शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाकाहारीको दसैँः यसरी बनाउनुहोस् मसरुम करी र पनिर साँधेको

बुधबार, २२ असोज २०७६, १२ : ५५
बुधबार, २२ असोज २०७६

‘मासुबिनाको दसैँ पनि के दसैँ ?’ भन्नेहरुको नेपाली समाजमा बाहुल्यता छ ।  दसैँलाई मासु र मदिराको चाड पनि भनिन्छ तर यो यतिमा मात्रै सिमित भने छैन । दसैँमा मासु र मदिरा हातसमेत नलगाउनेको पनि ठूलो जमात छ । यही जमातलाई सम्बोधन गर्दै दसैँमा अरु दिनभन्दा भिन्न परिकार कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यसहित हामी काठमाडौँको ठमेलस्थित, त्रिदेवी मार्गमा रहेको फेयरफिल्ड बाई म्यारियोट गयौँ । त्यहाँ हामीलाई हेड सेफ सन्तोष सुवेदी केसीले शाकाहारी खानामा मसरुम करी र पनिर साँधेको बनाएर देखाएका छन् ।

यसअघिको दसैँमा सेफ सन्तोषले हामीलाई मासुका विभिन्न परिकार बनाउने विधि सिकाएका थिए । तर यसपटक भने साकाहारीलाई लक्षित गर्दै उनले दुईवटा डिश तयार गरेका छन् ।

डिसः मसरुम करी

चाहिने सामग्रीः

तोरीको तेल, मेथी, प्याज, अदुवा, लसुन, हरियो खुर्सानी

बनाउने विधिः

प्यानमा तेल तताउनुहोस् र मेथी हाल्नुहोस् । मेथी कालो भएपछि प्याज, लसुन, अदुवा र हरियो खुर्सानी हालेर खैरो हुञ्जेलसम्म चलाउनुहोस् । त्यसपछि हाल्नुहोस्ः

च्याउ । च्याउबाट पानी आउने भएकोले पानी नसुकेसम्म चलाइरहनुहोस् । 

त्यसपछि हाल्नुहोस् गोलभेँडा । गोलभेँडालाई राम्रोसँग पाक्न दिनुहोस् । त्यसपछि हाल्नुहोस्ः

जिराको धुलो

धनियाँको धुलो


रातो खुर्सानीको धुलो

क्रिम (यसको साटो सादा दही पनि हाल्नसक्नुहुन्छ)

यी मसलालाई राम्रोसँग पाक्न दिनुहोस् र हाल्नुहोस्ः

नुन

टिम्मुरको धुलो

अन्तिममा हाल्नुहोस्ः

हरियो प्याज र एक मिनेट पकाएपछि मसरुम करी तयार हुन्छ ।

डिसः पनिर पापड साँधेकोः

पनिरलाई फिंगर स्टाइल वा आफूलाई मन पर्ने सेपमा काट्नुहोस्

पापडलाई ब्रेड क्रम्बको रुपमा प्रयोग गर्नुहोस्

चनाको पिठोको ब्याटर बनाउनुहोस्

पनिरलाई चनाको पिठोको ब्याटरमा कोट गर्नुहोस् र पापडको धुलोमा राख्नुहोस् । पनिरमा सबैतिर पापडको धुलो लागेपछि डिप फ्राइ गर्नुहोस् र यत्तिकै राख्नुहोस् । त्यसपछि तयार गर्नुहोस्ः

काटेको प्याज

हरियो प्याज

हरियो खुर्सानी

धनियाँ

कागतीको रस

त्यसपछि पोलेका गोलभेँडामा नुन र टिम्मुर हालेर अचार बनाउनुहोस् 

त्यसपछि यी सामग्री पनिरमा हाल्नुहोस् र मेथी राखेको तोरीको तेलले झान्नुहोस् । मेथी डढेर कालो भएपछि पनिरमा हाल्नुअघि तेललाई ग्यासबाट निकालेर बेसार पनि हाल्नुहोस् । त्यसपछि पनिर नभाँच्चिने गरी मोल्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप