बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान दिवस मनाउने/नमनाउनेमा प्रदेश २ को सत्तारुढ दल विभाजित

आइतबार, २२ भदौ २०७६, ०९ : ५८
आइतबार, २२ भदौ २०७६

जनकपुर । असोज ३ गते नजिकिदै गर्दा प्रदेश नम्बर २ को सत्तारुढ दलहरु संविधान दिवस मनाउने वा नमनाउनेमा दुई कित्तामा विभाजित भएका छन् ।

प्रदेश २ सरकारले मन्त्रिपरिषद्बाटै संविधान दिवस मनाउने निर्णय गरेपछि सत्तारुढ दलहरुभित्र विवाद देखिएको हो ।

संविधानसभाबाट संविधान जारी भएपछि आन्दोलनरत मधेशवादी दलहरुले विरोधस्वरुप संविधान जलाएका थिए । देशका बाँकी भागमा दिपावली गरिरहँदा तराई–मधेशमा भने ‘ब्ल्याक आउट’ गरिएको थियो ।

त्यसयता, मधेशवादी दलहरुले असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै आइरहेका छन् । मधेश आन्दोलनले उठाएका मागहरु सम्बोधन नभएको भन्दै उनीहरुले संविधान संशोधनको माग उठाइरहेका छन् ।

यसपटक भने मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वको प्रदेश नम्बर २ को सरकारले संविधान दिवस मनाउने तयारी गरेपछि सत्तारुढ दलहरु कित्तामा विभाजित भएका छन् ।

गत वर्ष संविधान दिवसलाई वेवास्ता गरेको सरकारले यसपटक भने संविधान दिवस औपचारिकरुपमा मनाउने तयारी गरेको छ । तर, सत्ता सहयात्री राजपा नेपालले भने संविधान दिवसको विरोध गर्दै मनाउने कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रदेश नम्बर २ सरकारका मन्त्रीपरिषद्का सदस्यहरु अहिले संविधान दिवस मनाउने वा नमनाउने विषयलाई लिएर धु्रवीकृत बनेका छन् ।

मुख्यमन्त्री राउतलगायत समाजवादी पार्टीबाट बनेका मन्त्रीहरु संविधान दिवस मनाउने पक्षमा छन् भने सत्ता सहयात्री राजपा नेपालका मन्त्रीहरु संविधान दिवसका दिन विरोध दिवस मनाउने अडानमा छन् । 

राजपा नेपालले संविधान दिवसलाई विरोध दिवसकै रुपमा मनाउने निर्णय गरेपछि प्रदेश २ सरकारमा सहभागी राजपा नेपालका मन्त्रीहरुसमेत पार्टीकै लाइनमा अगाडी बढ्ने बताउँदै आइरहेका छन् ।

प्रदेश नम्बर २ सरकारमा राजपा नेपालको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश २ सरकारले असोज ३ गते संविधान दिवस औपचारिकरुपमा मनाउनेबारे आफू लगायत राजपा नेपालका कुनै पनि मन्त्रीलाई जानकारी नगराइएको बताउँछन् । प्रदेश २ सरकारको मन्त्रीपरिषद्बाट संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय गरिएको दिन राजपा नेपालबाट मन्त्री बनेकाहरुको उपस्थिति नरहेको उनको दावी छ ।

संविधान संशोधनको मुद्दा यथावत नै रहेकोले यथास्थितिमा संविधान दिवसका दिन हर्षोल्लास गर्न सक्ने स्थिति नरहेको मन्त्री सोनलले बताए । मन्त्री सोनलले भने, ‘जुन संविधान जारी गर्नका लागि मधेशी जनता माथि लाठी चार्ज गरियो, कर्फ्यु लगाइयो, गोली दागियो, त्यसमा रहेका विभेदपूर्ण बुँदा संशोधन नभएसम्म हामी विरोधस्वरुप विरोध दिवस मनाउछौँ ।’

यता, प्रदेश नम्बर २ को सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले भने संविधान दिवस मनाउनुु पर्ने बताए । उनले भने, ‘प्रदेश सरकारले संविधान दिवस औपचारिकताका लागि भएपनि मनाउनु नै पर्ने हुन्छ ।’

मन्त्री यादवले प्रदेश सरकारले संविधान दिवस मनाउने निर्णय राजपा नेपालका मन्त्रीहरुलाई पनि जानकारी गराइने बताए । 

उनले संविधान दिवस मनाउदैमा संविधान संशोधनको मुद्दा छाडेको रुपमा अर्थ्याउन नमिल्ने जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप