सोमबार, २४ भदौ २०८१
ताजा लोकप्रिय

परम्परालाई चुनौती दिँदै बेहुलाको घरमा केटीले जन्ती लिएर गएपछि...

आइतबार, ०५ असोज २०७६, २३ : ५५
आइतबार, ०५ असोज २०७६

बङ्गलादेश- बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा जताततै छाएका (भाइरल) भएका छन् ।

यसले परम्पराको नाममा हुने महिला अधिकार हननका बिषयमा बहस तीब्र बनाइदिएको छ ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार खाजिदा अख्तर खुशीले सयौँ जन्ती लिएर बेहुला तारिकुल इस्लामको घरमा पुगेकी थिइन् । शनिबार सम्पन्न विवाह बङ्गलादेशको पश्चिमी ग्रामिण जिल्ला मेहरपुरमा भएको हो ।

मुसलमान परम्परा अन्य परम्पराका तुलनामा बढी कट्टर मानिने भएपनि एशियाली यस मुलुकमा भएको विवाह उत्सवले सामाजिक सञ्जालमार्फत विश्वभर चर्चा पाएको छ । खुशीले जन्ती लिएर बेहुलाकहाँ गएको घटनाले विश्वभर स्थापित मान्यतालाई उल्टाएको छ ।

“हो, परम्परागतरूपमा यो असामान्य हो । तर, अन्य दिदीबहीनीहरूले पनि यसलाई ब्यवहारमा ल्याउने शाहस गरून् भन्ने ध्येयका साथ मैले नयाँ चलनको शुरूवात गरेँ,” खुशीले एएफपीसँगको कुराकानीमा आइतबार बताइन् ।

विवाहका लागि बेहुला रहेका इस्लामका अनुसार उनीहरूको यो प्रयोगलाई परिवार र साथीहरूको साथ भएको थियो ।

इस्लामले भनिन्, “महिला पुरूषबीचको समान अधिकारका लागि लिङ्गगत विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ हामीले नयाँ प्रचलनलाई व्यवहारमा ल्यायौँ । यसलाई हाम्रो परिवार र समाजले स्वीकार ग¥यो ।” 

म विश्वस्त छु एक पुरुषले जे गर्नसक्छ त्यो महिलाले पनि गर्न सक्छिन् भन्ने एउटा नयाँ सन्देश हाम्रो विवाहले दिएको छ ।

विवाहपछि उनीहरूको विवाहको फोटो तथा भिडियोहरू अनलाइन तथा सामाजिक सन्जालमा छाएको छ । यसले सामाजिक सन्जालमा विवाहको नयाँ अभ्यासबारेमा तातो बहस शुरू भएको छ ।

विवाह परम्परावादी मूल्यमान्यता दरोसँग गाँजिएको बहुसङ्ख्यक मुसलमान रहेको १६ करोड ८० लाख जनसङ्ख्या रहेको मुलुक बङ्गलादेशका सञ्चारमाध्यमको मुख्य समाचार बनेको छ । 

बङ्गाली दैनिक प्रोथम आलोको वेबसाइटमा लेखक सद्दाक हसनले विवाहबारे लेख्नुहुन्छ, “पक्कै पनि यो हाम्रो संस्कार र संस्कृतिमा ठूलो समाचार हो ।” अन्य लेखक तथा पत्रपत्रिकाले पनि घटनालाई एक फरक अभ्यासका रूपमा उल्लेख गरेका छन् ।

 कतिपय पत्रपत्रिकाले त यसलाई विशेष महत्वका साथ छापेका छन् । केही किशोरहरूले बेहुली खुशीको प्रसंशा गर्दै भनेका छन्, “उनी शाहसी महिला हुन् । म उनीजस्ता महिलालाई विवाह गर्न चाहन्छु ।”

यसैगरी केहीले भने उक्त घटनालाई व्यापक आलोचना गर्दै यसले नव जोडी तथा उनको परिवारमा नराम्रो प्रभाव छाड्ने बताएका छन् ।

“त्यो परिवारलाई सजाँय दिनुपर्छ,” मोहम्मद अबुल हस्नतले च्यानल २४ को वेबसाइटमा लेखेका छन् । -एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप