शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल र चीनबीच आज विभिन्न सम्झौताहरुमा हस्ताक्षर हुँदै

यस्तो छ राष्ट्रपति सीको आइतबारको कार्यतालिका
आइतबार, २६ असोज २०७६, १० : ०४
आइतबार, २६ असोज २०७६

दुई दिने राजकीय भ्रणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीबीच आज भेटवार्ता हुँदैछ ।

राष्ट्रपति सीसँग प्रधानमन्त्री ओली र सत्तारुढ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्नेे कार्यक्रम रहेको छ ।

सीसँग प्रधानमन्त्री ओलीले छुट्टै गर्ने भेटवार्तामा दुई सरकारको सम्बन्ध, सुरक्षा एवं आपसी चासोका विषमया गहन छलफल हुने बुझिएको छ भने नेकपा अध्यक्ष प्रचण्डले गर्ने छुट्टै भेटवार्तामा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीचको सम्बन्धका विषय खुलेर छलफल हुनेछ ।

नेकपाका सचिवालय सदस्यहरूले पनि संयुक्त रूपमा सीसँग भेटवार्ता गर्ने तय भएको छ ।

प्रचण्ड नेतृत्वमा हुने यो भेटवार्ता बिहान १०ः३० बजेका लागि तोकिएको छ । यो भेटमा दुई कम्युनिष्ट पार्टीका आफ्ना धारणा आदानप्रदान गर्ने नेकपा नेताले बताएका छन् ।

नेपाली चासो

केहीबेरमा सुरु हुने प्रनिधिमण्डलस्तरी वार्तामा द्विपक्षीय हित, चासो र विकासका विविध पक्षमा विचारविमर्श हुने जनाइएको छ । यो महत्वपूर्ण बैठकमा नेपालको चासो पूर्वाधार विकास र चिनियाँ सहयोग हुनेछ । त्यसका लािग नेपालले भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिँदै बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) निर्माणसहित विभिन्न एक दर्जन आयोजनाका प्रस्ताव गर्ने तयारी गरेको छ ।

चिनियाँ चासो

चिनियाँ पक्षको मुख्य चासो सुरक्षा नै हो । त्यसका लागि यस भ्रमणमा सीले पक्कै पनि नेपालका तर्फबाट थप प्रतिबद्धताको अपेक्षा गर्नेछन् । अन्तरदेशीय सञ्जालको विस्तार र विकासमार्फत कूटनीतिक एवं आर्थिक सञ्जाल बढाउने चीनको विशेष चासो हुनेछ । यसै सिलसिलामा नेपाल पनि बीआरआई पक्ष राष्ट्र भएकाले त्यसँग सम्बन्धित सडक, रेलमार्ग, विमानस्थल, विद्युतीय प्रशारणलाई जस्ता अन्तरदेशीय सञ्जाल विस्तार र विकासमा विशेष प्राथमिकता दिनेछ ।

सम्भाव्य सम्झौता

चीनले केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) उच्च प्राथमिकतामा पर्नेछ । यो विषयमा राष्ट्रपतिले आफ्ना समकक्षी विद्यादेवी भण्डारीसँगको वार्तामा प्रतिबद्धता समेत व्यक्त गरिसकेका छन् ।

त्यस्तै काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्म सुरुङमार्ग खोल्ने नेपालको प्रस्तावमा आज सहमति हुने सम्झाना छ । यो सुरुङमार्गले नेपाल र चीनबीचको रसुवाको केरुङमार्ग हुँदै हुने व्यापारलाई सहजीकरण गर्ने विश्वास लिइएको छ । करिब २० किलामिटरको यो सुरङ मार्गलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विशेष प्राथमिकतामा राखेर अगाडि बढाएको हो । सम्झौताका लागि अन्तिम रुप पाएका एजेण्डाहरु स्पष्ट रुपमा बाहिर नआएपनि केही जलविद्युत् आयोजनामा पनि सम्झौता गर्ने तयारी गरिएको छ ।

चीनसँग जोडिने कोशी, कर्णाली र गण्डकी सडक करीडोरको स्तरोन्नति तथा निर्माणमा चिनियाँ पक्षसँग सम्झौता गर्ने सरकारले तयारी गरेको छ । हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किामाथांका र ताप्लेजुङको ओलाङचुङगोला सीमानामा पूर्वाधार विकास र त्यससँग सम्बन्धित लिंक रोड निर्माणमा पनि नेपाल सरकारले प्रस्ताव गर्ने र त्यसमा सहमति जुट्ने विश्वास व्यक्त गरिएको छ ।

ऐतिहास सम्बन्धको स्मरण

नेपाल र चीनबीचमा दौत्यसम्बन्धमा मात्र सीमित छैन । चीनसँगको सम्बन्ध ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपमा जोडमा पनि प्रगाढ रही आएको छ । द्विपक्षीय भेटवार्तामा ती सम्बन्धको स्मरण गरिनुका साथै त्यसलाई अझ विस्तार गर्ने दुवै पक्ष सहमत हुनेछन् र प्रतिबद्धता जनाउनेछन् ।

विश्वमा राजनीतिक, आर्थिक एवं सामरिकरुपमा चीन द्रुत गतिमा उदाएपछि अन्तर्राष्ट्रिय र क्षेत्रीय रुपमा चीनको चासो विस्तार हुँदै गएको सन्दर्भमा २३ वर्षपछि चीनको हेड अफ द स्टेटले गरेको भ्रमणले महत्त्वपूर्ण अर्थ राख्छ । चिनियाँ राष्ट्रपतिको यस भ्रमणले नेपालमा चिनियाँ लगानी विस्तार हुने र नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप