बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दलहरुलाई उम्मेदवार छान्नै सकस, आयोगले सार्वजनिक गर्‍यो उम्मेदवार मनोनयनपत्र

बिहीबार, ०७ कात्तिक २०७६, ११ : २९
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं । आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने दिन आउन दुई सातामात्र बाँकी छ । प्रमुख राजनीतिक दलले अझै उम्मेदवार चयन गर्न सकेका छैनन् ।

निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन रिक्त स्थानमा उम्मेदवार मनोनयनपत्र कात्तिक २१ गते बिहान १० देखि दिउँसो १ बजेसम्म दर्ता हुनेछ ।

अहिलेसम्म रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले कास्की–२ प्रतिनिधिसभा सिटका लागि हुने निर्वाचनमा उम्मेदवार चयन गर्नुबाहेक अन्य प्रमुख दलले अझै उम्मेदवार चयन गर्न सकेका छैनन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतले उम्मेदवार चयन गर्न बाँकी नै छ । प्रमुख राजनीतिक दलले उम्मेदवार चयन गर्न बाँकी रहेका कारण उपनिर्वाचनको रौनक त्यति नदेखिए पनि निर्वाचन आयोगले भने उपनिर्वाचनको तयारीलाई तीव्रता दिएको छ ।

यसैबीच निर्वाचन आयोगले उपनिर्वाचनको तयारीलाई तीव्रता दिँदै उम्मेदवार मनोनयनपत्रको नमूना सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने उपनिर्वाचनका लागि राजनीतिक दलले उम्मेदवार मनोनयन गर्ने औपचारिक पत्रको ढाँचा बिहीबार आयोगले सार्वजनिक गरेको हो ।

उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ कास्की–२, प्रदेशसभातर्फ भक्तपुर–१ (क), बाग्लुङ–२(ख) र दाङ–३(ख)मा उपनिर्वाचन हुँदैछ ।

स्थानीय तहतर्फ रिक्त सिटमा पनि मंसिर १४ मै उपनिर्वाचन हुने भए पनि उम्मेदवारी दर्तालगायतका निर्वाचन कार्यतालिका भने फरक छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप