शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्दैन डेङ्गु, तर यी कुरामा ध्यान दिनुस्

मङ्गलबार, २४ भदौ २०७६, १५ : ५४
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौँ । डेङ्गु संक्रमणको बारेमा स्पष्ट सूचना प्रवाह नगर्दा समस्या देखिएको छ । डेङ्गु एक व्यक्तिमा लागेपछि अर्काे व्यक्तिमा सर्छ भन्ने भ्रम धेरै आम नागरिकमा देखिन्छ । जुन गलत हो । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन भन्छन्, ‘सहि सूचना प्रवाह नगर्दा नागरिकहरु डराउनुपर्ने अवस्था सिर्जना भयो । मान्छेबाट मान्छेमा डेङ्गु सर्दैन भन्ने जानकारी नहुँदा त्रासले अस्पताल आउनेहरुको संख्या पनि धेरै छन् ।’

देशकै राजधानीका नागरिकलाई त सत्य सूचना प्रवाह गर्न सकिएको छैन भने अन्य क्षेत्रको अवस्था कस्तो होला ।  डेङ्गु लामखुट्टेको टोकाइबाट हुने भएको हुँदा डेङ्गु बिरामीबाट अर्काे बिरामीमा नसर्ने बताउँदै डा. पुनले डेङ्गु एडिज एजेप्टी जातको लामखुट्टे र डेङ्गु संक्रमित लामखुट्टेले व्यक्तिलाई टोक्यो भने डेङ्गु लाग्ने  बताए ।

साथै संक्रमित व्यक्तिको रगत वा कुनै अङ्ग प्रत्यारोपणबाट, गर्भावस्थामा आमालाई डेङ्गु लागेमा शिशुमा समेत सर्ने सम्भावना हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

४० लाख भन्दा धेरै नागरिक बसोबास गर्ने काठमाडौँ उपत्यकामा अहिलेसम्म डेङ्गु नियन्त्रणको लागि खासै कार्यक्रम गरेको देखन्न् ि। जसले गर्दा डेङ्गुको समस्या झनै भयावह बन्दै गइरहेको अवस्था छ ।

१० प्रतिशतलाई मात्रै लक्षण

सरुवा रोग अस्पतालका प्रवक्ता तथा डा.अनुपराज बास्तोला पनि डेङ्गु एक व्यक्तिबाट अर्काे व्यक्तिमा नसर्ने बताउँछन् । उनी भन्छन्, ‘डेङ्गु संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो संक्रमण एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्दैन ।’ 

डा. बास्तोलाका अनुसार ‘डेङ्गु लागेको व्यक्तिहरुमध्ये १० प्रतिशत मान्छेलाई मात्रै लक्षण देखिन्छ । ५ प्रतिशतलाई फ्लु जस्तो संक्रमण देखिन्छ भने ५ प्रतिशतलाई डेङ्गु फिभर देखिन्छ । डेङ्गु ज्वरो आउने बिरामीहरुमा केही—केही व्यक्तिलाई मात्रै समस्या र जटिलता आउन सक्छन् त्यस्ता बिरामीलाई अस्पतालमा राखेर उपचार गर्न सकिन्छ ।’

लामखुट्टेले टोकेको ४ देखि ७ दिनमा लक्षणहरु देखा पर्छ

रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गु संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिनसम्म डेङ्गुका विभिन्न लक्षणहरु देखा पर्न थाल्दछ ।

सामान्य प्रकारका लक्षणहरु

रुघा लाग्नु, सामान्य ज्वरो आउनु, टाउको दुख्नु (आँखाको पछाडीको भागमा), वान्ता आउनु, वाकवाकी लाग्नु, पेट दुख्नु, पखाला लाग्नु, मांशपेसी, हाड र जोर्नी दुख्नु डेङ्गुका लक्षणहरु हुन् । यस्तै छालामा रातो फोका देखिनु । यस्ता लक्षणहरु ४ देखि ७ दिनमा देखा पर्न थाल्छ ।

गम्भीर लक्षणहरु

डेङ्गु सक्रमण भएको थाहा पाउनको लागि माथिको लक्षणहरुसँगै बिरामीलाई उच्च ज्वरो (१०४डिग्री फरेन्हाइटसम्म) आउनु, नाक र मुखबाट रक्तश्राव हुनु, रगतमा प्लेटलेट्सको मात्रामा कमी आउनु रक्तचाप अत्यधिक घटनु डेङ्गुका गम्भीर लक्षणहरु हुन् ।

डेङ्गु लागेका व्यक्तिले ध्यान दिनुपर्ने

डेङ्गु ज्वरोको संक्रमण भएको व्यक्तिले घरमा बसेर आराम गर्ने । झोलीलो खानेकुराहरु खाने । दुखाई कम गर्नको लागि प्यारासिटामोल खाने, धेरै पेट दुख्ने, वान्ता हुने, गिजाबाट रगत बगेको बगेकै भएको खण्डमा अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ ।

यस्ता समस्या भएको व्यक्तिले तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । सामान्य अवस्थामा भने घरमै बसेर प्यारासिटामोल खाने, झोलिलो कुराहरु खाने, आराम गर्दा डेङ्गु निको हुन्छ । जेष्ठ नागरिक, गर्भवती महिला, बालबालिका अन्य स्वास्थ्य समस्या भएको व्यक्तिको हकमा भने विशेष ध्यान दिनुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप