शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिज्ञा

बुधबार, ०६ कात्तिक २०७६, १८ : ३३
बुधबार, ०६ कात्तिक २०७६

एकजना अफिसर थियो । ऊ जहाँ पनि पाएसम्म भ्रष्टाचार गर्थ्यो । घुस खान्थ्यो । दुनियाँका अगाडि बडो इमान्दारीको स्वाँग गर्थ्यो । एकदिन उसले छिमेकीका अगाडि प्रतिज्ञा नै गर्‍यो, “म घुस भनेपछि कुनै हालमा हात थाप्दिनँ । थापें भने मेरो हात कुष्ठरोगले कुहिएर झरोस् ! सुन्नुभो ?”

प्रतिज्ञा सुनेर छिमेकीहरुले आपसमा मुखामुख गरे । “प्रतिज्ञा पालन गर्न सके राम्रो !” एकजना बूढा छिमेकीले त छोटकरीमा यस्तो प्रतिक्रिया पनि दिए ।

“प्रतिज्ञा भन्ने कुरा पालनकै लागि गरिन्छ, हैन र ?” घुस्याहाले दायाँतिरका जुँघा दायाँ हातका औंलाले बटार्दै छिमेकीतिर हेरेर भन्यो, “म बोलेपछि पूरा गरिछाड्ने मान्छे हुँ ।”

केही दिनपछि छिमेकनजिकैको एकजना रकमी मान्छे घुस्याहा हाकिमसित काम परेर उसको घरमा गयो । बैठकको एकान्तमा केहीछिन कुरा गरेपछि ब्रिफकेस खोलेर नोटका बिटा निकाल्यो र भन्यो, “यो हजूरका लागि मेरो सानो उपहार !”

“न, न मैले घुसको धन हात नथाप्ने प्रतिज्ञा गरेको छु । यो पनि घुस त हैन ?” अफिसरले भन्यो ।

“हैन हजूर, यो त उपहार हो ! हजुरलाई यो हातमा थाप्दा हात कुहिएर झर्ला कि भन्ने शंका लाग्छ भने म हजूरको ब्रिफकेसमा राखिदिन्छु, ब्रिफकेस कुहिने, झर्ने हैन क्यारे !” रकमीले मुस्कुराउँदै कुरा राख्यो !

भ्रष्टाचारीलाई रुपियाँका बिटा छोड्न त मनै थिएन । कसरी कुन बहानाले लिने भन्ने अलमलमा मात्र थियो । उसले भन्यो, “लौ तपाईं त्यसै भन्नुहुन्छ भने म नाइँनास्ती कसरी गरुँ ? ऊ त्यहाँ दराज खुला छ, त्यहीँ राखिदिनोस् !”

दराजमा नोटका बिटा राखिदिँदै रकमीले मनमनै भन्यो, “घुस्याहाले घुस खान्न भन्ने प्रतिज्ञा गर्नु र भुस्याहा कुकुरले फोहोर खान्न भन्ने प्रतिज्ञा गर्नु एकै हो । नभेट्टाएसम्म खाँदैन, भेट्टाएपछि छोड्दैन । बेइमान, पाजी !”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप