शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पढ्नै पर्ने १० पुस्तक

सोमबार, २० असोज २०७६, १३ : २६
सोमबार, २० असोज २०७६

अन्तर्राष्ट्रिय नेपाली सहित्य समाजका केन्द्रीय अध्यक्ष हुन् राधेश्याम लेकाली । यो संस्थाको नेपाल च्याप्टर अध्यक्ष, केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै उनी सन् २०१८ मा अध्यक्ष चुनिएका हुन् । विसं २०१५ मा इलामको मालपथ भन्ने ठाउँमा जन्मिएका उनी थुप्रै सङ्घसंस्थामा आबद्ध थिए र अहिले पनि छन् ।

सानै उमेरदेखि कविता लेखनतर्पm उन्मुख रहेका लेकालीको औपचारिक रूपमा साहित्य यात्राको प्रारम्भ २०३३ सालको सौगात नामक मासिक पत्रिकामा प्रकाशित ‘भानुप्रति’ शीर्षक कविताबाट भयो । 
त्यसपछि उनको यात्रा थामिएको छैन । हालसम्म उनका वर्तमानको दस्तावेज (२०३९), प्रेमाभिव्यक्ति (२०४३), काठमाडौँ र काठमाडौँ (२०६२), निरङ्कुशता (२०६७), स्वतन्त्रताको साइपाटा (२०६८), प्रस्थान बिन्दु (२०६९), आगतको ढाडमा वर्तमानको सर्प (२०७०) जस्ता दर्जनभन्दा बढी कृति कविता प्रकाशित छन्  । लेकालीका एक थान गीति एल्बमसहित ४ मुक्तक सङ्ग्रह प्रकाशित छन् ।

लेख्ने मात्र होइन बजारमा अएका सबै पुस्तक नछुटाई पढ्नेमध्येका एक उनी पनि हुन् । नियमित अध्ययनले बौद्धिकताको विकास हुने उनी बताउँछन् । चाड पर्व होस् वा अन्य कुनै समय फुर्सद भयो कि उनी नयाँ किताब समाउँछन् । 

आफू मात्र गर्ने होइन अरूलाई पनि अध्ययनका लागि हौस्याउने व्यक्ति हुन् । २०७६  यो दशँै बिदामा तथा अघिपछि फुर्सदमा घरमा बसेर अध्ययन गरेर समय सदुपयोग गर्नेका लागि उनले सुझाएका १० पुस्तक उनकै शब्दमाः

‘योगमाया’ 

निलम कार्की ‘निहारिका’को ‘योगमाया’ पढ्नुपर्ने उपन्यास हो । उपन्यास लेख्दा मानिसहरु पहिले कोठामा बसेर पात्र सिर्जना गरेर लेख्थे । निलमले भने स्थलगत भिजिट गरेर, सजीव पात्रहरु भेटेर र ऐतिहासिक पृष्ठभूमि अध्ययन  गरेर लेख्नुभएको छ ।
अमेरिकादेखि नेपाल आएर भोजपुरदेखि विभिन्न ठाउँहरु स्थलगत अध्ययन गरेर निलमले यो पुस्तक लेख्नुभएको हो । योगमाया को हो ? प्रश्न आउन सक्छ । उनी एक सामाजिक योद्धा हुन् । जसले राणाकालमा हुने गरेको भेदभाव, ज्यादती लगायत विषयमा आवज उठाउने गरेकी थिइन् । यो पुस्तक पढ्दा योगमाया जान्न पाइन्छ । उनलाई जानेपछि जीवन बुझ्न पाइन्छ । जीवन बुझेपछि आफूलाई अगाडि बढाउन सजिलो हुन्छ ।

‘सिल्भर क्यासेज’

यो भर्खर बाहिर आएको पुस्तक हो । विसं २०२६ साल अगाडिका २० कथा यसमा समेटिएका छन् । ती २० भित्र विश्वेश्वरप्रसाद कोइराला, गुरुप्रसाद मैनाली, पुस्करशमशेर, गोविन्दमल्ल गोठाले, देवकुमारी थापा, माया ठकुरीका पनि पर्दछन् ।
अङ्गे्रजीमा समेत अनुवाद भएको यो पुस्तक अङ्गे्रजीमा अनुवाद भने समालोचक महेश पौडेलले गर्नुभएको हो । लन्डनमा विमोचन भएको यो पुस्तक अध्ययन गर्दा विसं २०२६ साल अगाडि नेपाली कथाको अवस्थाको जानकारी मिल्छ । यसले हाम्रो पुर्खा कुन अवस्थाबाट गुज्रिएका थिए भनेर पनि जान्न सकिन्छ । त्यो जानकारी भएपछि आफू बलियो भइन्छ भन्ने मेरो धारणा हो ।

‘मेरो मान्छे’ 

साहित्यकार कुन्ता शर्माको यो कविता सङ्ग्रह हो । अन्तर्राष्ट्रिय साहित्य समाजले अमेरिकामा एक कार्यक्रमसहित एक हजार अमेरिकी डलर राशिको ‘उत्कृृष्ट कविता सङ्ग्रह पुरस्कार २०१९’ केही समयपछि यो पुस्तकलाई दिँदैछ । लेखक शर्माको नाम नेपाली आन्दोलनको इतिहासमा पनि आउने गर्दछ । उहाँ आफै पनि सशक्त आन्दोलकर्ता हुनुहुन्थ्यो ।
कवितामार्फत समाजलाई सचेत गराउन थुप्रै सिर्जना बाहिर ल्याउनुभएका शर्माको ‘पोथी बास्नु हँुदैन’ जस्ता निकै मर्मिक र सशक्त कविता पनि बाहिर आएका थिए ।
‘मेरो मान्छे’भित्रको कविताले चेतनाको बिगुल फुकेको छ । एउटा मानिस कसरी बाँच्नुपर्छ । विद्रोह के हो । केका लागि विद्रोह, मानवीय व्यवहार र सामाजिक अवस्था सबैको ज्ञान यसबाट लिन सकिन्छ । 

‘रोबोटका आँखा’

लेखक नरेन्द्रराज पौडेलका थुप्रै कृति बाहिर आएका छन् । त्यीमध्ये ‘रोबोटका आँखा’ले सर्वाेत्कृष्ट पुस्तक पुरस्कार पाउन सफल छ । २ हजार अमेरिकी डलर राशिको यो पुरस्कार पाउने पुस्तक कमै छन् ।
पौडेलका कलम निबन्ध, नियात्रा र कविता लगायत सबै विधामा चलेको देख्न सकिन्छ । लामो समय नेपालको प्रशासनमा योगदान गर्नु भएका पौडेल धेरै क्षेत्र घुमेका व्यक्ति पनि हुनुहुन्छ । उहाँको जेजति अनुभव छन् ती सबै कथामार्फत बाहिर आएका छन् ।
नेपाली कथाको अवस्था, ट्रेन्ड लगायत विभिन्न पक्ष बुझ्न यो पुस्तक उपयुक्त हो भन्ने मेरो धारणा हो । अचेल दैनिक आधा दर्जन पुस्तक विमोचन हुन्छन् । तीमध्ये विश्व बजारमा जाने पुस्तक कमै हुन्छन् । यो पुस्तक त्यसमा पर्छ ।

‘यात्राको छहारी’

घनश्याम राजकर्णिकारको यो नियात्रा सङ्ग्रह हो । घनश्याम विश्व भ्रमणमा हिँडिरहने व्यक्ति हुन् । उहाँका ४० बढी किताब निस्किएका छन् । ती सबै नियात्रासँग सम्बन्धित छन् ।
केही समयअगाडि ५० हजार राशिको शङ्कर लामिछाने निबन्ध पुरस्कार प्राप्त गरेका घनश्यामको यो पुस्तकले पाठकलाई लेखकसँगै घुमाउने काम गर्छ । यो पुस्तक पढ्दा आफू त्यो ठाउँमा पुगेको र त्यहाँका दृश्य अवलोक गर्दै गर्दा जे अनुभूति मनमा हुनपर्ने हो सो गर्न पाइन्छ ।

‘डायस्पोरका कथाहरु’

नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा एनआरएन साहित्य उपसमितिले हालै बाँहिर ल्याएको पुस्तक हो ‘डायस्पोरका कथाहरु’ । अहिलेको समय देश बाहिर रहेका मानिसले के अनुभूति गरेका छन् । उनीहरुको भोगाइ कस्तो छ, जीवन कसरी चलाएका छन् र के सोच्छन् । सबै कुराको ज्ञान पुस्तकले दिन्छ । देश बाहिर रहेका नेपालीको बारेमा जानकारी लिन यो पुस्तक पढ्नुपर्छ । किताब धेरै ठूलो छ । यसमा धेरैले लेखका लेख समेटिएका छन् ।

‘रणहार’
‘रणहार’ मदन पुरस्कार प्राप्त पुस्तक हो । मल्लकालीन इतिहास समेटिएको यो पुस्तक योगेस राजले लेखेका हुन् । हामीले हाम्रो इतिहास, हाम्रो पुर्खाका, उनीहरुको योगदान पढेनौँ भने हामी केही गर्न सक्दैनौँ । 
इतिहासबाट सिकेर हामीले अगाडिको बाटो तय गर्ने हो । पछिल्लो समयका मानिसले अघिल्लो पुस्तालाई पढ्न, जान्न र बुझ्न छाडेका छन् । हामीले हाम्रो इतिहास पढेनौँ र जानेनौँ भने हामीले अगाडिको बाटो लामो तय गर्न सक्दैनौँ ।

‘न्याय’
‘न्याय’ पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको आत्मवृतान्त हो । मानिसले कहिलेकाहीँ सिङ्गो संस्थाभन्दा पनि बढी काम गरिरहेको हुन्छ । एक समय सुशीला कार्की प्रधान न्यायाधीश रहनुभयो । त्यो समय पनि उहाँ बुझ्नुपर्ने र पढ्नुपर्ने विषय थियो ।
विभिन्न कारणले प्रधान न्यायाधीशबाट हट्नुभयो । त्यसपछि पनि उहाँ धेरै अभियानमा सहभागी हुनुभयो । यो कारण पनि उहाँको चर्चा अहिले छ । 
उहाँले ल्याएको आत्मवृतान्त ‘न्याय’ पढ्न सकियो भने हामीलाई त्यसबाट प्रेरणा प्राप्त हुन्छ । कठिन समय उहाँले कसरी सहज पार गर्नुभयो जान्न सकिन्छ । यो जानेपछि जीवन अगाडि बढाउन सजिलो हुन्छ ।

‘पाठशाला’
पाठशाला उपन्यास हो । यसका लेखक तीर्थ गुरुङ हुन् । जुनै कथामा पनि एउटा घटना हुन्छ । उपन्यासमा त्यही घटनालाई जीवनको रूपमा विकास गरिन्छ । त्यहाँ केही पुस्तासमेत जोडिन सक्छ । 
उपन्यासमा हुनुपर्ने सबै आधारले भरिएर पाठशाल उपन्यास आएको छ । अन्तर्राष्ट्रिय साहित्य समाजले यो उपन्यासलाई पनि एक हजार डलरको पुरस्कार दिँदैछ । पाठशाला उपन्यासले पाठकलाई मनोरन्जन मात्र दिँदैन । धेरै कुरा सिकाउँछ । ज्ञान बाँढ्छ । यो पुस्तक नाम जस्तै मानिसका लागि पाठशाला रहेको मेरो बुझाइ हो ।

‘तनक्खा’
युवराज ‘नयाँ घरे’ले लेखेको यो पुस्तक भर्खर मात्र बजारमा आएको हो । हाम्रो नेपालीमा ‘तनक्खा’ले तलब बुझाउँछ । तर यो पुस्तक ‘तनक्खा’को अर्थ अर्कै छ । ‘तनक्खा’ बर्मामा पाइने एक प्रकारको चन्दनको काठ पनि हो । त्यहाँमा महिलाहरुले यसको लेप अनुहारमा लगाउँछन् । त्यही नामबाट यो पुस्तकको नाम राखिएको छ । पहिलो विश्वयुद्धदेखि नै बर्मामा नेपालीहरुको बसोबास भएको पाइन्छ ।

लेखकले यो पुस्तकमा बर्मामा रहेका नेपाली समाज, त्यहाँको रीतिरिवाज, भेषभूषा र त्यहाँ बसोबास गर्ने नेपालीहरुको बारेमा विस्तृत जानकारी समेटिएको छ । यो एउटा नियात्रा सङ्ग्रह हो । बर्मामा पनि ठूलो नेपालीभाषीको सङ्ख्या छ । यो पुस्तक पढ्दा त्यहाँका नेपालीको बारेमा सबै जानकारी मिल्छ । यो पुस्तकले पाठकलाई आफूसँगै बर्मा घुमाउन सफल छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप