केन्सिङ्टन ओभल स्टेडिमय बार्बाडोसस्थित ब्रिजटाउनको पश्चिमी भागमा रहेको छ । यो स्टेडियम क्यारेबियन क्षेत्रकै सबैभन्दा पुरानो क्रिकेट स्टेडियममध्ये एक हो । यो स्टेडियमले एक सय २० वर्ष लामो इतिहास बोकेको छ ।
आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा यो रङ्गशालामा फाइनल खेल खेलाउने कार्यक्रम रहेको छ । यो स्टेडियम वेस्ट इन्डिजको सबैभन्दा बढी सुविधा भएको क्रिकेट स्टेडियम पनि हो । वेस्ट इन्डिजको किन्सिङ्टनसँग नाम जोडिएको यो स्टेडियम निकै भव्य पनि छ ।
केन्सिङ्टन ओभलसँगै नाम जोडिएर अस्ट्रेलियामा पनि केन्सिङ्टन ओभल एडिलेड र केन्सिङ्टन ओभल डुनेडिन क्रिकेट स्टेडियम रहेका रहेका छन् । सन् १८८२ मा पिकविक क्रिकेट क्लबले यो स्टेडियमलाई आफ्नो बनाएपछि यहाँ क्रिकेट खेल्न थालिएको हो ।
यो स्टेडियममा पहिलो अन्तर्राष्ट्रिय खेल सन् १८९५ मा आयोजना भएको थियो । यो स्टेडियममा सन् १९३० मा वेस्ट इन्डिज र इङ्ल्यान्डबिच पहिलो टेस्ट खेल आयोजना भएको थियो । सन् २००७ को विश्वकपको फाइनल खेल पनि यही स्टेडियममा खेलाइएको थियो । त्यो विश्वकपमा अस्ट्रेलिया च्याम्पियन बनेको थियो ।
यसका अतिरिक्त सन् २०१० को आईसीसी टी–२० विश्वकपको फाइनल पनि यही स्टेडियममा खेलाइएको थियो । यो स्टेडियममा नवौँ विश्वकपको समूहगत चरणका पाँच खेल, सुपर–८ चरणका तीन खेल र फाइनल खेल खेलाइने छ । यो ऐतिहासिक स्टेडियमको दर्शक क्षमता २८ हजारको रहेको छ ।