा सरोकारवाला कार्यालयमा धाउन थालेका छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराको नेतृत्वमा व्यासका राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा स्थानीयवासीले टेलिफोन सञ्चालन गर्न माग गरेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टलाई भेटी उनीहरुले व्यासका स्थानीयवासी सञ्चारको सेवाबाट बञ्चित भएको गुनासो गरेका छन् । त्रिदेशीय सामरिक महत्व बोकेका क्षेत्रका स्थानीयवासी लामो समयदेखि सञ्चारविहीन हुन पुगेका छन् । यसका लागि पहल थालिदिनुप¥यो, उनीहरुको माग छ ।
     
“व्यास क्षेत्रका नागरिक मात्र नभएर यो क्षेत्रमा भारतीय सुरक्षाकर्मी तथा स्थानीयवासी पनि नेपालकै फोनका भरमा छन्”, स्थानीय ललितसिंह बोहराले भन्नुभयो । नागरिकले पाएको सेवासुविधाबाट बञ्चित हुँदा फोनको लाइन खोज्न डाँडाकाँडा चहार्नुपरेको छ । व्यासमा निर्माण गरिएको फोनमा गत वर्ष हिमपातका कारण सोलारपाता बिग्रिएको थियो । टेलिकमको टावरमा भारी हिमपातका कारण क्षतिग्रस्त हुँदा टेलिकम दार्चुलाको प्राविधिक टोलीले टावर मर्मत गरी गत असार २५ गतेदेखि सञ्चालनमा ल्याएको थियो तर, फोनमा कुराकानी भने खासै हुन सकेन ।
 
टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङसहित प्राविधिक टोली टावर मर्मतका लागि असार १७ गते हेलिकप्टरमार्फत छाङरु पुगेका थिए । उहाँको टोलीले लामो प्रयास गरे पनि सुधार हुननसकेको स्थानीयवासीको गुनासो छ ।

दोस्रोपटक साउनमा पुनः टेलिकम क्षेत्रीय कार्यालय अत्तरिया र जिल्लाबाट टेलिकम टावर सञ्चालन गर्ने प्रयास गरे पनि उपकरणमा पुगेको क्षतिका कारण हुन नसकेको बताइएको छ । टावरको अधिकांश उपकरण परिवर्तन गरेर नयाँ सेवासुविधा थप्ने गरी तयारी थालिएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

अहिले फोन सेवा नहुँदा स्थानीयवासी पुरानै हुलाकी पत्रको युगमा पुगेको गुनासो गर्न थालेका छन् । गत वर्षसम्म सहजरूपमा उपलब्ध भइरहेको मोबाइल सेवा यो वर्ष प्रयोग नै गर्न नपाएपछि समस्यामा परेको वडाध्यक्ष अशोक बोहराले बताउनुभयो । अझ पनि पुरानै युगमा पुगियो । गाउँमा खबर गर्न मान्छे पठाउनुपर्ने अवस्था भइरहेको छ । बसाइँसराइ सर्ने समय नजिकिँदैछ, फोन सम्पर्क हुँदैन ।
 
एक दशकअघि स्थापना गरिएको व्यासको टावरबाट छाङरु, तिङकरका साथै सीमावर्ती भारतीय क्षेत्रका बासिन्दाले पनि मोबाइल सेवा उपभोग गर्दै आएका थिए । सामान्य अवस्थामा व्यासको टावरबाट एकपटकमा ३५ ग्राहकले एकसाथ कुरा गर्ने क्षमता रहेको टेलिकम दार्चुलाले जनाएको छ । स्काई फोनको यो टावरबाट हाल क्षमताभन्दा धेरै कम काम भइरहेको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो । टावरमा प्राविधिक समस्या आएको र ग्राहक सङ्ख्या धेरै भएकाले मोबाइल सम्पर्क गर्न असहज भएको उहाँको भनाइ छ ।

यस्तै यसपालिको अत्यधिक हिमपातले टावरमा धेरै क्षति भएको हो । एन्टेनालगायतका उपकरणमा क्षति पुगेको टेलिकमले जनाएको छ । सौर्यऊर्जा प्रणालीमार्फत सञ्चालन भइरहेको व्यासको टावरमा ३२ मध्ये २४ सोलार प्यानल क्षतिग्रस्त भएका छन् । टेलिकमको स्काई टावरले काम नगर्दा सदरमुकामदेखि टाढाको बस्तीका स्थानीयवासी र आफन्तसँग सम्पर्क गर्न सकिएको छैन । अहिले  टावरमा आठ सोलार प्यानल छन् । स्काई प्रविधिको व्यासको टावरमा क्षमता बढाउन नयाँ उपकरणको माग गरिएको गुरुङले बताउनुभयो । पछिल्लो समय दोस्रोपटक थप सामग्री माग गरिएको छ । उक्त टावरलाई स्तरोन्नति गरेमात्रै यस क्षेत्रमा फोनका पहुँच सहज हुन्छ ।

हाल सेटेलाइट प्रविधिमार्फत व्यासको टावरबाट ६५० केभीपिएस क्षमताबाट सेवा दिइएको छ । नयाँ उपकरण जडान गरिएपछि २ एमबीपिएस क्षमताबाट सेवा दिइने उहाँले बताउनुभयो । नेपाल टेलिकमले व्यास क्षेत्रको छाङरुमा नमस्ते मोबाइलको नयाँ टावरसमेत राख्ने गरी सम्भाव्यता अध्ययन गरेको छ ।

व्यासको टावरबाट हाल झण्डै एक हजार उपभोक्ताले सेवा लिइरहेको टेलिकम दार्चुलाको भनाइ छ । भौगोलिक विकटताले रेडियो लिङ्कमार्फत टावर सञ्चालन हुननसकेको र सेटेलाइटमार्फत लिङ्क गराएर व्यासको टावर एक दशकदेखि सञ्चालन हुँदै आएको थियो । मोबाइल टावरले प्रभावकारी काम नगर्दा व्यास क्षेत्रमा रहेको प्रहरी चौकीमा पनि सञ्चार सम्पर्क गर्न समस्या भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप