बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘सी विचारधारा’ बारे छलफल : तामझाम गलत, राँको बालेर उफ्रनु पनि जरुरी छैन

बुधबार, ०८ असोज २०७६, १६ : ३६
बुधबार, ०८ असोज २०७६

काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) बीच ‘सी विचारधारा’ बारेको छलफल र बहस भएपछि मुलुकको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । त्यो छलफल र बहसले दुई पार्टीभन्दा बाहिर पनि तातो र चर्को बहस सिर्जना गरेको छ ।

फरक यतिमात्रै हो कतिले यसलाई सकारात्मक ढङ्गले चर्चा गरेका छन् भने कतिले चाहिँ संशय र आशंकाको दृष्टिकोणले हेर्दै आपत्ति नै जनाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख सोङ ताओको उपस्थितिमा नेपालमा भएको ‘सी विचारधारा’माथिको छलफललाई विशेष गरी नेपाली काँग्रेसका नेताहरुले संशय प्रकट गर्दै आपत्ति जनाएका हुन् ।

सत्तारुढ दलका नेताहरुले सी विचारधाराको अवधारणाअन्तर्गत चीनसँग विकासको साझेदारी अघि बढाउन सकिने बताइरहेका छन् । तर प्रमुख प्रतिपक्ष काँग्रेसका नेताहरुले दुई कम्युनिस्ट पार्टीका नेताहरुबीच भएको यो छलफल, अन्तरक्रिया र बहसको विषयलाई सरकारसँग जोडेर सार्वजनिक कार्यक्रममै आपत्ति जनाइसकेका छन् ।

तर विश्लेषकहरुले भने यस्ता छलफल र बहस हुनु सामान्य र ‘विश्वभरको प्रचलन’ भनेका छन् । उनीहरुले यसै विषयलाई लिएर ‘कोकोहोलो’मच्चाउनु र ‘राँको’ नै बालेर हिँड्न खोज्नु अनुपयुक्त भएको पनि बताएका छन् ।

कांग्रेसलाई सबैभन्दा ठूलो भय सत्तारुढ दलको पहल र आयोजनामा भएका यस्तो छलफलहरुकै छिद्रबाट मुलुकमा सिको विचार भित्र्ने भन्ने देखिन्छ । काँग्रेसको बुझाइमा आर्थिक, राजनीतिक, सांस्कृतिक विविधितासँगै भूराजनीतिक संवेदनशीलता रहेको नेपालमा त्यस किसिमको छलफलले जटीलता पैदा गर्ने भन्ने देखिन्छ । नेपालको भूराजनीतिक एवं भूरणनीतिक संवेदनशीलतालाई नबुझी नेकपाले सी विचारधारा पछ्याउन खोज्दा अस्थिरता आउन सक्छ भन्ने कांग्रेसको चिन्ता रहेको देखिन्छ ।

राँको बालेर उफ्न जरुरी छैन : प्रा. डा. पिताम्बर शर्मा

सी को विचारधाराबारे नेपालमा छलफल हुने वित्तिकै त्यो सिद्धान्त वा विचार नेपालमा लागु भइहाल्ने भन्ने कुरा आउँदैन । त्यसैले यस विषयमा राँको नै बालेर उफ्रन जरुरी पनि छैन ।

*****

विचारधारामा यस्तो बहस र छलफल संसारभर नै चल्दै आएको छ । सी विचारधाराबारे नेकपाले गरेको छलफललाई प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारले नै गरेको हो भन्ने जसरी व्याख्या गर्नु गलत छ ।

*****

सत्तारुढ दल नेकपाले सी विचारधाराबारे चिनियाँ नेताहरुको उपस्थितिमा गरेको छलफल, प्रशिक्षण र अन्तरक्रिया स्वभाविक हो । तर जुन तामझामका साथ गरियो त्यो गलत हो, जसले काँग्रेसलाई झस्कायो । आफुलाई प्रजातान्त्रिक भन्ने संसारका राजनीतिक दलहरु पनि सोसिएल डेमोक्रेटिक क्लबमा आबद्ध छन्, जसमा नेपाली काँग्रेस पनि छ । त्यसैले विचारधारा नजिक भएका दलहरुबीच आपसमा बहस, छलफल र अन्तरक्रिया गर्नुलाई अनौठो र आश्चार्यका रुपमा हेर्न मिल्दैन ।

विचारधारामा यस्तो बहस र छलफल संसारभर नै चल्दै आएको छ । सी विचारधाराबारे नेकपाले गरेको छलफललाई प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारले नै गरेको हो भन्ने जसरी व्याख्या गर्नु गलत छ । छलफल सत्तारुढ दलको आयोजनामा भएकाले सरकारका प्रधानमन्त्री र मन्त्रीहरु त्यो कार्यक्रममा सहभागी हुनु स्वभाविक हो र उनीहरु सहभागी भएकै हिसावले ‘अब सी को विचार नै सरकारले लागु गर्ने भयो’ भनेर भन्नुचाहिँ प्रतिपक्षले सत्तापक्षमाथि लगाउने एउटा आरोप या विरोधीले निर्वाह गर्ने धर्म भनेर बुझ्दा फरक पर्दैन । तर यस घटनाक्रमबाट यस्ता कार्यक्रम र गतितिविधि गर्दा यति धेरै तामझाम र ठुलो प्रचार नगरी होस पुर्याएर गर्दा उपयुक्त हुनेरहेछ भनेर सत्तारुढ दल नेकपाले केही पाठ सिक्न जरुरी छ ।

संसदीय प्रणाली नै विदेशी हो : मोहनविक्रम सिंह

कतिपय पक्षहरूले अहिलेको प्रशिक्षण कार्यक्रममा सी विचारको समेत प्रशिक्षण राख्नु वा कतिपय नेताहरूले समेत प्रशिक्षण दिने व्यवस्था गर्नु नेपालको राष्ट्रियताका विरुद्धको कुरा हो भनेर आलोचना गरेका छन् । कुनै पनि प्रशिक्षण कार्यक्रममा कैयाँै विदेशी सिद्धान्त, दर्शन वा विचारहरूको अध्ययन गर्ने वा प्रशिक्षण दिने काम गरिन्छ । माक्र्सवादी–लेनिनवादी सिद्धान्त नै हाम्रो स्वदेशी सिद्धान्त नभएर विदेशी सिद्धान्त हो । माक्र्स, एङ्गेल्स र लेनिन समेत विदेशी थिए । तर, त्यो कारणले माक्र्सवादी–लेनिनवादी सिद्धान्तको महत्त्व कम हुन्न । संसदीय प्रणाली नै नेपालमै विकसित भएको प्रणाली होइन र त्यो विदेशी हो । तर, त्यो कारणले त्यसको महत्त्व कम हँुदैन । त्यसकारण नेकपाको प्रशिक्षणमा सीको विचारधारा समेतको प्रशिक्षण दिने वा चिनियाँ नेताहरू समेतले त्यसमा प्रशिक्षण दिने कार्यक्रम बनेको हुनाले त्यही कारणले त्यसलाई गलत ठहर्याउनु सही हुन्न । निश्चय नै त्यसको अर्थ सी विचारलाई समर्थन गर्नु र त्यसलाई महत्त्व दिनु होइन र हुन्न ।

हामीले आफ्नो पार्टी स्कूलमा पनि कैयौँ विरोधीहरूका सिद्धान्तहरूबारे पनि प्रशिक्षण दिने गर्दछौँ । त्यस क्रममा कैयौँ देशी वा विदेशी विचारहरूको अनुशरण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ र तिनीहरूको प्रशिक्षण दिन्छौँ ।

तामझाम देखाउन जरुरी थिएन

डा. लोकराज बराल, विश्लेषक

पार्टीगत या सरकारले चीनसँगको सहकार्य र सम्बन्ध आदानप्रदान गर्नु राम्रो कुरा हो । तर, यसरी तामझाम देखाउनु जरुरी थिएन । यसरी पार्टीभित्रै पसेर सि विचारधाराको प्रशिक्षण हुँदा बहुलबाद र बहुदलीय व्यवस्थालाई नेकपाले छाड्न लागेको त होइन भन्ने आशंका काँग्रेसलाई मात्रै होइन सर्वसाधारणले पनि गरेका छन् ।

विचार आदान प्रदान या विचारबारे छलफल हुुनु स्वभाविक भएपनि त्यसलाई बढी नै महत्त्व दिएकाले यस्तो आशंका उत्पन्न गराएको हो । किनभने चीन आर्थिक रुपमा सम्पन्न छ तर त्योसँगै त्यहाँ ‘वान पार्टी रुल’ भएकाले पनि के नेपालमा पनि त्यस्तै हुन लागेको त होइन ? वा नेपालमा सि पथ अघि बढाउन लागिएको त होइन ? भनेर सर्वसाधारणले प्रश्न गर्नुलाई अन्यथा लिन मिल्दैन ।

*****

चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुने भनिएको पूर्वसन्ध्यामा उठेको यस विवादका बीच भुल्नै नहुने रोचक तथ्य चाहिँ के छ भने अहिले हामीले अभ्यास गरिरहेको संसदीय राजनीतिक व्यवस्था नै पनि नेपालको कुनै मौलिक राजनीतिक विचारधारा नभई वेलायती संसदीय पद्दतिकै अनुशरण हो ।

*****

काँग्रेसले अनावाश्यक उचाल्यो

विष्णु रिजाल, उप्रमुख विदेश विभाग नेकपा

नेपाली काँग्रेसले आफ्नो इतिहास बिर्सेजस्तो छ । पहिला आफ्नो इतिहास काँग्रेसले स्मरण गरोस् । काँग्रेसका संस्थापक नेता स्वर्गीय विपी कोइरालाले समाजवादी आन्दोलनका लागि भारत हुँदै वर्मामा समेत पुगेर निकटता कायम गरेको कुरा किन बिर्सेको हो ?

अर्को कुरा सी विचारधारा नेपाल कम्युनिस्ट पार्टीले लागु गर्ने भनेको पनि छैन र उनीहरुले पनि लागु गर भनेको होइन । मात्र सी विचारधाराबारे छलफल भएको हो । यस्तो छलफल, अन्तरक्रिया र बहस सबैतिर हुन्छ । कम्युनिस्ट पार्टीहरु अन्तर्राष्ट्रिय मञ्चमा आवद्ध हुन्छन् । जस्तो इन्टरनेशनल मिटिङ अफ कम्युनिस्ट एण्ड वर्कर्स पार्टी (आइएमपीसीडव्ल्यु) को हरेक वर्ष बैठक हुन्छ । त्यसमा पनि हामी सदस्य छौँ । 

त्यसकारण विचार मिल्ने पार्टीहरुबीच, जुनसुकै देशका पार्टी भएपनि आपसमा बहस र छलफल हुने गरेको यो पहिलो घटना पनि होइन । एक अर्कामा विचारका अनुभव र ज्ञान बाँड्ने, छलफल गर्ने कुरा स्वभाविक हो । यसलाई काँग्रेसले अनावाश्यक रुपमा राजनीतिककरण गरेर उचालेको मात्रै हो । 

चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुने भनिएको पूर्वसन्ध्यामा उठेको यस विवादका बीच भुल्नै नहुने रोचक तथ्य चाहिँ के छ भने अहिले हामीले अभ्यास गरिरहेको संसदीय राजनीतिक व्यवस्था नै पनि नेपालको कुनै मौलिक राजनीतिक विचारधारा नभई वेलायती संसदीय पद्दतिकै अनुशरण हो । त्यसैगरी, नेपालका कम्युनिस्टहरुले अंगालेको माक्र्सवादी–लेनिनवादी सिद्धान्तकै उद्गभ र उद्भव जर्मन र रुस हो भने कांग्रेसले अपनाएको समाजदवादी सिद्धान्त पनि उसको कुनै मौलिक विचारधारा होइन । समाजवादी विचारधाराको स्रोत नै खोतल्दै जाने हो भने त्यसको जरो जर्मनको समाजवादी आन्दोलनसम्म जोडिनपुग्छ भने त्यसको हाँगाविगा भारतमा जयप्रकाश, लोहियाहरुले चलाएको समाजवादी आन्दोलनसम्म जोडिन पुग्छ ।

उपरोक्त पृष्ठभूमिमा, काँग्रेसले भनेजस्तै विदेशी विचारबारे प्रशिक्षण र छलफल गर्नु नै गलत हो भने नेपालका राजनीतिक पार्टीहरुले अपनाएका राजनीतिक सिद्धान्तकै बारेमा पनि प्रश्न उठ्न सक्ने स्थिति आउने सक्छ । सिविचारधारामाथिको छलफल र बहसलाई विवादको विषय बनाएर तन्काउँदै लैजाने हो भने भोलि यो पक्षबारे पनि आवाज उठ्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप