केन्द्रीय संस्करण

नेपाल टेलिकमले सुरु गर्यो सिंगो गाउँपालिका समेट्न सक्ने एफटीटीएच सेवा

person explore access_timeभदौ २४, २०७६ chat_bubble_outline0

काठमाडौं– नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को शुभारम्भ गरेको छ । भाद्र २३ गते एक कार्यक्रमका बीच भगवान गौतम बुद्धको पवित्र भूमि रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा सो सेवाको शुभारम्भ भएको छ । 

प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तथा संसदको सार्वजनिक लेखा समितिका सभापति एवं रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरतकुमार शाहले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई एफटीटीएच प्रविधिको भ्वाइस तथा भिडिओ कल गरेर सो सेवाको विधिवत् शुभारम्भ गरे ।

सो अवसरमा प्रमुख अतिथि शाहले सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिदै ग्रामीण भेगमा उच्च गतिको इन्टरनेट सेवा जडान भएकोले सबै समुदायलाई त्यसको उच्चतम प्रयोग गरी लाभान्वित हुन आग्रह गरे । 

नेपाल टेलिकम भैरहवा क्षेत्रीय निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले नेपाल टेलिकमले अंगिकार गर्नुपर्ने विभिन्न झञ्झटिला कानुनी प्रावधान र यसका कारण भोग्नु परेका समस्या बारेमा उल्लेख गर्दै कम्पनी सदैव ग्राहक सेवामा केन्द्रित रहेको बताए ।  

सम्भवतः नेपालमै पहिलो पटक गाउँपालिका स्तरमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने सुअवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै निर्देशक मालाकारले आगामी दिनमा अन्य गाउँपालिकाहरुमा पनि क्रमशः सेवा विस्तार गर्दै लगिने जानकारी दिए ।

उक्त कार्यक्रममा त्यस भेगका उद्यमी, व्यवसायी, संघ संस्थाका प्रमुख, गाउँपलिकाका पदाधिकारी लगायत सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । गाउँमा सञ्चार सेवाहरु उपलब्ध नहुँदा र हुँदाका अवस्थाका बारेमा तुलनात्मक व्याख्या गर्दै समग्र गाउँपालिकाको तर्फबाट गैडहवा गाउँपालिकाका प्रमुख बच्चुलाल केवटले आफ्ना भनाइहरु राखेका थिए । 

कार्यक्रममा एफटीटीएच खरिद गर्ने ग्राहकहरुलाई राउटर (सीपीई) हस्तान्तरण गर्दै खादा ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा त्यस भेगका जनतालाई निःशुल्क प्रिपेड सिम समेत वितरण गरिएको थियो । 

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेज समेत उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । 

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी र अत्याधुनिक पनि छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...