शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुध्रियो कक्षा ११ को नतिजा

मङ्गलबार, ०७ असोज २०७६, १२ : ५७
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले गएको वैशाख–जेठ महिनामा लिएको कक्षा ११ को वार्षिक परीक्षाको नतिजा मंगलबार प्रकाशन गरेको छ । 

यस वर्ष नियमिततर्फ सहभागी भएका कुल ३ लाख ४९ हजार ६ सय ३ जना परीक्षार्थीमध्ये २ हजार ३ सय १९ जना परीक्षार्थीले ३ दशमलव ६१ देखि ४ जिपीए प्राप्त गरेका छन् । यो गत वर्षको नतिजा भन्दा दुईगुणा बढी हो । 

गत वर्ष कुल ३ लाख ३२ हजार ८ सय ९१ जना परीक्षार्थी सहभागी भएकामा जम्मा १ हजार १ सय १५ जनाले मात्रै जीपीए ३ दशमलव ६१ देखि ४ ल्याएका थिए ।

यसलाई प्रतिशतमा हेर्ने हो भने गत शैक्षिक वर्षमा कक्षा ११ मा ३ दशमलव ६१ देखि ४ दशमलव ल्याउने परीक्षार्थी शून्य दशमलव ३३ प्रतिशत रहेकामा यस वर्ष सो जीपीए ल्याउने परीक्षार्थीको प्रतिशत शून्य दशमलव ६६ रहेको छ ।


त्यसैगरी गतवर्ष ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ८ हजार ९ सय ४९ रहेकामा यसवर्ष सो जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या १३ हजार ७ सय ७२ जना रहेको छ । यसलाई पनि प्रतिशतमा हेर्दा गतवर्ष यो जीपीए ल्याउने परीक्षार्थी २ दशमलव ६९ प्रतिशत रहेकामा यस वर्ष ३ दशमलव ९४ प्रतिशत परीक्षार्थीले यो जीपीए ल्याएका छन् । 

त्यस्तै गतवर्ष २ दशमलव ८१ देखि ३ दशमलव २० जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या २४ हजार ५ सय १५ जना थिए । यसवर्ष यो जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ३२ हजार २ सय ५३ जना रहेका छन् । 

यसलाई प्रतिशतमा हेर्ने हो भने गत वर्ष ७ दशमलव ३६ प्रतिशत परीक्षार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २० जीपीए ल्याएकामा यस वर्ष ९ दशमलव २२ प्रतिशत परीक्षार्थीले यो जीपीए ल्याएका छन् । 
त्यसैगरी बाँकी सबै सूचकांकहरुमा यस वर्ष प्रगति भएको देखिएको छ । गतवर्षको भन्दा यस वर्ष परीक्षार्थी बढी भएपनि जीपीए प्राप्तिमा राम्रो देखिएको छ ।

तथ्यांकमा हेर्नुहोस्, गतवर्ष र यसवर्ष कति विद्यार्थीले कुन–कुन जीपीए पाए । 

हड्ताल र आन्दोलन नहुनु प्रगतिको प्रमुख कारण : महाश्रम शर्मा, पूर्व सचिव
शिक्षा क्षेत्रमा लामो समय बिताएका पूर्वसचिव महाश्रम शर्माले यसपटकको कक्षा ११ को नतिजालाई उपलब्धीमूलक मानेका छन् । 

गतवर्षको भन्दा सबै सूचकांकमा राम्रो प्रगति आएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने शर्माको भनाई छ । 

यसपटक पठनपाठन राम्रो भएको, परीक्षाको राम्रो व्यवस्थापन भएको कारणले पनि नतिजा राम्रो आएको उनको निष्कर्ष छ । 

कक्षाकोठाको शिक्षण सिकाई र विद्यार्थीको मेहनतले पनि नतिजामा असर गर्ने भन्दै यसपटक बन्द, हड्ताल र आन्दोलन नहुनु सबैभन्दा सबल पक्ष रहेको शर्माको भनाई छ ।

यही पाठ्यक्रममा गतवर्षको भन्दा राम्रो नतिजा आउनु भनेको शिक्षण सिकाइमा राम्रो प्रगति भएको देखिएको शर्मा बताउँछन् । 

तर आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता र स्थायित्व दिन सक्नुपर्ने शर्माको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप