शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थोरै तर पटक पटक खानुस्, दसैँमा यस्ता बिरामीले विशेष ख्याल गर्नुस्

बुधबार, २२ असोज २०७६, १६ : १३
बुधबार, २२ असोज २०७६

काठमाडौँ । दसैँ खानपिनको मुख्य पर्व नै हो । दसैँको समयमा बढी मात्रामा मासुको प्रयोग गरिन्छ । मासु स्वास्थ्यका लागि आवश्यक भए पनि धेरै खानु फाइदाजनक मानिदैन ।  

दसैँको समयमा रोगको पनि ख्यालै नगरी मासु, मादक पदार्थको बढी नै प्रयोग गरिन्छ । कम खानु स्वास्थ्यको लागि राम्रो हो भने धेरै खानु स्वास्थ्यका लागि राम्रो मानिदैन । दसैँमा कस्ता रोगीले, कस्तो खाना खाने विषयमा डाक्टर पारस पञ्जियारले जानकारी गराएका छन् ।

 विशेषगरी रोगी व्यक्तिहरुले दसैँको समयमा खानपानमा सावधानी अपनाउनुपर्ने हुन्छ । दसैँमा खानपान बढी हुन्छ तर जति हामीले शारीरिक व्यायाम गर्नुपर्ने हो त्यो भने हुँदैन । दसैँभरी बस्ने खाने हुँदा रोग नलागेको व्यक्तिलाई पनि रोग लाग्ने सम्भावना बढी हुन्छ ।

यो बेलामा बस्ने र खानेभन्दा अरू कुनै पनि काम नहुने हुँदा रोग भएको व्यक्तिलाई बढी समस्या देखिन सक्छ भने नभएकालाई रोग थपिने सम्भावना बढी हुन्छ । त्यसैले कम खाने र समय समयमा थोरै खाँदा स्वास्थ्यको लागि राम्रो मानिन्छ । जो दीर्घरोगीहरु हुनुहुन्छ त्यस्ता व्यक्तिले भने दसैँको खानपानमा विशेष ध्यान दिनुपर्छ ।   

मधुमेह

मधुमेहको बिरामीहरुले औषधि खाइरहनु भएको छ भने आफ्नो औषधि नछुटाउनु होला । नियमित औषधि सेवन गर्नुहोला । मासु बढी खाने अल्कोहल लिने हाम्रो एउटा संस्कार जस्तै भइसकेको छ । यस्ता बिरामीले मासु ठीक परिमाणमा खाने, सकेसम्म रातो मासु नखाने, बोसो भएको मासु नखाँदा नै राम्रो हुन्छ । चिल्लो, पीरो पनि मधुमेहका बिरामीले कम खाने गर्नुपर्छ ।  मधुमेहको बिरामीले चिनी खानु हुँदैन, चामलको भात कम खाने, मादक पदार्थ नखाएकै राम्रो खानुनै पर्ने अवस्थामा भने आफ्नो सुगरको लेबल हेरेर मात्रै खाँदा राम्रो हुन्छ ।

यदि खानु परेको खण्डमा एक किसिमको रेड वाइन हुन्छ आफ्नो सुगरको लेबल हेरेर महिलाले दिनमा एक प्याक र वयस्क पुरुषले दिनमा २ प्याकसम्म खान सकिन्छ । अन्य अल्कोहल भने खानु हुदैन । अर्काे महत्त्वपूर्ण कुरा   शारीरिक व्यायाम गर्न नछुटाउनु होला । किनभने खानामा मात्रै ध्यान दिँदा हाम्रो शरीरमा क्यालोरी हाम्रो शरीरमा थुप्रिँदै जाने हुँदा क्यालोरिले ब्लड सुगर बढाउँछ । त्यसैले मधुमेह भएका रोगीले दसैँमा नियमित औषधि खाने, खानपानमा ध्यान दिने र शारीरिक व्यायाम पनि गर्न नछुटाउनु होला ।

ग्यास्ट्राइटिस

ग्यास्ट्राइटिसको बिरामीले पनि दसैँको समयमा धेरै सजगता अपनाउनुपर्ने हुन्छ । तेल, नुन, मसला बढी भएको खानेकुरा खानु हुँदैन । सकेसम्म रातो मासु र छाला भएको मासु नखाएकै राम्रो । मासुमा सेतो मासु अर्थात कुखुराको मासु खानु राम्रो हो । माछा पनि स्वास्थ्यको हिसाबले राम्रो हो । यस्तै अस्ट्रिजको मासु पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । सकेसम्म खसी, राँगा, सुँगुर रातो मासु अर्थात चारखुट्टे जनावरको मासु नखाएकै राम्रो । रमाइलो गर्ने भन्दैमा एकै पटक खाने र लामो समयको अन्तरालमा खाना खानु राम्रो होइन । थोरै र पटक, पटक खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । दशैँमा मात्रै होइन अरू समयमा पनि अल्कोहल ग्यास्ट्राइटिसको बिरामीले नखानुहोला ।

मुटु

मुटुसम्बन्धी समस्या भएको बिरामीले पनि यो समयमा विशेष सजगता अपनाउनुपर्छ । नियमित गर्दै आइरहेको व्यायामलाई निरन्तरता दिनुहोला ।  मुटुको औषधि खाइरहनुभएको छ भने निरन्तर खानु होला । मुटुको रोगीले दसैँको समयमा खानपानमा नै विशेष सजगता अपनाउनु होला । दसैँमा धेरै खानेकुरा हुन्छन् तर मुटुको रोगीले धेरै खानु हुँदैन । बोसो, छाला र रातो मासु सकेसम्म, चिल्लो, पीरो मुटुको बिरामीले कम खाँदा नै राम्रो हुन्छ ।

युरिक एसिड

युरिक एसिड रातो मासु बढी खाएर नै हुने समस्या हो । दसैँको समयमा बढी रातो मासु प्रयोग गर्नुभयो भने रोग बल्झिने बढी सम्भावना बढी हुन्छ । युरिक एसिडका बिरामीले रातो मासु एकदमै कम खाने र अल्कोहल नखाएकै राम्रो हुन्छ ।

मिर्गाैला

मैले जति पनि जानकारी गराएको कुरा धेरैजसो रोगमा लागू गर्न सकिन्छ । मिर्गाैलाको समस्या भएको व्यक्तिले पनि रातो मासु र अल्कोहल नखादा नै राम्रो हुन्छ । दसैँको समयमा धेरै खानेभन्दा पनि ठीक मात्रामा खाने र स्वास्थ्यको ख्याल गर्दा राम्रो हुन्छ । मिर्गाैलाको बिरामीले चिल्लो पिरो कम खाँदा राम्रो हुन्छ । नियमित खाने औषधि चिकित्सकको सल्लाहमा खाइ नै रहनु होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप