शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय
cover-story
फ्लोरिडा

सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियम

सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियम अमेरिकाको फ्लोरिडामा रहेको छ । यो स्टेडियम २५ हजार दर्शक क्षमताको छ । क्रिकेट खेलका लागि अमेरिकामा निर्माण गरिएका केवल दुई स्टेडियममध्ये यो एक हो । 

यो स्टेडियमको रेखदेख र सञ्चालन ब्रोवार्ड काउन्टीले गर्ने गरेको छ । यो स्टेडियमको उद्घाटन सन् २००७ को नोभेम्बर ९ तारिखमा गरिएको हो । यो स्टेडियम निर्माण गर्न सात करोड अमेरिकी डलर खर्च भएको थियो । 

अमेरिकामा क्रिकेटको पिचसहित निर्माण गरिएको यो पहिलो स्टेडियम हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आधिकारिक रूपमा अनुमति दिएको अमेरिकाको यो पहिलो स्टेडियम पनि हो । 

यो स्टेडियममा सन् २०१० मा पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थियो । त्यो खेल न्युजिल्यान्ड र श्रीलंकाबिच खेलिएको थियो । यो स्टेडियममा सन् २०१९ को सेप्टेम्बरमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलाइएको थियो । 

यही स्टेडियममा अमेरिकाले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित पनि हासिल गरेको थियो । यो स्टेडियममा पहिलो पटक सन् २००८ को जनवरीमा किङ मार्टिन लुथर टी–२० प्रतियोगिता खेलिएको थियो । तर, त्यो अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता भने थिएन ।

त्यो प्रतियोगितामा भारत, पाकिस्तान र वेस्ट इन्डिजका खेलाडीहरू पनि सहभागी भएका थिए । यो स्टेडियममा हालसम्म न्युजिल्यान्ड, श्रीलंका, वेस्ट इन्डिज, बंगलादेशलगायत थुप्रै टेस्ट राष्ट्रले पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । 

टी–२० विश्वकपको नवौँ संस्करणमा यो स्टेडियममा समूहगत चरणको चारवटा खेल खेलाइने कार्यक्रम रहेको छ । आगामी विश्वकपमा यो स्टेडियममा पहिलो खेल जुन ११ तारिखमा नेपाल र श्रीलंकाबिच खेलिने छ । त्यसपछि अमेरिका र आयरल्यान्ड, भारत र क्यानडा तथा पाकिस्तान र आयरल्यान्डबिचको खेल पनि यही स्टेडियममा खेलिने छ । 

खेल तालिका