मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण

मङ्गलबार, २४ भदौ २०७६, १३ : २२
मङ्गलबार, २४ भदौ २०७६

सियोल– उत्तर कोरियाले मंगलबार दुई वटा साना क्षेप्यास्त्र पूर्वी कोरियाली द्वीपमा परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । संयुक्तराज्य अमेरिकासँग वार्ताका लागि आह्वान गरेको केही घण्टा नतिब्दै उत्तरले नयाँ हतियार समुद्री तटतर्फ प्रहार गरेको हो ।

उत्तर कोरियाले आफूमाथि लागेका प्रतिबन्धहरु कम्तीमा आंशिक फुकुवा हुनुपर्ने आग्रह अमेरिकासमक्ष राख्दै आएको छ । प्रतिबन्धहरु फुकुवा गर्नेतर्फ कुनै कदम नचालिए वार्ताको औचित्य नै नरहने कोरियाली नेता किम जोङ अनले राख्दै आएका छन् । 

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच पुनः वार्ता शुरु गर्ने सहमति भइसकेको छ, तर वार्ताको मिति अझै तय भइसकेको छैन । उत्तर कोरियाले सीमित आणविक निरस्त्रीकरणको बदलामा कोरियाको सुरक्षाको प्रत्याभूति हुनुपर्ने तथा अमेरिकी अग्रसरतामा लागेका प्रतिबन्ध फुकुवा हुनुपर्ने पूर्वशर्त राख्दै आएको छ ।

उत्तर कोरियाले मंगलबार प्रहार गरेको सीमित क्षमताका दुई वटा क्षेप्यास्त्र करिब ३३० किलोमिटर टाढा कोरियाली समुद्रमा खसेका थिए । यी क्षेप्यास्त्रहरु राजधानी प्योङयाङको बाहिर फ्यानगानबाट प्रहार गरिएका थिए । 

दक्षिण कोरियाली सेनाले यी हतियार ब्यालिस्टिक क्षेप्यास्त्र वा रकेट आर्टिलरी के हो भन्ने स्पष्ट नभएको जनाएको छ । कोरियाली सेनाका प्रवक्ता किम जून–राकले उत्तर कोरियाले प्रहार गरेका हतियारको विस्तृत प्राविधिक क्षमता जाँच्ने कार्य भइरहेको बताए । 

गत जुलाईदेखि यो आठौं परीक्षण हो । यसअघि प्रहार गरिएका हतियारहरु छोटो दूरीका क्षेप्यास्त्र र रकेट थिए । विज्ञहरुका अनुसार यी हतियारले अमेरिकी सैनिक अखडा सहित दक्षिण कोरियाका कुनै पनि स्थानमा प्रहार गर्नसक्ने क्षमताका छन् । 

सोमबार राति, उत्तर कोरियाली उपविदेशमन्त्री चोई सोन हुईले आगामी सेप्टेम्बरको अन्त्यदेखि अमेरिकासँग पुनः वार्ता हुने बताएका थिए । उनले उत्तर कोरियालाई स्वीकार्य नयाँ प्रस्ताव ल्याउन पनि अमेरिकासँग आग्रह गरे । उनले यदि अमेरिकाले अघि सार्ने प्रस्ताव उत्तर कोरियालाई स्वीकार्य नभएको अवस्थामा दुबै देशबीचको वार्ता स्वतः अन्त्य हुने स्पष्ट गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको घोषणा निकै चाखलाग्दो रहेको बताए । ‘हेरौं के हुन्छ’ ट्रम्पले भने, ‘यहीबीच, हाम्रा सैनिकका अवशेष फिर्ता आएका छन् र लामो समयदेखि नयाँ आणविक परीक्षण पनि भएका छैनन् ।’

ह्वाइट हाउसले नयाँ हतियार परीक्षणका बारेमा जानकारी प्राप्त भएको र यस बारेमा सहयोगी राष्ट्रसँग छलफल भइरहेको जनाएको छ ।  अमेरिका र उत्तर कोरियाका शीर्ष नेताबीच वार्तालाई निरन्तरता दिने सहमतिपछि पनि हालैका दिनहरूमा यसबारे कुनै प्रगति हुन सकेको छैन । तर दक्षिण कोरियासँग अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास जारी राखेको भन्दै विरोधमा उत्तर कोरियाले पनि एकपछि अर्को गर्दै छोटो दूरीका हतियार परीक्षणलाई निरन्तरता दिएको थियो ।

‘अमेरिकासँग हामीले अपेक्षा गरेको वार्ता विस्तारै हराउँदै गएको छ र अहिलेसम्म अपनाइएका उपायहरूलाई हामीले पुनः परीक्षण गर्न बाध्य पारिएको छ,’ उत्तर कोरियाली उप–विदेशमन्त्री चो सोन हुईले जारी गरेको एक विज्ञप्तिलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

चोको भनाइ यसै हप्ताको शुरूमा अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियाली गतिविधिलाई ‘छलकपटपूर्ण व्यवहार’को संज्ञा दिँदै यसलाई वेवास्ता गर्न नसकिने बताएपछि उत्तर कोरियाको यो भनाइ आएको हो । 

नेता चोले भने, ‘यो किसिमको भाषा असंगतपूर्ण, उत्तेजक र अपमानजनक थियो । अमेरिकाले हाम्रो धैर्यलाई परीक्षण गर्नु गलत छ । यसले पछि पछुताउनुपर्नेछ ।

उत्तर कोरियाको अमेरिकी कूटनीतिज्ञप्रतिको कटु आलोचना एक हप्ता पछि पुनः दोहोरिएको छ । अघिल्लो साता पोम्पेओलाई सङ्केत गर्दै उनको बोली र व्यवहारमा समस्या रहेको भन्दै यसले वार्ताको सम्भावनालाई चुनौती दिएको बताइएको थियो । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप