शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन यति धेरै चीन भ्रमण चाहियो नेकपाका नेतालाई ?

शुक्रबार, १० असोज २०७६, १० : १६
शुक्रबार, १० असोज २०७६

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित गर्न समझदारीपत्रमा हस्ताक्षर भयो । असोज ७ गते दुई पार्टीले भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरे ।

नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल सीसीपीका विदेश विभाग प्रमुख सोङ ताओले समझदारी पत्रमा हस्ताक्षर गरे । हस्ताक्षर गर्दा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थित थियो । अर्थात सम्झौता रणनीतिक छ ।

दुई पार्टीबीच उच्च स्तरीय भ्रमण आदान प्रदान गर्ने, कम्युनिस्ट विचारधारा र अनुभवको आदान प्रदान गर्ने र हाल सञ्चालन भइरहेको विचाराधारात्मक प्रशिक्षणलाई निरन्तर र तल्लो तहसम्म लैजाने, दुई देशका विकासका मोडलका अनुभवको आदानप्रदान गर्नेलगायतका बुँदा समझदारीपत्रमा समावेश छन् ।

तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिस्ट पार्टीबीच अलग अलग मैत्री सम्बन्ध रहिआएकोमा नेकपा गठनपश्चात् दुई देशका दुई पार्टीबीचको सम्बन्धको नवीकरण भएको रूपमा समझदारीलाई लिनुपर्ने नेकपा नेताहरूको दाबी छ । तर यो समझदारीले धेरैभन्दा धेरै भ्रमण गराउने बाटो खोलेको छ । सँगै यसले प्रश्न उठाएको छ–आखिर नेकपाका नेताहरूलाई किन यति धेरै भ्रमण चाहिन्छन् ।

*****

यसलाई अनौठो मान्नु नपर्ने बताउँछन् नेकपा केन्द्रीय सदस्य एवं विदेश विभागका अर्का उपप्रमुख विष्णु रिजाल । मुख्यतः तीन कारणले भ्रमण बाक्ला भएको दाबी रिजालको छ । उनी भन्छन्, ‘कम्युनिस्ट पार्टी भएकै कारणले पनि आकर्षण बढ्यो । यो स्वाभाविक छ । दोस्रो, चीनले कम्युनिस्ट पार्टीको नेतृत्वमा असाधारण प्रगति गरेको छ । त्यो प्रगति हेरौँ, त्यहाँबाट नयाँ कुरा सिकाँै भन्ने जिज्ञासा छ । तेस्रो, उहाँहरूले पनि हार्दिकताका साथ मित्रतापूर्ण व्यवहारले आमन्त्रण गर्नुहुन्छ । यही कारणले भ्रमण बढी भएका हुन् ।’

*****

नेकपाका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख राम कार्की यस्ता भ्रमण अन्य पार्टीका नेताबाट पनि भएको बताउँछन् । ‘नेकपा नेता मात्रै हैन अन्य पार्टीका नेता पनि खर्च सबै व्यहोरिन्छ भने जहाँ पनि पुग्छन्’, उपप्रमुख कार्कीले भने, ‘नेकपा नेताहरूको भ्रमण बढ्नुको कारण छिमेकी समृद्ध भएको छ । त्यहाँ विकास कसरी अगाडि बढेको छ । चिनियाँ समाज, संस्कृति कस्तो छ भनेर बुझौँ केही सिकौँ भनेर हेर्न गएका होलान् । तर के सिके त्यो चाहिँ थाहा भएन ।’

पार्टी एकताको डेढ वर्षमा नेकपाका दर्जनौँ टोली र सयौँ नेताकार्यकर्ताले चीन भ्रमण गरेका छन् । भ्रमण केन्द्रीय नेताले पनि गरेका छन् र स्थानीय तहकाले पनि । नेकपाका नेताहरूको चीन भ्रमणको शृङ्खला हेर्ने हो भने स्वाभाविक देखिँदैन । किनभने त्यस्तो अवसर अरू पार्टीका नेता–कार्यकर्ताले पाएका छनैन् । यस्तोमा थप भ्रमण बढाउने गरी समझदारीपत्रमा हस्ताक्षर हुनु अनौठो नै छ ।

तर यसलाई अनौठो मान्नु नपर्ने बताउँछन् नेकपा केन्द्रीय सदस्य एवं विदेश विभागका अर्का उपप्रमुख विष्णु रिजाल । मुख्यतः तीन कारणले भ्रमण बाक्ला भएको दाबी रिजालको छ । उनी भन्छन्, ‘कम्युनिस्ट पार्टी भएकै कारणले पनि आकर्षण बढ्यो । यो स्वाभाविक छ । दोस्रो, चीनले कम्युनिस्ट पार्टीको नेतृत्वमा असाधारण प्रगति गरेको छ । त्यो प्रगति हेरौँ, त्यहाँबाट नयाँ कुरा सिकाँै भन्ने जिज्ञासा छ । तेस्रो, उहाँहरूले पनि हार्दिकताका साथ मित्रतापूर्ण व्यवहारले आमन्त्रण गर्नुहुन्छ । यही कारणले भ्रमण बढी भएका हुन् ।’


नेकपा नेता–कार्यकर्ताका चीन भ्रमण शृङ्खला

अहिले पनि स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर २९ जना नेकपा नेता चीन भ्रमणमा छन् । उनीहरूले असोज १ देखि १० गतेसम्म कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ कक्षा लिइरहेका छन् ।

२०७६ भदौमा नेकपाकै १८ जना मेयर तथा उपमेयरहरू चीनको सहरी विकास योजना, विपद् व्यवस्थान तथा रोकथामलगायतका विषय पढ्न चीन पुगेका थिए ।

०७६ भदौ पहिलो साता चीन पुगेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बीआरआई परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिक रूपमा तयार रहेको बताएका थिए ।

०७६ असार मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँच दिवसीय चीन भ्रमण पूरा गरेर स्वदेश फर्केका थिए । असार १५ गते परराष्ट्रमन्त्री ज्ञवाली चीन उडका थिए । १६ गते २० सदस्यीय टोलीको प्रतिनिधित्व गर्दै प्रदेश–५ का मुख्यमन्त्री शङ्कर पोखरेल १० दिनको चीनको भ्रमणका निस्केका थिए । १७ गते प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको टोली चीनतिर गएको थियो ।

२०७६ साउन १२ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य चीन गएका थिए । ०७६ वैशाख ११ मा माधवकुमार नेपाल बेइजिङमा चलेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’का लागि अन्तर्राष्ट्रिय सहायता फोरममा भाग लिन चीन गएका थिए ।

०७६ असार २५ गतेदेखि प्रदेश ५ मुख्यमन्त्री शङ्कर पोखरेल चीन भ्रमणमा गएर फर्किए । उनी चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीनको भ्रमणमा गरेका थिए ।

यस्तै नेकपाका महासचिव विष्णु पौडेल ०७५ चैत ३० चीन भ्रमणमा गएका थिए । महासचिव पौडेल सियान विश्वविद्यालयद्वारा स्थापना गरिएको सियान–साउथ एसियन स्टडी सेन्टरको उद्घाटन गर्न चीन गएका थिए । चीनमा रहँदा उनले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग पनि भेटघाट गरे । पौडेलसँग नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल पनि भ्रमणमा थिए ।

०७५ चैत १३ गते चीन प्रस्थान गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको नेतृत्वको १५ सदस्यीय टोलीले एक साता भ्रमण गर्यो । पार्टी सञ्चालन विधि र पार्टी स्कुलअन्तर्गत अध्ययन तथा अनुसन्धान प्रक्रियाको जानकारी गराउन चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले उनीहरूलाई निमन्त्रणा गरेको थियो ।

भ्रमणको क्रममा चिनियाँ कम्युनिस्ट पार्टीले तल्ला निकाय प्रान्त, नगर, काउन्टी तथा प्रिफेक्चर तहमा नेपाली नेतालाई लगेर पार्टी सञ्चालन विधि, जनताको मन जित्ने तरिका, उत्पादन प्रक्रियामा समन्वय, सैद्धान्तिक पक्ष, स्कुल विभागलगायत विषयमा अनौपचारिक प्रशिक्षण दिएको थियो ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ०७५ असार ५ देखि छ दिवसीय चीन भ्रमण गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र केही सांसदहरूले चीन भ्रमण गरेका थिए । प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण भेटघाट र सम्झौता भएका थिए ।

त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७५ भदौ ३० गतेदेखि चार दिने चीन भ्रमण गरेका छन् । अध्यक्ष दाहाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमण गरेका थिए । चिनियाँ राष्ट्रपति सी जिङपिङसँगको भेट तय नभएपछि प्रचण्ड बेइजिङ भने पुगेका थिएनन् । प्रचण्डले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका थिए ।

०७५ असारमा वरिष्ठ नेता माधवकुमार नेपाल चीन भ्रमणमा गएका थिए । त्यसलगत्तै असोज तेस्रो साता नेपाल दोस्रो पटक चीन भ्रमणमा गएका थिए ।

त्यस्तै नेकपाका सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल ०७५ कात्तिक ६ गते चीन प्रस्थान गरेका थिए । बेइजिङमा भएको अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन गएका मन्त्री पोखरेल कात्तिक १३ गते स्वदेश फर्केका थिए ।

पार्टी एकतापछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई पटक चीन भ्रमण गरिसकेका छन् । प्रवक्ता श्रेष्ठले पनि कात्तिक ६ गते नै चीन भ्रमणमा गरेका थिए । चीनको ग्वाङझाओमा आयोजना गरिएको बेल्ट रोड इनिसिएटिभ (बीआरआई) को तीन दिने बैठकमा भाग लिन श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय टोली चीन गएको थियो ।

श्रेष्ठले नेतृत्व गरेको टोलीमा, नेकपाका केही केन्द्रीय सदस्य, उद्योगी व्यवसायीका साथै प्रदेश सरकारका मन्त्री एवं सांसदसमेत सहभागी थिए । यसअघि उनले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा १५ सदस्यीय टोलीको नेतृत्व गर्दै भदौ २९ देखि असोज ५ सम्म चीन भ्रमण गरेका थिए ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका कृषि मन्त्री चक्रपाणि खनाल बलदेवले फागुन १८ देखि २२ सम्म चीन भ्रमण गरेका थिए ।

यसबाहेक नेकपाकै नेतासमेत रहेका सभामुख कृष्णबहादुर महरा पनि ०७५ भदौ तेस्रो साता चीन भ्रमणमा गएका थिए । नेकपाका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित ०७५ असोज पहिलो साता चीन भ्रमण गएका थिए ।

नेकपाका नेता एवम् कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही ०७५ असोज पहिलो साता, नेकपाका नेता एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ०७५ असोज दोस्रो साता चीन भ्रमण गरेका थिए । यी दुई मन्त्रीको पहिलो विदेश भ्रमण चीनबाट भएको थियो ।

यसबाहेक नेकपाबाटै उपराष्ट्रपति बनेका नन्दबहादुर पुनले पनि ०७५ असोज पहिलो साता चीन भ्रमण गरेका थिए । नेकपाका नेता मात्रै होइन धेरै कार्यकर्ताले पनि चीन भ्रमण गरिसकेका छन् । नेकपाबाटै राष्ट्रपति बनेका विद्यादेवी भण्डारी वैशाख ११ देखि चीन भ्रमण गरेकी थिइन् । यस्तै अहिले पनि नेकपाकै स्थानीय तहका जनप्रनिधि पनि चीन भ्रमण आवत जावत गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप