शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

परीक्षणका लागि गरिएको पुष्पखेतीमा ग्राहकको भीड

शनिबार, ०९ कात्तिक २०७६, १२ : १७
शनिबार, ०९ कात्तिक २०७६

पर्वत । उज्यालो र फूलैफूलको पर्व दीपावलीमा लगाउने मालाका लागि छिमेकी मुलुक भारतबाट फूल आयात भइरहेका बेला सदरमुकाम कुश्माबजारमा पहिलोपटक परीक्षणका रुपमा थालिएको पुष्पखेती सफल भएको छ । 

    कुश्माबजारमा यस वर्षदेखि पहिलोपटक गरिएको पुष्पखेती सफल भएको छ । कुश्मा नगरपालिका–६ बगैँचाचोकस्थित पर्वत उद्योग वाणिज्य सङ्घमा कार्यरत कर्मचारीद्वारा सञ्चालित मिलीजुली बहुउद्देश्यीय कृषि फार्ममा अहिले रङ्गीबिरङ्गी फूल ढकमक्क फुलिरहेका छन् । तिहारमा बढी मात्रामा प्रयोगमा आउने मखमली, सयपत्री, गोदावरीलगायतका स्थानीय फूल लगाइएका सञ्चालक टङ्कनाथ पौडेलले जानकारी दिए । 

यस वर्षको दीपावली, नेपाल संवत्लगायत स्थानीय एवं छिमेकी जिल्लामा आयोजना गरिने मेला महोत्सव, धार्मिक समारोहमा आवश्यक पर्ने फूल विदेशबाट आयात हुने गरेको अवस्थामा फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्षदेखि पुष्पखेती शुरु गरिएको पौडेलले बताए । फूलमा अहिलेसम्म परनिर्भर रहँदै आएको अवस्थालाई मध्यनजर गर्दै शुरु गरिएको फूलखेती सफल भएको र अहिले बगैँचामा फूल खरीद गर्न आउनेको भिडनै लाग्न थालेको सञ्चालक पौडेलले बताए । 

पाँच रोपनी क्षेत्रफलमा रु पाँच लाख लगानी गरेर गरिएको पुष्पखेतीबाट पहिलो वर्षमै साविक धौलागिरि क्षेत्रको माग पुरा गर्न सकिने विश्वास सहकारीको छ । बाहिरबाट आयातित फूल भन्दा सस्तो र ताजा फूल प्रयोग गर्न सकिने भएपछि यस क्षेत्रका बासिन्दाले अग्रिम बुकिङ समेत गरेका उनले बताए । यतिवेला उक्त बगैँचामा फूल किन्नका लागि विभिन्न क्षेत्रबाट ग्राहक आउने गरेका फार्मका सञ्चालक पौडेलले जानकारी दिए । 

विदेशी तथा आयातीत र लामो समयदेखि टिपेर ओइलिइसकेका फूल महँगो मूल्यमा किन्न बाध्य यस क्षेत्रका ग्राहकलाई सहुलियतरुपमा फूल र मालासमेत बनाएर बिक्री गरिरहेको उनले जानकारी दिए । पहिलो पटक गरिएको फूलखेतीबाट यस वर्ष लगानी उठ्ने र केही नाफा आर्जन गर्न सकिने अपेक्षा गरिएको पौडेलले बताए । आगामी दिनमा वर्षभरी फूल र माला उत्पादन गर्ने योजना सञ्चालकको छ । अहिले प्रतिकिलोग्राम फूलको मूल्य रु ४०० निर्धारण गएिको छ भने मालाको मूल्य रु २०० निर्धारण गरिएको छ । 

यसअघि आवश्यकता महसुस गरिए पनि पुष्पखेती यस क्षेत्रमा शुरुआत हुन नसकेको अवस्थामा मिलीजुली सहकारीले परीक्षणका रुपमा गरेको खेती सफल भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्माले बताए । उनले यसलाई अब व्यावसायिक रुपमा विकास गर्नसकेमा वर्षेनी चाडपर्व लगायत जिल्लामा हुने महत्वपूर्ण सभा समारोहमा बाहिरबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप