शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीविनै अर्जेन्टिनाको गोल बर्षा

सोमबार, २७ असोज २०७६, ०८ : ५८
सोमबार, २७ असोज २०७६

कप्तान लियोनल मेस्सीविनै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरमाथि गोल बर्षा गरेको छ । आइतबार राति भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६–१ गोलले हरायो । कोपा अमेरिका कपमा आयोजक र रेफ्री विरुद्ध खनिएका मेस्सीलाई प्रतिबन्ध गरिएका कारण उनले राष्ट्रिय टोलीबाट खेलिरहेका छैनन् । मेस्सीले अर्को महिनादेखि राष्ट्रिय टोलीबाट खेल्ने छन् ।

अर्जेन्टिनाले दुवै हाफमा समान तीन तीन गोल गरेको थियो । २०औं मिनेटमा लुकास अलारियोको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो । इक्वेडरका जोन एस्पिनोजाले २७औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनायो । ३२औं मिनेटमा लियन्ड्रो डानियल पारेडेसले पेनाल्टी मार्फत तेस्रो गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवातमा इक्वेडरले एक गोल फर्कायो । ४९औं मिनेटमा एन्जल मिनाले गोलगर्दै इक्वेडरको आशा जगाए । तर इक्वेडरले थप गोल गर्न नसक्दा मिनाको गोल सान्त्वना गोलमा समिति बनेको थियो । दोस्रो हाफमा पनि लगातार गोलको अवसर बनाएको अर्जेन्टिनाका लागि ६६औं मिनेटमा जर्मन पेजेलाले गोल गरे । ८२औं मिनेटमा निकोलस डोमिनग्वीज र ८६औं मिनेटमा लुकास ओकाम्पोसले गोलगर्दै अर्जेन्टिनालाई फराकिलो जित दिलाए ।

यसैगरी आइतबार रातिनै भएको मैत्रीपूर्ण खेलमा ब्राजिल र नाइजेरियाले १–१ गोलको बराबरी खेलेका छन् । स्टार खेलाडी नेइमार घाइते भएको खेलमा नाइज्ेरियाले सुरुवाती अग्रता लिएको थियो । नेइमार १२औं मिनेटमै तिघ्राको चोक बोक्दै बाहिरिएका थिए । नेइमार लामो समयदेखि चोटका कारण मैदान बाहिर छन् । नाइजेरियाका लागि जोय अरिबोले ३५औं मिनेटमा गोल गरेका थिए । ४८औं मिनेटमा ब्राजिलका कासेमिरोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमा सकिइको थियो । पाँचदिनको बीचमा ब्राजिलको यो दोस्रो बराबरी हो । बिहिबार मात्र ब्राजिल सेनेगलसँग पनि १–१ गोलको बराबरीमा रोकिएको थियो । अन्य मैत्रीपूर्ण खेलमा आइभोरी कोस्टले कंगोलाई ३–१ र दक्षिण अफ्रिकाले मालीलाई २–१ गोलले हराएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप