केन्द्रीय संस्करण
सन्दर्भः बीपीजयन्ती

प्रतिभाका पुञ्ज बीपी कोइराला  !

person explore access_timeभदौ २४, २०७६ chat_bubble_outline0

 नेपाली राजनीतिक नेतृत्वमा जननायकको सम्बोधनमा बोधित हुने एक मात्र नायक हुन् उनी । आधुनिक राजनीतिका चिन्तक   मनोवैज्ञानिक आख्यानकार, विष्णात गद्यकवि, कुशल विश्लेषक र सफल अधिवक्ता पनि हुन् बीपी । जो नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे । अत्यन्त श्रद्धा लाग्दा वा भावावेग र दास मानसिकता हुँदा पनि कतिपय मानिसलाई देवत्वकरण गरी गरुह्रुँगो विशेषणको भारी बोकाएर हुर्मत लिने मजाकिलो प्रवृत्ति हामीमा नभएको भने  होइन । वास्तवमा नेपालमा अहिलेसम्म जन्मिएका हातको औँलामा गन्न सकिने राजनेताको झलक दिन खोज्ने राजनीतिज्ञहरुमध्ये  बहुमुखी क्षमता भएका व्यक्ति विश्वेश्वरप्रसाद कोइराला नै प्रथम पङ्तिमा आउँछन् । 

बीपी कोइरालाका व्यक्तित्वका मुख्य पाटा साहित्य र राजनीतिका  दुई धार हुन् । नेपाली धर्तीको लागि शोधमूलक पक्ष र राष्ट्रिय गौरवको स्रोत बनेको छ ।  उनको यही बहुआयामिकतालाई सर्सर्ती हेर्ने चेष्टा यो जन्मजयन्तीमा सान्दर्भिक हुन्छ नै । 
सिर्जना संसारका बीपी 
‘साहित्यमा सम्राट  पनि नाङ्गो  हुन्छ, कला बन्धन हैन स्वतन्त्रता चाहन्छ ।’ यही  मान्यतामा आफ्नो सिर्जना संसारमा कलम घुमाए उनले । भारतको बनारसमा नौ कक्षा पढ्दैको बेला कलम चलाउन सुरु गरेका थिए उनले । हिन्दी आख्यान साहित्यका हस्ती मुन्सी प्रेमचन्दको सम्पादनमा प्रकाशित हुने ‘हंस’  भन्ने पत्रिकामा बीपीको पहिलो कथा छापियो ।

विख्यात समालोचक शान्तिप्रिय द्विवेदी, अर्का भारतीय काव्यतारा जयशङ्करप्रसाद, बनारस हिन्दु विश्वविद्यालयका कला विभागका निर्देशक रामकृष्णदास, रामानन्द चटर्जी, केदार चटर्जीजस्ता हिन्दी वाङ्मय साधकहरुकै सहवासले बीपीको साधना संसार झन् उजिलिँदै गएको कुरा इतिहासको उत्खननले देखाउँछ । प्रारम्भमा हिन्दी भाषामा आख्यान अभ्यासमा लिप्त उनलाई नेपाली भाषामा लेख्न प्रेरकीय भूमिका दार्जलिङमा अध्यापनरत सूर्यविक्रम ज्ञवालीले दिएका थिए । हिन्दीका दुई विशिष्ट तत्कालीन साहित्यिक पत्रिकाहरु ‘हंस र विशाल भारत’ हरुले बीपीको आख्यान लेखनको उत्साहलाई साहित्यिक स्तरमा उचाले । यस क्रममा उनको कथा नेपाली प्रतिष्ठित पत्रिका शारदामा झुल्किएपछि त्यसले निकै खैलाबैला मच्चायो । तत्कालीन नेपाली कथा प्रवृत्ति मूलतः पौराणिक, उपदेशपरक र प्रतिकात्मक धाराका मात्र थिए ।

बीपीले आफ्ना कथामा पृथक् शैली र विषयवस्तुको जन्म दिन पुगे । महिलावर्गका समस्या, यौनिक कुण्ठा, जीवनप्रतिको उदासीनता जो यथार्थ मनोविज्ञानमा आधारित थिए र जो पूरै नौलो प्रयोग बनेर आयो । बीपीका आधुनिक मनोवैज्ञानिक कथाबाट प्रभावित हुँदै सूर्यविक्रम ज्ञवालीले उनको अनुमतिबाट कथासङ्ग्रह प्रकाशित गर्ने निश्चय भयो । पाठक संसारमा निकै हलचल ल्याएका उनका यथार्थवादी मनोवैज्ञानिक कथाले नेपालको तत्कालीन निरङ्कुश सत्तालाई गतिलो झड्का दिएकै कारण  वि.सं  १९९९ मा बीपीलाई पक्राउ गरियो । उनका कथाको पाण्डुलिपि जफत गरी ज्ञवालीको समेत गिरफ्तार भयो । यो धरपकडले एकातिर बीपीको लेखन जोसलाई ऊर्जा दियो भने अर्कोतिर उनी पाठकहरुको जिज्ञासा र आस्थाका पात्र बन्न पुगे । वि.सं. २००३ मा  जेलबाट छुटेपछि अर्को वर्ष उनको कथा प्रकाशित भयो । मूलतः सामन्तचिन्तनको स्कुलिङमा हुर्किएका मुठ्ठीभरका  ढोँगी सम्भ्रान्त उनको लेखनको  विरुद्धमा थिए । छाडावादी, अश्लील र मर्यादाविहीन साहित्य भनी उनलाई हतोत्साही बनाउने निकृष्ट चेष्टा थियो यो परिघटना । 

बीपीले रसियाली लेखकहरु पुस्किन, टाल्सटाय, चेखोब, गोर्कीका कथा लेखन धारालाई राम्रैसित पारख गरेका थिए ।  यस्तै फ्रेन्च लेखक  ‘एतानो फ्रान्स, मोपासा र ह्युगो’ का लघुकथा र लेखन शैली रुचिकर मान्थे । मनोवैज्ञानिक प्रवृत्ति बीपीको चाख भएकोले अल्बर्ट कामुलाई उनले नेपालीमा भित्र्याए र सात्र्रको अस्तित्ववाद पनि । यसरी पश्चिमेली  र पूर्वीय वाङ्मय उदधिमा चुर्लुम्म डुबेका बीपीले नेपाली साहित्यमा नयाँ आयाम नै स्थापित गराएर  छाडे । विश्व प्रसिद्ध मनोविज्ञ सिग्मन्ड फ्रोइड बीपीलाई मन पर्ने पात्र बने । उनी सङ्कोच नमानी भन्छन्– ‘फ्रयड बाहिरिया  क्रान्तिभन्दा भित्री क्रान्ति हो, त्यसैले मैले उनलाई रोजेँ ।

म जतिसुकै द्वन्द्व र अन्तरद्वन्द्वमा परेँ पनि भावना, अनुभूति र संवेदनालाई जोड दिन चाहन्छु’ । देवकोटा, लेखनाथ, वाण भट्ट, कालिदास र वेदव्यासका सिर्जनाहरु उनको अध्ययनका चाखिला विषय थिए । लेखनलाई परिष्कार गर्न बीपी समालोचकलाई  साहित्यको रजहाँस (दूधको दूध, पानीको पानी छुट्याउने क्षमता) भनेर आदर गर्छन् । नेपाली लेखकहरु आलोचना, प्रतिक्रिया र टीकाटिप्पणी सुन्न, सहन र पचाउन सक्ने क्षमताका  भइसकेको छैनौँ । लेखकहरु लेख्न त लेख्छन् तर लेखनमा लेखकको अनुभवभन्दा बाहिरी प्रभाव ज्यादा रहेको पाइन्छ । हाम्रा लेखकमा अध्ययन, चिन्तन र गम्भीर अनुभवको कमी छ । त्यसैले त बीपी लेखकहरुलाई समालोचकको छडी चखाउन बोल्छन्– ‘म सदा समालोचकको त्रासमा रहन्छु, हुन त समालोचकको छड कतै कुत्कुयाउँछ, चिलाउने ठाउँमा कन्याइदिन्छ, कतै लिखा परेको ठाउँमा ठुङ मार्छ, घाउ चिरिदिन्छ र रालसिँगान पुछिदिन्छ ।’ यसरी समालोचकलाई बीपी सिर्जना संसारको महान्  सुधारक, उद्धारक र मार्गद्रष्टा भनी चित्रण गर्थे ।  

सुन्दरताको सिर्जना गर्ने, मानव अनुभूतिमा नयाँ आयाम,  सत्यलाई सुन्दर बनाउने, भावनालाई परिष्कार पार्ने, मानव स्वतन्त्रताको सम्भावनालाई विस्तृत पार्ने  स्रष्टाका लागि  साहित्यको सीमा आकाश हो भनेर किटान गरिदिए बीपीले । दोषी चस्मा, श्वेतभैरवी जस्ता कथा, मोदी आइन, तीन घुम्ती, हिटलर र यहुदी, नरेन्द्र दाइ, बाबु आमा र छोरा जस्ता उपन्यास यौन कुण्ठा, नारी समस्या र अन्तरद्वन्द्वको मनोलोकमा खुल्ला विचरण गरेर नेपाली साहित्यको कोसे ढुङ्गा बनेका छन् । यसैले त उनी राजनीतिलाई सुरक्षा र कानुनको आड खोज्ने साँघुरो किल्ला भन्छन् तर साहित्यलाई अथाह र अनन्त आकाशकै एकाकार !

राजनीतिक मञ्चका बीपी 
बीपी राजनीतिलाई नैतिकतामा हेर्न रुचाउँथे । त्यसैले राजनीति ‘नैतिकताको व्यापक रूप हुनसक्नुपर्छ’ भन्थे । राजनीति नैतिकताकै विम्ब हुन सकेन भने यो नूतनभन्दा पुरातन, भावनाभन्दा तर्क, नैतिकताभन्दा ऐनकानुनको ढर्रा हुन जान्छ भन्ने उनको मान्यता थियो ।  राजा महेन्द्र जनता प्रजातन्त्रका लागि दीक्षित नभएसम्म उनीहरुलाई अदपमा राख्नुपर्छ भनी राजनीतिमा जनसहभागिताको न्यूनीकरणमा जोड दिन्थे । तर बीपी यसको विपरीत उभिएर बोल्थे— आज्ञा वा  उपकारस्वरूप प्राप्त भएको वस्तुले मानिसलाई कहिल्यै पनि सन्तुष्टि दिन सक्दैन भनी वकालत गर्थे । राजनीतिक दलको कार्यभारलाई स्पष्ट पार्दै बीपी विचार बोल्छ– आकाङ्क्षालाई विचारमा, विचारलाई मतमा, मतलाई मागमा र मागलाई इच्छाशक्तिमा परिणत गराउने क्षमता दलहरुसित हुनुपर्छ ।

त्यसैले उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई क्रमशः आदर्श (ऐना) सिद्धान्त (चिन्तन मननपूर्वक दिमागीहरुबाट सिर्जित सूत्र) समाजवाद (व्यवहारमूलक जनताले अनुभूति गर्ने कार्यक्रम) का त्रिकोण दौडाउने अठोट लिएका थिए । राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना हो । प्रजातन्त्रले राजनीतिक समानतालाई प्रतिस्थापना गर्छ भने आर्थिक समानता वा समताको निम्ति समाजवादले योगदान पु¥याउँछ, यही सटिक राजनीतिक विचार नै बीपी विचारबिन्दु हो । वास्तवमा राष्ट्रियताको  अर्थ हो देशमा एकता हुनु, देशभरका सबै मानिस आपूmलाई एक परिवार सम्झियून्, त्यहाँ जात, धर्म, वर्ण, लिङ्ग, नश्ल गौण कुरा हुन्छ । यही आदर्शको धरातलमा प्रजातन्त्र र समाजवादलाई गति दिनुपर्छ । यसरी जनताका लागि राजनीति हुनुपर्छ भन्ने जनवादी चिन्तन नै बीपीको चुरो हो । 

   विकासवादी एवं सामाजिक समाजवादी व्यक्तित्व :
 बीपी देशमा भौतिक एवं मानसिक विकास अपरिहार्य आवश्यकता ठम्याउँथे । वित्तीय बन्धनले आज सारा विश्व एउटा डल्लो हुँदैछ । तमाम संसार एकाइमा परिणत हुँदैछ । यो स्थितिमा अविकसित राष्ट्रहरुलाई विकसित राष्ट्रहरुले सहयोग गर्न अनिवार्य छ । हाम्रो देशको सन्दर्भमा गाउँलेलाई बेवास्ता गर्ने कुनै पनि विकास  विकास होइन । अनि विकसित मुलुकको तडकभडक देखेर त्यसैमा हुरुक्क भई हामीले विकासलाई रोमान्टिक वस्तुजस्तो नठानौँ । प्रजातन्त्र र विकास परस्पर विरोधी नभई एक अर्काका पूरक हुन् ।

विकासप्रेमी उनका यी सुन्दर सूत्र कति कालजयी भएर नाचेका छन् । परनिर्भरतालाई न्यूनीकरण गर्दै देशमा उत्पादन बढाएर आफ्नै भूगोल अनुरुपको विकासे योजना बीपीले पस्किए । समाजवादको परम्परावादी वा कल्पनामूलक सोचसित विमति जनाउँदै बीपीले यसरी बुझाए– हाम्रो मुलुक गरिब छ । यो किसानको मुलुक हो । जसले किसानको, हलो जोत्नेको भलाइ गर्छ, जसले गाउँ र त्यहाँका बासिन्दाको अवस्था चिनेको छ, गाउँको भलाइको जुन नीति र कार्यक्रम छ त्यही हो समाजवाद । बीपीले समाजवादलाई क्रियात्मक बनाउन यसरी जोड गरे । अनि ब्रेडले मात्र हैन मान्छे ब्रेनले चालित हुन्छ भन्दै भौतिक एवं वैचारिक वुभुक्षा पूर्ण गर्न चाहन्थे समाजवादमा उनी । जुन काम गर्दा नेपालका गरिब किसान गाउँलेको उत्थान र हित हुन्छ, त्यही समाजवाद हो । यसैले बीपीले नेपालमा समाजवाद सबल गर्न लघु उद्यम र स्वदेशी वस्तुको प्रयोगलाई जोड दिएका थिए । आधुनिक लोकतान्त्रिक समाजवादका व्याख्याता जर्मन प्राध्यापक थोमस मयर भन्थे– अधिकार भनेको राजनीतिक मात्र होइन, आर्थिक, सामाजिक र सांस्कृतिक उत्थान पनि हो । यसैले सबै पक्षको यात्रा मात्रा मिलाएर गर्न सकेमा लोकतन्त्र सामाजिक हुनसक्छ । बीपीको विचार पनि यही निकट छ । 

यसरी बीपी एक न्यायप्रेमी व्यक्तित्वको रूपमा पनि देखिन्छन् । उनको मान्यता यसरी बोल्छ– न्याय कुनै अभेद्य रहस्य हैन । प्रत्येकलाई त्यसको विरेचन एवं निरूपण गर्ने  शाश्वत हक हुन्छ । तरुणवर्गप्रति सचेत गराउँदै तरुणलाई राजनीतिक दलका साथी, त्यागका प्रतिमूर्ति, समाजवादको नाममा प्रजातन्त्रको हत्या हुन नदिने र प्रजातन्त्रको नाममा शोषण स्वीकार नगर्ने कर्तव्यका तागत भनी मान्थे । क्रान्तिकारी व्यक्तित्वका बीपीको मान्यता थियो– प्रजातन्त्र ल्याउन सङ्घर्ष गर्नु हाम्रो अधिकार हो । तर म अनियन्त्रित सङ्घर्ष चाहन्न । म क्रान्तिवादी हूँ, आतङ्ककारी हैन, ‘क्रान्ति’ मेरो अर्थमा जनताको सक्रिय विरोधको त्यस्तो स्थिति हो । जसमा जनताले  आफूविरोधी सरकारमाथि यस्तो प्रभाव पार्छ कि त्यो सरकारले जनताको हकअधिकार दिन बाध्य हुन्छ । बीपी धर्मको मामलामा निरपेक्ष र सापेक्ष भनेर वकालत नगरी ‘धार्मिक स्वतन्त्रता’ भन्न रुचाउँथे ।

अधिनायकवादी शासनले नोकरशाहीको रूप त तयार गर्न सक्छ तर जनताले आपूmलाई त्यसमा समाहित गर्न सक्दैन भन्थे बीपी । यसरी बीपी साहित्य, चित्रकला, सङ्गीत, राजनीति, कानुन र विश्वका समग्र घटनाका विश्लेषक थिए । त्यसैले त उनलाई बहुमुखी प्रतिभाका पात्रको रूपमा निर्धक्क भएर चित्रण गर्न सकिन्छ । भाषा भनेको आम मान्छेको भावनालाई ध्वनिका रूपमा अभिव्यक्त गर्ने माध्यम हो भनी उदार परिभाषा दिन्थे उनी । भावुक, चिन्तनशील, विद्रोही बीपी आत्मा अडिन स्वतन्त्रता चाहिन्छ भन्थे । 
                                                    
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...